प्रधानमन्त्रीका लागि दरखास्त हाल्दैनौं

काठमाडौं, १९ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले कसैले भन्दैमा प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले दरखास्त नहाल्ने बताएका छन् ।
कास्केली प्रजातान्त्रिक समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस पदको लागि नभई राजनीतिक संकटको निकास दिन सहमतिको वातावरण बनाउन चाहेको बताए । ‘कांग्रेसबाट प्रधानमन्त्रीको नाम मागेर एकीकृत माओवादीले चलखेल गर्न खोजेको छ,’ उनले भने, ‘एकीकृत माओवादीका नेताहरुले बोलेकै भरमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तोक्न जरुरी छैन ।’
उनले एमाओवादीका नेताहरुले पूर्व राजा ज्ञानेन्द्रकै शैलीमा प्रधानमन्त्रीको नाम माग्न थालेको आरोप लगाए । समयमै इमान्दारीता देखाएर विश्वासको वातावरण बनाउन सभापति कोइरालाले एमाओवादीलाई आग्रह गरे ।

प्रतिक्रिया