काठमाडौं, १७ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा गत असोजमा ३८ हजार पाँचजना बिदेसिएका छन् । यसमा ३५ हजार ६ सय २८ जना पुरुष र दुई हजार तीन सय ७७ महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार यो संख्या गत आवको असोज महिनाको तुलनामा ४२ दशमलव ९८ प्रतिशत बढी हो । गत आवको असोजमा २६ हजार पाँच सय ८१ जना रोजगारीका लागि गएको विभागले जनाएको छ ।
विभागका अनुसार असोजमा संस्थागत रूपमा ३४ हजार आठ सय २७ जना रोजगारीमा गएका छन् । संस्थागत रूपमा बिदेसिनेमा ३२ हजार नौ सय ८९ जना पुरुष र एक हजार आठ सय ३८ जना महिला कामदार रहेका छन् । यस्तै, सो महिना व्यक्तिगत रूपमा विदेश जानेको संख्या दुई हजार एक सय ३१ छ । यसमा एक हजार नौ सय ६५ पुरुष र एक सय ६६ महिला छन् ।
विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा विदेश जानेको संख्या ९८ हजार सात सय ७७ पुगेको छ । चालू आवको साउनमा ३२ हजार ६ सय ८५, भदौमा २८ हजार ८७ र असोजमा ३८ हजार पाँचजना रोजगारीका लागि गएका हुन् । तर, चालू आवको तीन महिनामा रोजगारीमा जानेको संख्या गत आवको सोही अवधिको तुलनामा भने ९.८४ प्रतिशतले कम हो । गत आवको पहिलो तीन महिनामा एक लाख नौ हजार पाँच सय ५४ जना रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ ।
असोजमा सबैभन्दा बढी रोजगारीका लागि मलेसिया गएका छन् । विभागका अनुसार असोजमा मलेसिया जानेको संख्या १४ हजार पाँच सय ७७ जना छ । यस्तै, आठ हजार एक सय ३९ जना साउदी, ६ हजार चार सय ५३ जना कतार र चार हजार आठ सय ४६ जना युएई रोजगारीका लागि गएका छन् ।
यस्तै, असोजमा घर बिदामा आई पुन: रोजगारीमा जान नौ हजार ६२ जनाले विभागबाट पुन: श्रम स्वीकृति लिएका छन् । योसहित चालू आवमा पुन: श्रम स्वीकृति लिनेको संख्या ३२ हजार चारजना पुगेको छ । विभागका अनुसार साउनमा १२ हजार सात सय ३२ र भदौमा १० हजार दुई सय १० जनाले पुन: श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार असोजमा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रूपमा आठ करोड १३ लाख ४६ हजार एक सय सात रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित एक सय ३२ वटा उजुरी परेका छन् भने संस्थागत रूपमा दुई करोड ३२ लाख १२ हजार ६० रुपियाँ ठगी भएको दाबीसहित एक सय चार उजुरी परेका छन् । परेका उजुरीमध्ये फरफारक भएको संख्या भने न्यून छ । व्यक्तिगत रूपमा सो महिना परेका उजुरीमा दाबी भएकोमध्ये ३२ लाख १७ हजार एक सय रुपियाँ फरफारक भएको छ । यस्तै, संस्थागत ठगीको रकममध्ये २५ लाख ४२ हजार रुपियाँ सो महिना फरफारक भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई असोजमा वैदेशिक रोजगारीका नाममा भएको ठगी विगतको भन्दा केही कम भएको बताउँछन् । उनले व्यक्तिगत रूपमा रोजगारीमा पठाउने प्रक्रियामा कडाइ गरेकाले केही कम भए पनि पूरै नियन्त्रण गर्न भने नसकिएको जनाए ।
प्रतिक्रिया