काठमाडौं, १८ कात्तिक । दृष्टिविहीनका लागि स्पर्शीचित्र सामग्री तयार भएको छ । शिक्षा विभागले दृष्टिविहीन विद्यार्थीका लागि स्पर्शीचित्र पाठ्यसामग्री पुस्तक तयार पारेको हो ।
विभागले पहिलोपटक दृष्टिविहीनका लागि विभिन्न वस्तु अंकित चित्र भएको सामग्री पढाउने तयारी गरेको छ । छामेर पढ्ने विद्यार्थीलाई पढ्न सजिलो होस् भन्नका लागि स्पर्शीचित्र पुस्तक सामग्री तयार गरिएको विभागका निर्देशक टेकनारायण पाण्डेले बताए । निर्देशक पाण्डेका अनुसार स्पर्शीचित्र सामग्री दक्षिण एसियामै पहिलोपटक नेपालमा सरकारले लागू गर्न लागेको हो ।
‘विद्यार्थीलाई वस्तु चिन्नका लागि स्पर्शीचित्र पढाउन थालिएको हो उनले भने, ‘यो दक्षिण एसियामा नै पहिलो हो ।’ सुनेको मात्र वस्तुको कस्तो हुन्छ भनेर चिनाउनका लागि सामग्री पुस्तकले विद्यार्थीलाई वस्तु चिन्न सजिलो हुने बताइएको छ । स्पर्शीचित्रमा विज्ञान, सामाजिक र गणित विषयका विभिन्न चित्र राखिएको छ ।
स्पर्शीचित्र पाठ्यसामग्रीमा दृष्टिविहीन विद्यार्थीले स्पर्शका माध्यमबाट चित्रहरू चिन्न सक्ने छन् । सामग्रीमा नेपालको नक्सा, झन्डा, मन्दिर, गणतीय अंक, राष्ट्रिय चिह्न र विभिन्न वस्तुका करिब दुई सय ५० चित्र राखिएका छन् । कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि सो सामग्री तयार पारिएको हो । विभागले सामग्री पुस्तक विद्यालयमा पठाउन सुरु गरिसकेको छ । तीन सय सेट छापिएको उक्त पुस्तक एक विद्यालयका तीनवटा पठाइने विभाग समाहित शाखाका अधिकृत दीपक माझीले बताए ।
ब्रेल पाठ्यपुस्तक अभाव
यसैगरी दृष्टिविहीन विद्यार्थीका लागि अध्ययनका लागि चाहिने ब्रेल पाठ्यपुस्तक अभाव भएको छ । पाठ्यपुस्तक अभाव भएपछि दुईजना विद्यार्थी एकसेट पुस्तक पढ्न बाध्य छन् । १३ सय विद्यार्थीमा विभागले पाँच सय ७८ सेट पाठ्यपुस्तक छापेको छ । विद्यार्थी छापिएको पुस्तक मिलेर पढिरहेको शाखा अधिकृत माझीले जानकारी गराए ।
हाल देश भरिमा ९० विद्यालय दृष्टिविहीन विद्यार्थी अध्ययरत छन् । विभागका निर्देशक पाण्डेले समयमा विद्यार्थीको संख्या एकिन हुन नसकेका कारण कम पुस्तक छापिएको बताए । उनले आउँदो वर्षमा पुस्तक कम नहुने बताए । एक सेट पुस्तक छाप्नका लागि १० हजार खर्च लाग्ने गरेको छ ।
शिक्षा मन्त्रालयले कम बजेट दिएका कारण सबै विद्यार्थीलाई पाठ्यपुस्तक छाप्न नसकिएको अधिकृत माझीले बताए । ‘कम बजेटका कारण पर्याप्त पुस्तक छाप्न सकिएको छैन,’ उनले भने, ‘जसले गर्दा विद्यार्थीको अध्ययनमा समस्या परेको छ । दृष्टिविहीनको लागि लेख्ने सामग्री स्टाइलस र सिलेट पनि अभाव छ ।’ शिक्षा मन्त्रालयले ब्रेल पुस्तकका लागि गत आर्थिक वर्षमा ३० लाख छुट्टाएको थियो । अहिले दुई सय स्टाइलस र सिलेट अभाव रहेको बताइएको छ । साना विद्यार्थीलाई अपुग सामग्री मिलेर पढ्ने व्यवस्था मिलाइएको शाखा अधिकृत माझीले जानकारी गराए ।
प्रतिक्रिया