एमएमसीका जित र कास्कीकी रेणु च्याम्पियन

काठमाडौं,१८ कात्तिक । प्रथम इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताअन्तर्गत व्यक्तिगत खुला रिकर्भको पुरुषमा राष्ट्रिय च्याम्पियन मनाङमस्र्याङ्दी आर्चरी क्लबका जितबहादुर मोक्तान र महिलामा कास्की जिल्ला आर्चरी संघकी रेणु तामाङले स्वर्ण जितेका छन् । नेपाली फुटबलमा परिचित मनाङमस्र्याङ्दी क्लबका लागि प्रतियोगिता सुखद रहेको छ । क्लबले शनिबार टिम स्पर्धामा पनि उपाधिका लागि खेल्नेछ । केही वर्षअघि काठमाडौंमा नै आर्चरी प्रशिक्षक सुरु गरेको मनाङमस्र्याङदी क्लबका परम्परागत धनुषवाणमा पनि नेपालको प्रभावकारी शक्तिको रूपमा रहेको छ ।
पुरुष एकलको फाइनलमा जितले कास्कीका खगेन्द्र मल्ललाई ३–० ले पराजित गरे । सानदार प्रदर्शन गरेका जितले दोस्रो सेट जित्ने क्रममा शतप्रतिशत स्कोर गरेका थिए । हिमालयन आर्चरी क्लबका प्रेमप्रसाद पुनले तेस्रो स्थानमा चित्त बुझाए । उनले कास्कीका अशिम शेरचनलाई ३–० ले हराए । महिलाको फाइनलमा रेणुले कास्कीकै राज्यलक्ष्मी जोशीलाई ३–१ ले हराइन् । पहिलो सेट जितेकी जोशीले दोस्रो सेटमा एकाग्रता गुमाएपछि पूर्ववत् प्रदर्शन कायम राख्न सकिनन् । छैटोँ राष्ट्रिय खेलकुदकी च्याम्पियन हिमालयनकी माया स्याङ्तेनले कास्कीकी दिलकुमारी भुजेललाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो भइन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत स्टेनडर्ड रिकर्भमा हिमालयनका वीरेन्द्र गुरुङ पहिलो भए । उनले फाइनलमा अन्नपूर्ण आर्चरी क्लबका देव पुनलाई ३–० ले निराश पारे । मगर समाजका तिलकमान पुनलाई ३–० को सिधा सेटमा हराउँदै कञ्चपुरका होमबहादुर थापा तेस्रो बने ।
सोही स्पर्धाको महिलामा हिमालयनकी सोनी शेर्पाले बाजी मारिन् । उपाधि भिडन्तमा सोनीले अन्नपूर्णकी सरस्वती गुरुङलाई ३–० ले पाखा लगाइन् । अन्नपूर्णकी मोनिका राना र हिमालयनकी सरिता तामाङबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक भिडन्तमा मोनिका अगाडि रहिन् । निर्धारित वेस्ट अफ फाइभको खेल ५–५ को बराबरीमा सकिएको थियो । ‘वान अफ सुट’ मा मोनिकाले बाजी मारिन् । प्रतियोगिताको अन्तिम दिन शनिबार तीन स्वर्णका लागि भिडन्त हुनेछ ।

प्रतिक्रिया