शब्दको कोलाजमा गोविन्द वर्तमान

गोविन्द वर्तमान अब हामीबीच छैनन् । नेपाली साहित्यमा वर्तमान कम चर्चामा रहेका अवश्यै होइनन् । तर, प्रकाशनको मामलामा उनको पुस्तकाकार कृति हालसम्म एउटै मात्र छ– सोह्र साँझहरू । उनका कथा, निबन्ध, समीक्षा र यात्रा–साहित्यका प्रशस्तै रचना छरिएका छन् । यति भएर पनि उनलाई सबभन्दा बढी सम्झने विधा भने कविता नै हो । वर्तमानका छरिएर रहेका रचनाहरूलाई विधागत रूपमा पुस्तकाकार रूप दिने काम छिट्टै सुरु हुने स्थिति स्पष्ट भइसकेको छ ।
गोविन्द वर्तमानका कविताको शक्ति, विचार र प्रतिबद्धताको यस्तो फिलिंगो हो, जसले पाठकको भित्रसम्मै भेदन गर्ने छमता राख्छ । उनका छरिएर विभिन्न पत्रपत्रिकामा रहेका सयौँ कविता हाम्रो साहित्यका धरोहर हुन् । उनका कथा भने १५–१६ वटा मात्रै प्रकाशित छन् । ०५१–५२ देखि निबन्ध र समीक्षामा उनको गद्य लेखन एकोहोरिएको देखिन्छ । सबभन्दा पछिल्लो समयमा उनी उपन्यास लेख्दै थिए । धैरै उपन्यासका प्रकाशनपूर्व पाठक र सम्पादकका रूपमा उनको ख्याति स्थापित थियो र उनले राम्रो अनि स्तरीय उपन्यास सिर्जना गर्ने पूरापूर सम्भावना पनि थियो । तर, उपन्यास पूरा हुनुअघि नै उनी कालकलवित भए ।
शब्दलाई सिँढी बनाएर नाफामुखी यात्रा गोविन्दले कहिल्यै गरेनन् । गोविन्द वर्तमानले जहिले पनि चुनौतीका बीच रहेर लेखकीय दायित्व बचाए । गोविन्दलाई धेरैले कठोर व्यक्तिका रूपमा लिन्छन् तर भित्र अत्यन्त सहृदयी, नरम, इमानदार र मित्रवत् थिए । एकदम कम बोल्थे र अझ नयाँ व्यक्तिसँग त उनको वार्ता नगन्य नै हुन्थ्यो । तर, जब खुल्थे अत्यन्त आत्मीयतासाथ खुल्थे । उनमा प्रत्येक वार्ता र संवादमा कसैले हेप्यो कि भन्ने ग्रन्थी पनि थियो । उनले कसैको अनुग्रह, कृपा वा दयाजस्तो व्यवहारबाट वा अरूको बुइ चढेर फाइदा लिन चाहेनन् । बरु यस्तो अनुभूति हुनासाथ उनी पूरै त्यस्तो कार्यलाई पूर्ण स्वाभिमानसाथ अस्वीकार गर्थे । लेखन नै उनको महत्त्वाकांक्षाको केन्द्र थियो र सधँै राम्रो लेख्न उनी सक्रिय र प्रतिबद्ध रहन्थे । प्रकाशन, पुरस्कार, धन–यश प्राप्ति कहिल्यै उनको प्राथमिकतामा परेनन् । उनको जीवनशैली अत्यन्त साधारण र स्वाभिमानयुक्त थियो । बरु उनको स्वाभिमान कैयौँ स्थितिमा अभिमानजस्तो देखिन्थ्यो र त्यसका कारण उनी धेरैको नजरमा कठोर र अभिमानीका रूपमा लिइन्थे । उनले कसैलाई हानि पुर्‍याएनन् । बरु उनको अभिमानजस्तो देखिने स्वाभिमानका कारण उनलाई पटक–पटक हानि पुगेको छ । मित्र, शुभेच्छुक र मन पराउनेहरूको ठूलो पंक्ति रहे पनि उनी अन्तरमुखी, कुण्ठित र एक्लो भएकोजस्तो पनि यदाकदा देखिन्थे ।
गोविन्द वर्तमानले उनका पिता श्रीधर अधिकारीबाटै राजनीति, साहित्य र समाजलाई हेर्ने, बुझ्ने र त्यसका जटिलता केलाउने संस्कार प्राप्त गरेका हुन् । तर, उनले कहिल्यै यस सत्यलाई स्वीकार गरेनन् । पारिवारिक सम्बन्धप्रति आलोचक रहेको उनको स्थिति व्यक्तिगत व्यवहार र कतिपय लेखनबाट पनि झल्कन्छ । बाहिरबाट हेर्दा पारिवारिक स्थिति त्यस्तो अन्यथा लिनुपर्ने जस्तो देखिँदैन । तर, उनको समग्र जीवन र संघर्ष पारिवारिक असहमति र असन्तुष्टिमै बित्यो । धेरैजसो साथीभाइसँग (मसँग पनि) गोविन्द धेरै पटक कटु भएका छन् । अन्तत : फेरि ठीक ठाउँमा आएर सम्बन्ध पूर्ववत् सुमधुर र नवीकृत हुँदै आएको थियो ।
गोविन्दको व्यक्तित्वको विकासका मुख्य तीन क्षेत्र छन्, पहिलो त उनको योगदानको प्रमुख क्षेत्र साहित्य नै हो । दोस्रो क्षेत्र पत्रकारिता हो । अखबार र साहित्यिक पत्रकारिता दुवैमा उनको योगदान अविस्मरणीय छ । विभिन्न अखबारको स्तम्भकारका रूपमा गोविन्दको ख्याति राष्ट्रिय रूपमै स्थापित छ । उनको तेस्रो र महत्त्वपूर्ण योगदान नेपालको प्रगतिशील र प्रजातान्त्रिक आन्दोलनमा रहेको छ । ०३६, ०४६ र ०६३ को परिवर्तनका लागि भएका आन्दोलनमा स–शरीर गोविन्द सामेल भएका छन् । उनी आजीवन कुनै दलको सदस्य भएनन् । तर, नेपाली कम्युनिस्ट आन्दोलनको साहित्यिक–सांस्कृतिक मोर्चामा उनको योगदान कुनै दलको नेता वा सक्रिय सदस्यभन्दा गहकिलो र शक्तिशाली रहेको कुरा निर्विवाद छ ।
गोविन्द वर्तमानको पर्यटन–यात्राप्रतिको रुचिलाई छाडेर उनको व्यक्तित्वको मूल्यांकन हुन सक्दैन । भ्रमणप्रीय भएका कारण उनी फरक–फरक यात्रामा निस्कन्थे । कम्तीमा वर्षको एकपटक उनी ८–१० दिनको यात्रामा एक्लै भए पनि निस्कन्थे । यही सोखका कारण उनी देशभर विभिन्न पर्यटकीय र दुर्गम क्षेत्रबारे राम्रै जानकारी राख्थे । प्रत्येक यात्रापछि त्यस यात्राको सन्दर्भमा लेखेका निबन्धहरूका दुईवटा संग्रह पुग्ने सामग्री सुरक्षित छन् । गोविन्दको समीक्षामा पनि कलम चलेको छ । उनको समीक्षा पनि सधैँ निबन्धको कलेबरमा आएका कारण तिनलाई पनि निबन्धकै कोटिमा राख्न नसकिने होइन । गद्य र पद्यमा रहेको सरलता र संप्रेषणीयताका कारण गोविन्द निकै प्रिय र चर्चित लेखकका रूपमा धेरैले सम्झने नामका रूपमा स्थापित भएका छन् ।
धेरै पुस्तक विमोचन, विचारगोष्ठी, साहित्यिक गोष्ठी र सांस्कृतिक अवसरमा वक्ताका रूपमा गोविन्दले अमीट छाप छाडेका छन् । विषयवस्तुको गहिराइमा छिरेर आफ्नो मन्तव्य प्रस्तुत गर्ने हुँदा उनी सधैँ नै सटीक वक्ताका रूपमा मञ्चमा छाएका देखिन्छन् । उनको राजनीति र काव्य–सिद्धान्त, समकालीन सिर्जनात्मकता र रचनाको चुरो पहिचान गर्ने शक्ति अत्यन्त तीव्र र संवेदनशील भएका कारण प्रत्येक भाषणमा उनी मौलिक र सटीक अभिव्यक्ति प्रस्तुत गर्थे ।
यसपटक गोविन्द वर्तमानले दसैँपछि वा तिहारपछि पदयात्रामा सँगै निस्कन मलाई प्रस्ताव गरेका थिए । मैले पनि सहर्ष स्विकारेको थिएँ । परिवारसँग पनि यो सूचना सुनाएको थिएँ । उनीसँग पटक–पटक यात्रा गरेका मित्र नारायण ढकालको यसपटक पर्यटन गर्ने स्थिति थिएन सायद । तर, गोविन्दले केही दिनको यात्रामा होइन महायात्रामा प्रस्थान गरे । उनीसँग यात्रा गर्ने मेरो इच्छा इच्छामै सीमित रह्यो । लगभग ३० वर्षको सहयात्रामा गोविन्द वर्तमानसँग मैले प्रशस्तै छोटा यात्रा गरेको छु । अनेक कार्यक्रममा सँगसँगै सहभागी भएको छु । पाँच वर्षअघि हिमाल एसोसिएसनले संयोजन गरेको बालसाहित्य कार्यशालामा मुढेको ‘हर्स सु माउन्टेन रिसोर्ट’मा पाँच दिन म र गोविन्द एउटै कोठामा बसेका थियौँ । त्यस कार्यशालामा विमल निभा, राजव, नारायण ढकाललगायत धेरै मित्र पनि सहभागी थिए । त्यस रिसोर्टका हंसमुख सञ्चालक मेजर मोहन खत्रीको परिवार रिसोर्ट सञ्चालन नमुनालायक थियो । तर, हामी कार्यशालाबाट फर्केको ७/८ महिनापछि मेजर मोहन खत्री माओवादीबाट क्रूरतापूर्वक मारिए । अर्को रोचक यात्रा वर्तमानसँग मैले गोरखामा गरेको थिएँ । काठमाडांैबाट हिँडेको साहित्यकार र पत्रकारको समूह रिजर्भ बसबाट पहिले मनकामना पुग्ने, त्यहाँ भोजनपछि साँझमा गोरखामा बस्नेगरी यात्राको क्रम तय भएको थियो । तर, मनकामना पुगेपछि केही युवा पत्रकार र साहित्यकार साथीहरूले मनकामनाबाट पैदलयात्रा गर्दै गोरखा पुग्ने योजना बनाए । गोविन्द वर्तमान, म र विप्लव ढकाललगायत त्यस पदयात्री समूहमा सामेल भयौँ । झन्डै ५ घन्टाको त्यो यात्रा पनि स्मरणीय रह्यो । मैले त्यस यात्रामा गोविन्द वर्तमानको अर्को तर कडा रूप पनि देखेँ । एकजना नेपालीका डाक्टरले गोविन्दसँग परिचय गर्दा आफ्नो नाम डाक्टर फलानो भनेर दिए । गोविन्दले तिनलाई राम्रोसँग झाँटे । तिनले गोविन्दको उचित तर्कसँग आत्मसमर्पण गरेर माफीसमेत मागे । अर्को पटक कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह विमोचनको कार्यक्रममा गोविन्दसँग नगरकोटको यात्रा पनि अविस्मरणीय छ । नारायण ढकालले आयोजना गरेको मूलखर्कको यात्रामा पनि म गोविन्दसँगै थिएँ ।
गोविन्द खान र खुवाउन मात्र होइन, पाककलामा पनि निपुण थिए । उनी अत्यन्त मीठो स्वाद लिँदै खान्थे । सिगरेट र चिया पिउँदा पनि उनी आरामसँग र समय लिएर पिउँथे । गोविन्द रक्सी पिउने कुरामा निकै बद्नाम थिए । उनी बिस्तारै रक्सी पिउँथे र निकै धेरै पिउँथे । उनलाई रक्सी पिउने लतले नै अल्पउमेरमै मारेको मान्नेहरू पनि प्रशस्तै छन् । रातमा जति रक्सी पिए पनि बिहान पसिना आउनेगरी जगिङ गर्थे । तर, पनि नियमित रक्सी सेवनले उनलाई बिस्तारै शिथिल बनायो । उनी स्वास्थ्य परीक्षणका मामलामा लापर्बाह थिए । तीन वर्षअघि उनी र नारायण ढकाल थोरङ्ला पासको यात्रामा जाँदा नै गोविन्दलाई उच्च रक्तचाप भएको पत्ता लागेको थियो । तर, अनेक सुझाव र आग्रहका बाबजुद उनी चिकित्सककहाँ जान डराउँथे । डाक्टरकहाँ गएपछि के भन्ने हो, के–के रोग देखाउने हो, बरु जति बाँचिन्छ, यसै बाँचिन्छ भन्ने उनको जबाफ हुन्थ्यो । स्वास्थ्य परीक्षण गराएर सामान्य औषधि मात्र लिएको भए पनि उनी यति चाँडै जाँदैनथे कि ? यो प्रश्न फगत प्रश्नका लागि मात्र भएजस्तो भयो अब †
उनलाई २०५१ मा रेडियो नेपालमा प्रवेश गराउने हामी निकै जनाको प्रयास रह्यो तर उनले त्यसलाई ठाडै अस्वीकार गरिदिए । कवि विमल निभा साझा प्रकाशनको महाप्रबन्धक भएका बखत ०५१–५२ तिर कवि निभाले कवितासंग्रह प्रकाशन गर्न साझामा दिन गोविन्दलाई अनुरोध गरे । तर, गोविन्दले त्यसमा पनि टेर–पुच्छर लाएनन् । गोविन्दलाई साथीहरू र शुभेच्छुकका प्रत्येक आग्रह र सुझावहरू अनुग्रह वा दबाबजस्तो लाग्थ्यो । गोविन्द वर्तमान यस अर्थमा अत्यन्त जटिल मनोग्रन्थीका सिकार थिए । यही जटिल मनोग्रन्थी, कुण्ठा र शंकाले गर्दा उनी सधैँ नै एक्लोजस्ता समेत देखिन्थे ।
गोविन्द आफ्ना छोराछोरीप्रति अत्यन्त मायालु र संवेदनशील थिए । छोरी उष्माको नाममा उनको ‘उष्माको बिहान’ शीर्षकको कविता नै प्रकाशित छ ।
गोविन्दको नाटक र फिल्मप्रति विशेष आकर्षण थियो । नेपालमा आएका राम्रा हिन्दी फिल्म, अंग्रेजी फिल्म, नेपाली फिल्म र नाटकहरू गोविन्दले प्राय: छाडेका छैनन् । यस अर्थमा गोविन्दको रुचि साहित्य र संस्कृतिका अनेक क्षेत्रमा एकनास रहेको थियो । कलात्मक मूल्य र सुन्दरताप्रति उनको आकर्षण अन्त्यसम्मै बरकरार रहेको थियो । उनले केही फिल्मको पटकथा र संवाद पनि लेखेका थिए तर उनले लेखेका स्तरीय पटकथा र संवादमा कुनै फिल्म बनेन ।
गोविन्द वर्तमानको सक्रिय जीवनका अनगिन्ती घटना उनलाई सम्झन काफी छन् । आफ्नो छोटो, अर्थपूर्ण र सिर्जनात्मक जीवनमा उनका कमजोरी औँलामा गन्न सकिने संख्यामा छन् भने उनका योगदान र प्राप्तिहरू उल्लेखनीय संख्यामा । समकालीन नेपाली कवितामा दसजनाको नाम लिनुपर्दा गोविन्द वर्तमान त्यसभित्र पर्छन् । गोविन्द वर्तमानका कमी–कमजोरी व्यक्तिगत हुन्, तिनले उनको प्रकाशित सिर्जनात्मक र जुझारु व्यक्तित्वलाई कुनै असर पार्दैनन् । वास्तवमा गोविन्दलाई नेपाली साहित्य, पत्रकारिता र वाम–प्रजातान्त्रिक आन्दोलनले सम्झने उनको निष्ठा, समर्पण र सिर्जनालाई हो । उनका व्यक्तिगत सम्झनाहरू परिवार र केही साथीभाइसँगै हराउलान् । तर, उनका रचना र रचनात्मक योगदान लामो समयसम्म नेपाली साहित्य, पत्रकारिता र राजनीतिक आन्दोलनको इतिहासमा अंकित रहनेछन् ।
गोविन्द वर्तमान अतीत भए † उनी वर्तमान अब सम्झनामा मात्र बाँचेका छन् । उनको असामयिक मृत्युले नेपाली साहित्य, पत्रकारिता र वाम–आन्दोलनमा अत्यन्त ठूलो क्षति पुगेको छ । गोविन्द वर्तमानको एक मित्रका रूपमा, नेपाली साहित्यमा र नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा उनको एक सहकर्मीको रूपमा म उनलाई सधैँ सम्झिरहनेछु । हार्दिक श्रद्धाञ्जली कवि गोविन्द वर्तमानलाई †

 

 

सम्झनाको क्यानभासमा वर्तमान
गोविन्द वर्तमान नेपाली साहित्य जगत्का उत्कृष्ट कविहरूमध्ये पर्दछन्, जो शब्द र भावको संयोजन गर्न निकै कुशल थिए। निबन्धकार, कथाकार, सामयिक टिप्पणीकार, समीक्षकका रूपमा बढी चिनिएका उनको दसैँको महाअष्टमीका दिन निधन भयो। वर्तमानसँग संगत गरेका लेखक/कविहरू उनलाई यसरी सम्झन्छन् :
खगेन्द्र संग्रौला
गोविन्द वर्तमानलाई ३३ वर्षअघि कवि, पत्रकार अनि लेखकको रूपमा चिनेको हुँ । उनी स्वाभिमानी मान्छे थिए । सामान्य जनताको जागरण र सामाजिक न्याय उनका लेखनीले समेट्थे । जस्तै अभाव अनि कष्ट पर्दा पनि उनले आफ्नो कलम बेचेनन् । अभावलाई आफूभित्र लुकाएरै राख्ने अन्तर्मुखी गुण थियो उनको । त्यसैले त कहिल्यै स्वाभिमानमा डगेनन् । उनी मनमा धेरै चिन्ता लिन्थे भन्ने उनले बोल्ने विस्फोटनको भाषामा झल्किन्थ्यो । स्वभावका जटिलताका बारेमा उनको टिप्पणी गरिन्छ । तर, मेरो लागि एक लेखकबारे बोल्नुपर्दा स्वभाव महत्त्वपूर्ण होइन, उनी जगत्प्रतिको दृष्टिकोण कस्तो राख्थे भन्ने मेरो दृष्टिले खोज्छ । समग्रमा मैले चिनेको गोविन्द वर्तमान जनताको लेखक हुन् ।
विमल निभा
तीसको दशकमा ‘उत्साह’ पत्रिकाको आयोजनामा रत्नपार्कको वाचनालयमा हुने साहित्यिक गोष्ठीमा मैले गोविन्द वर्तमानलाई पहिलोपटक चिनेको हुँ । त्यस भेटले उहाँको व्यक्तित्व बुझ्न पाएँ र उहाँका लेखनीलाई नजिकबाट बुझ्ने अवसर मिल्यो । कम बोल्ने र स्वाभिमानी व्यक्तित्व उहाँको विशेष गुण हो । सकारात्मक सोचाइका लेखकको रूपमा मैले उहाँलाई नियालेको छु ।

 

 

 

श्यामल
गोविन्द वर्तमानको लेखनीका एक प्रशंसकले भनेछन्, ‘दाइ, तपाईं यति राम्रा कविता लेख्नुहुन्छ । यिनलाई संग्रहित गरेर एउटा पुस्तक तयार गरौं न ।’ गोविन्दले जवाफमा ‘तैं आफ्नो कविता निकाल् न । मेरो के को चिन्ता ?’ भनेछन्  । उनी कस्ता स्वभावका थिए भन्ने यही संवादले पनि पुष्टि हुन्छ । मैले पनि ०३६ सालयताको संगतमा उनलाई आत्मकेन्द्रित साथीको रूपमा नै चिनें । कहिलेकाहीँ मैले पनि उनलाई बानी सच्याउन सल्लाह दिन्थेँ । भन्थे ‘के गर्ने यार, मलाई लोलोपोतो घसेर बोल्नै आउँदैन ।’ स्वभावमा खरो भए पनि साहित्यिक विचार–विमर्शमा सधँै अगाडि रहने उनी खरो टिप्पणीकार पनि हुन् । उनका प्रशंसक धेरै भए, निकट साथीचाहिँ कम । तर, उनी आफ्नो सिद्धान्तमा अडिग, पूर्णमूल्यांकन, छलफल, यात्रा गर्न रुचाउने नेपालका राम्रा कविभित्रका एक हुन् । निबन्धमा पनि उत्तिकै तेज थिए ।

अविनाश श्रेष्ठ
गोविन्द वर्तमान कुण्ठाग्रस्त लेखक हुनुहुन्थ्यो । साना कुरामा शंका गर्ने, झडङ्ग रिसाउने उहाँको स्वभाव थियो । रक्सी खाएपछि प्रत्येकपटक कसै न कसैसँग झगडा परेकै हुन्थ्यो । केही सन्की स्वभाव पनि उहाँका गुण हुन् । तर, उहाँ साहित्यमा प्रखर व्यक्ति हुनुहुन्छ । तत्काल लेख्न सक्ने उहाँको क्षमता थियो । निधन हुनु दुई हप्ताअघि मात्रै उहाँले गरिमाको ‘यस अंकको कवि’का लागि चारवटा कविता र एउटा लामो कथा लेख्छु भन्नुभएको थियो । त्यो पूरा हुन पाएन । उहाँले थाल्नुभएको एउटा उपन्यास पनि आधाजति मात्रै पुगेको छ । म विश्वस्त हुनै सकिरहेको छैन कि उहाँले संसार छोडिसक्नुभएको छ ।

 

 

शार्दुल भट्टराई
टाढाबाट हेर्नेले अभिमानीजस्तो देखे पनि नजिकबाट हेर्दा स्वाभिमानी थिए वर्तमान । ४० वर्षभन्दा बढीको संगतमा मैले उनलाई कहिल्यै अभिमानी पाइनँ । कथा, कविता, निबन्धदेखि उनका समीक्षाहरूमा समेत स्वाभिमानी चरित्र प्रकट भएको छ । कहिल्यै उनमा पूर्वाग्रह, दुराग्रह उब्जिएको भेटिनँ  । उनी झुट मन पराउँदैनथे, सत्य छाड्दैनथे । आफूमा इमान भएको मान्छेले अरूमा पनि इमान्दारिता खोज्छ, गोविन्द वर्तमानको व्यक्तित्व यही हो । यी प्रगतिवादी चिन्तनका लेखक आफ्नो लेखाइमा सबै दलको निष्पक्ष टिप्पणी गर्थे ।

 

स्वागत नेपाल
गोविन्द वर्तमानसँग जहिले पनि मेरो कुरा हँुदा उहाँले दलहरूप्रतिको निराशामिश्रित आक्रोश पोख्नुहुन्थ्यो । उहाँ साहित्यकारहरूको चाबहिल, पुरानो बानेश्वर, बल्खु, पीपलबोट र पार्कहरूमा पाखण्ड गर्दै हिँड्ने समूहवाद देखेर दिक्क हुनुहुन्थ्यो र विस्तारै हाँस्नु हुन्थ्यो । अनि ‘यिनीहरू कति बाँच्छु भन्ने ठान्छन्’ समूहवादबाट भन्दै दया गर्नुहुन्थ्यो । समूहवादलाई भजाएर पुरस्कारका भीख माग्दै हिँड्ने युवासँग पनि घीन मान्नुहुन्थ्यो र नाक खुम्च्याएर हेर्नुहुन्थ्यो । त्यो सायदै धेरैलाई थाहा थियो । त्यसैमा उहाँ निकै घमन्डी पनि हुनुहुन्थ्यो । त्यो घमन्डलाई म सलाम गर्छु । सोचाइ आ–आफ्नो हो ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया