बजेटको तयारी गर्न एमाओवादीको सुझाव

काठमाडौं, १७ कात्तिक । सत्तारुढ एकीकृत माओवादीले कात्तिक मसान्त भित्र बजेट ल्याउने तयारीमा जुट्न सरकारलाई सुझाव दिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले राजनीतिक दलहरुसँगको सहमतिमा पूर्ण बजेट ल्याउने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले भने, ‘मुलुकलाई आर्थिक संकटबाट जोगाउन बजेटमा सहमति गर्नुको विकल्प छैन ।’
बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै अर्थमन्त्री वर्षमान पुनले साधारण खर्चमा समेत समस्या देखिएकाले कात्तिक मसान्त अगावै बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
उनले प्रमुख दलसंगको सहमतिमै बजेटको तयारी गरिने दाबी गरे । उनले भने, ‘बजेटमा छलफलका लागि दलहरुसँग एक÷एक जना प्रतिनिधी माग्छौं ।’
एमाओवादीले संविधानका विवादित विषयमा सहमति गरेर नयाँ संविधान जारी गर्न संविधानसभा छोटो समयका लागि पुनःस्थापना गर्न सकिने पनि उल्लेख गरेको छ । नेता पुनका अनुसार पुनःस्थापनामा विपक्षी दलहरुसँग छलफल गरिने बताए ।

प्रतिक्रिया