विराटनगर, १७ कात्तिक । विराटनगरका स्वास्थ्य संस्थामा दुई रक्त समूहको रगत नहुँदा बिरामी मर्कामा परेका छन् ।
चाडवाडका कारण रक्तदान गर्ने क्रम घटेपछि रगतको अभाव भएको हो । बी पोजेटिभ र एबी पोजेटिभ समूहको रगतको अभाव भएको हो । चाडवाडका बेला सवारी दुर्घटनालगायत बिरामीको संख्या बढी हुने भएकाले पनि माग बढी हुने गरेको युथ फर ब्लड विराटनगरका अध्यक्ष सरोज कार्कीले बताए ।
‘हाम्रा आफ्नै सदस्य र रगत दिनेको लामो लिस्ट छ,’ उनले भने, ‘हामीसँग उनीहरूबाटै रगतको आपूर्ति गर्न निरन्तर काम गरिरहेका छौँ ।’ बुधबार राति मात्र चार सदस्यले रक्तदान गरेका छन् । ‘रगत नपाएको भन्दै बिरामीका आफन्तले फोन गरेपछि सम्भव भएसम्म रगत उपलब्ध गराउँछौँ तर कहिलेकाहीँ रगत दिन नसकिने अवस्था पनि छ,’ उनले भने ।
रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार विराटनगरका स्वास्थ्य संस्थामा बी पोजेटिभ र एबी पोजेटिभ समूहको रगत अभाव भएको छ । अन्य समूहका रगतको पनि सञ्चिति धेरै छैन । केन्द्रका विनोद मिर्धाका अनुसार अन्य समूहको रगतको सञ्चिति केही रहे पनि दुईवटा समूहको रगत छैन । खासगरी प्रसूति र दुर्घटनामा परेका बिरामीलाई आवश्यक परेका बेला रगत उपलब्ध हुन नसक्दा समस्या हुने गरेको मिर्धाको भनाइ छ ।
‘केही बिरामीले आफन्तलाई बोलाएर रगत दान गराउँछन्, केहीलाई हाम्रो सम्पर्कमा रहेका रक्तदातालाई बोलाएर रगत दिन लगाउँछौँ,’ मिर्धाले भने, ‘नियमित रक्तदान कार्यक्रम नहुँदा अभाव देखिएको हो ।’ उनले अबको एक साताभित्र कहीँ पनि रक्तदान कार्यक्रम नभए सबै रगतको अभाव हुने बताए । ‘विभिन्न संस्थासँग रक्तदान कार्यक्रमका लागि आग्रह गरिरहेका छौँ,’ मिर्धाले भने, ‘रक्तदान कार्यक्रमका लागि विभिन्न सञ्चारमाध्यमबाट सार्वजानिक आह्वानसमेत गरेका छौँ ।’ उनले संस्थागत रूपमा रक्तदान कार्यक्रम गरेर रगत संकलन नगरिए समस्या जटिल हुनसक्ने बताए । विराटनगरका स्वास्थ्य संस्थामा दैनिक ४० देखि ५० पिन्ट रगतको आवश्यकता पर्छ ।
प्रतिक्रिया