जापानी आख्यानकार हारूकी मुराकामी अथवा चेक गणतन्त्रका सर्वाधिक चर्चित जीवित लेखक फ्रान्सवासी मिलान कुन्देरामध्ये एकजनाले यो वर्ष (२०१२) को नोबेल साहित्य पुरस्कार पाउनेछन् भन्ने अड्कल गरिरहेको ठूलो साहित्यिक जमातलाई विस्मित् तुल्याउँदै चिनियाँ आख्यानकार मो यान पछिल्ला ‘नोबेल लरियट’ बन्न पुगे । पहिले १९८९ मा दलाई लामाले र २०१० मा जियाओबोले नोबेल शान्ति पुरस्कार र सन् २००० मा गाओ जिङ्गियानले ‘वान म्यान्स बाइबल’ उपन्यासका लागि नोबेल साहित्य पुरस्कार पाएका थिए । तर उनीहरू तीनैजना चीनबाट प्रवासिएकाले मो यान नोबेल साहित्य पुरस्कार पाउने पहिलो चिनियाँ भएका छन् ।
नोबेल पुरस्कार प्राप्त हुनासाथ मो यान धेरैका लागि ‘शून्यबाट उदाए’ सरह भए । असंख्य मानिसहरूले बरु ‘सङ्स अफ युथ’ का लेखक याङ मोलाई पढेका र सुनेका थिए, तर मो यानलाई सुनेका र त्यसमाथि पढेका त अझ कम थिए । तापनि, पछिल्ला तीस वर्षभन्दा लामो समयदेखि निरन्तर उपन्यास र कथा लेख्दै आइरहेका मोले नोबेल पुरस्कार पाएपछि त्यसले प्रशंसा र विवाद दुइटै सँगै लिएर आयो ।
मो यानलाई नोबेल साहित्य पुरस्कार दिइएकोमा अर्का चिनियाँ लेखक– जो पछिल्लो लामो समयदेखि बर्लिनमा बस्छन्– लियाओ यी वु सर्वाधिक आलोचक देखिए । उनले भने, ‘यो पुरस्कार दिइएकोमा मलाई गालामा थप्पड हानेको जस्तो महसुस भइरहेको छ ।’ लियाओको तर्कमा, मो यान ‘सरकारी कवि’ हुन् र उनी चिनियाँ सत्ताप्रति बफादार छन्, सत्ताको आलोचना गर्दैनन् । अर्का चिनियाँ सत्ताविरोधी एक्टिभिस्ट एई वेइवेई पनि मोले यो पुरस्कार पाउनुलाई ‘लज्जास्पद’ निर्णय भन्छन् । अर्थात्, यी सबैको अर्थ के हुन् भने चीनभित्र रहेका वा चीनबाट प्रवासिएका वर्तमान कम्युनिस्ट सत्ताविरोधी ‘एक्टिभिस्टहरू’ मो यानले नोबेल पुरस्कार पाएकोमा एकमतले विरोध गरिरहेका छन् । तर, जिन्दगीका असफलताहरू र मानवभित्रै रहेका अन्तरद्वन्द्वलाई आफ्ना कृतिमा उतार्ने ८५ वर्षीय जर्मन साहित्यकार मार्टिन वेल्सर भने ‘सामाजिक यथार्थको सच्चा चित्रणसहित सुललित रचना गर्ने क्षमता भएका’ भन्दै मो यानको उच्च प्रशंसा गरेका छन् ।
त्यसो त अमेरिकी ‘टाइम’ पत्रिकाका डोनाल्ड मोरिसनले मो यानका बारेमा ‘सर्वाधिक चर्चितमध्येका एक, धेरैपटक प्रतिबन्धित भएका र सबै चिनियाँ लेखकमध्ये सबैभन्दा धेरै ‘पाइरेटेड’ भएका लेखक’ भनेर उल्लेख गरेका छन् । अर्का अमेरिकी समीक्षक जिम लिचले उनलाई ‘जोजफ केलरको चिनियाँ जवाफ’ भनेर औँल्याएका छन् ।
पछि नोबेल पुरस्कार दिने स्विडिस समितिका स्थायी सचिव पिटर इंगलन्डले भने, ‘यो विशुद्ध साहित्यिक पुरस्कार हो र केवल साहित्यिक गुणवत्ताका आधारमा मात्र यो प्रदान गरिन्छ । योबाहेक हामी अरू केही कुरा पनि सोच्ने गर्दैनौँ ।’ यसो भनेर नोबेल समितिले आफूलाई राजनीतिक विवादबाट टाढा राख्ने प्रयास गरेको छ ।
मो यानले नोबेल पुरस्कार पाएपछि चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार प्रमुख ली चाङ्चुनले यान उपाध्यक्ष रहेको चिनियाँ लेखक संघलाई बधाईपत्र पठाउँदै भने, ‘यो पुरस्कारले चिनियाँ साहित्यको समृद्धि र प्रगतिका साथै चीनको बढ्दो प्रभावसमेतलाई प्रतिबिम्बित गर्दछ ।’ चीनमा यो अवसरलाई राष्ट्रिय खुसियालीका रूपमा मनाइयो, जबकि दुई वर्षपहिले २०१० मा चीनमै बन्दी जीवन बिताइरहेका लिउ जियाओबोलाई नोबेल शान्ति पुरस्कार दिइँदा चीनले त्यसको कडा प्रतिवाद गर्दै पुरस्कारको परम्पराप्रति नै गम्भीर प्रश्न उठाएको थियो ।
०००
चीनको उत्तरपूर्वी भागमा अवस्थित शादोङ प्रान्तको गाओमीको किसान परिवारमा जन्मेका मो यान बाह्र वर्षको उमेरमा सांस्कृतिक क्रान्तिको समयमा विद्यालय छाडेर कृषिमा लागेका थिए । पछि उनले कारखानामा काम गरे । उनी सन् १९७६ मा पिपल्स लिबरेसन आर्मी (जनमुक्ति सेना) मा भर्ना भए । त्यहीँ कार्यरत रहँदै उनले साहित्य अध्ययन गर्न र लेख्न थाले ।
न्वारनको नाम गुआन मोये भए पनि उनले लेख्न थालेपछि ‘पेन नेम’ मो यान राखे, चिनियाँ भाषामा जसको अर्थ हुन्छ– न बोल । उनी सानो छँदा चीनमा सांस्कृतिक क्रान्तिको राग उत्कर्षमा थियो र त्यसबेला उनका आमा–बाले उनलाई केही नबोल्न र बोलेमा संकटमा फस्न सक्ने चेतावनी दिने गर्थे । त्यसकारण पछि लेख्न थालेपछि उनले आफ्नो साहित्यिक नाम नै त्यही राखे, अर्थात्– न बोल, ‘मो यान’ । उनले जनमुक्ति सेनामा सिपाहीको रूपमा कार्यरत छँदै लेख्न थालेका थिए र त्यही क्रममा १९८७ मा प्रकाशित ‘रेड सोर्घम : अ नोभेल अफ चाइना’ ले उनलाई अन्तर्राष्ट्रिय प्रसिद्धि दिलायो । उनकै जन्मथलो पूर्वी चीनको गाउँले इलाकामा भएको क्रूर हिंसाको कथा बयान गर्ने त्यो पुस्तकमा बनेको फिल्मले अर्को वर्ष बर्लिन फिल्म फेस्टिभलमा ‘गोल्डेन बियर’ पुरस्कार प्राप्त गरेको थियो । उनका अन्य बहुचर्चित पुस्तकहरूमा ‘रिपब्लिक अफ वाइन,’ ‘लाइफ एन्ड डेथ आर वियरिङ मी आउट’ र ‘बिग ब्रेस्ट्स एन्ड वाइड हिप्स’ आदि छन् । पछिल्लो किताब १९९५ मा प्रकाशित हुँदा चीनमा ठूलो विवाद भएको थियो किनभने यसमा चिनियाँ कम्युनिस्ट पार्टीको लाइन विपरीत यौन–प्रकरण र वर्गसंघर्षलाई चित्रित गरिएको छ । एक दशकपछि यो किताब अंग्रेजीमा उल्था भई प्रकाशित भएपछि उनी ‘मान एसियन लिटरेरी प्राइज’का लागि मनोनयनमा परेका थिए ।
०००
मो यान जतिबेला साना थिए, उनले स्कुल छोड्नु परेको थियो । सांस्कृतिक क्रान्तिको समयमा उनले भेडाबाख्रा चराउनु परेको थियो । उनले अथाह गरिबी पनि भोग्नु पर्यो, त्यो पनि कतिसम्म भने उनले भोजनका रूपमा रुखका बोक्रा र घाँस खाएर पेट भर्नुपरेको थियो ।
तर मो यान भन्छन्, ‘सानो छँदा मैले जुन दु:ख देखेको थिएँ, त्यही सम्झेर मलाई काम गर्न प्रोत्साहन मिल्यो र मैले भ्रष्टाचार, चिनियाँ समाजको पतन, गाउँले जीवन र चीनको ‘एक सन्तान नीति’ बारे लेख्न सकेँ ।’ एकपटक उनले ‘एक्लोपन र भोक आफ्नो लेखनकै अभिन्न अंग रहेको’ विचार व्यक्त गरेका थिए ।
उनको पछिल्लो उपन्यास ‘फ्रग को माओ डुन’ लाई पनि साहित्यिक पुरस्कार प्राप्त भएको थियो । यो पुरस्कार चीनको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । यस उपन्यासमा उनले चीनको एक सन्तान नीतिका बारेमा लेखेका छन् ।
०००
मो यानको लेखनमा लु सुनको सामाजिक यथार्थवाद र ग्याब्रियल गार्सिया माक्र्वेजको तिलस्मी यथार्थवादबाट अत्यधिक प्रभावित मानिन्छन् । उनी आफू ‘वाटर मार्जिन’, ‘जर्नी टु द वेस्ट’ र ‘ड्रिम अफ दि रेड च्यामबर’ उपन्यासहरूबाट पनि निकै प्रभावित भएको बताउँछन् । उनको एउटा मान्यता छ– देश र राष्ट्रहरूलाई एकअर्काबाट अलग्याउने बाधा–अवरोधहरूलाई साहित्यले पन्छाउन सक्छ ।
मो यानलाई अंग्रेजी आउँदैन । उनी चिनियाँ भाषामा अनुदित विदेशी साहित्य पढ्छन् । एकजना अमेरिकी प्रोफेसर होवार्ड गोल्डब्लाटले नै यानका धेरैजसो रचना अंग्रेजीमा उल्था गरेका छन् ।
दर्जनौँ कथाकृति र उपन्यास लेखेका बहुआयामिक सर्जक ५७ वर्षीय यानको पहिलो कथाकृतिचाहिँ सन् १९८१ मा प्रकाशित भएको थियो । नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले उनका रचनाहरूमा ‘भ्रमपूर्ण यथार्थ लोककथा, इतिहास र समकालीन समयसित अन्तरघुलित भएर प्रकट भएको हुन्छ’ भन्दै प्रशंसा गर्यो ।
गत वर्ष २०११ मा एकजना स्विडिस कवि टमस ट्रान्सट्रोमरले पाएको यो प्रतिष्ठित पुरस्कार पाउने मो यान समग्रमा १०९औँ साहित्यकार हुन् । नोबेल फाउन्डेसनद्वारा प्रदान गरिने ८० लाख क्रोनर (७ लाख ४१ हजार पाउन्ड) राशिको यो पुरस्कार केवल जीवित लेखकहरूलाई मात्र दिइन्छ ।
०००
समकालीन विषयभन्दा चीनको विगतलाई आधार बनाएर लेख्ने मो यानका विषयवस्तुमा १९११ को चिनियाँ क्रान्ति, विश्वयुद्धकालमा चीनमा भएको जापानी हस्तक्षेप र माओकालीन सांस्कृतिक क्रान्तिसमेत प्रमुख रूपमा आउने गर्छन् ।
पुरस्कारको सूचना पाउँदा मो यान आफ्ना पितासँग घरमै बसिरहेका थिए । उनका बारेमा जर्मन रचनाकार क्रिस्टेन एलनले लेखेका छन्, ‘मो यानले आफ्ना रचनामा कम्युनिस्ट शासनका गल्ती र चरम स्वरूपहरूबारे औँल्याएका छन्, तिनको वर्णन गरेका छन् तर त्यो सबै किन भयो भनेर प्रश्नचाहिँ कहीँ कहिल्यै कतै उठाएका छैनन् ।’
योसँगै एउटा सत्य पनि छ । त्यो के भने चिनियाँ साहित्य बाहिरी विश्वमा त्यति परिचित थिएन । चीनको स्थापित कम्युनिस्ट सत्ताको विरोध गर्ने र आफूलाई उदार लोकतन्त्रको अभियानकर्ताको रूपमा चिनाएका ‘डिजिडेन्ट’हरूले लेखेका लेख वा कृति नै पछिल्लो समयमा चिनियाँ साहित्य भनेर प्रचारित भइरहेको थियो । यसले गर्दा वास्तविक चिनियाँ साहित्यले विश्वबजारमा आफ्नो सही स्थान र पहिचान बनाउन सकेको थिएन । अब भने चीनमै बसोबास गर्दै आइरहेका र केही विवादित भए पनि आमदेशवासीमाझ सम्मानित मो यानले नोबेल पुरस्कार पाएपछि त्यो अवस्थामा परिवर्तन आउने सम्भावना बलियो छ ।
प्रतिक्रिया