दलितमाथिको आक्रमणप्रति आपत्ति

काठमाडौं, २० कात्तिक । विभिन्न स्थानमा छुवाछुतको निहुँमा दलितमाथि भइरहेको आक्रमणप्रति सरोकारवाला संघसंस्थाले चिन्ता जनाएका छन् ।

दसैँ मनाउँदै गर्दा विभिन्न जिल्लाका मन्दिरमा टीका थाप्न गएको आरोपमा, दैलो नाघेको निहुँमा र घरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट तथा आक्रमण भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । ७ कात्तिकमा ओखलढुंगाका लालबहादुर भुजेलको घरमा प्रवेश गरेको आरोपमा कुइभीर–५ का ६१ वर्षीय बेनबहादुर दर्जीको परिवारमाथि गैरदलित युवाको समूहले आक्रमण गरी एकै परिवारका सातजनालाई घाइते बनाएका थिए । यसैगरी, दैलेख सल्लेरीकोसामाटोका भीमबहादुर विकलाई दैलो नाघेको निहँुमा स्थानीय दलबहादुर बस्नेतले टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएका थिए ।
बाजुराको मार्तडीस्थित बडिमाली मन्दिरमा टीका थाप्न गएको आरोपमा पुजारी दलबहादुर राउतले स्थानीय सीता विक, लक्ष्मी विक, दिलीप उखेडालाई कुटपिट गरेकामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले आपत्ति जनाएको छ । मोर्चाका सचिवालय सदस्य राजकुमार हिङ्माङले छुवाछुत घटनाका दोषीलाई जातीय विभेद तथा छुवाछुत सजाय (कसुर ऐन) २०६८ अनुसार तत्काल कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय दलित आयोग र जागरण मिडिया सेन्टरलगायत सरोकारवाला संस्थाले पनि विज्ञप्तिमार्फत ऐन लागू भइसकेको अवस्थामा पनि राज्य र सरकारले दोषीमाथि कडाइसाथ कारबाही गर्न नचाहेको आरोप लगाउँदै छुवाछुतको निहँुमा यसरी नै दलित समुदायमाथि आक्रमण भइरहे संघर्षमा जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया