बिजुली बाल्ने सपना अधुरै

बैतडी, १६ कात्तिक । बैतडीको उत्तर–पूर्वी भूमिराज गाविसस्थित बेउडीगाड लघु जलविद्युत् आयोजनाको परीक्षणलगत्तै कुलो भत्किएपछि स्थानीयवासीको बिजुली बाल्ने सपना अधुरै रहेको छ ।
पच्चीस किलोवाट क्षमताको बेउडीगाड लघु जलविद्युत् आयोजनाको अघिल्लो साता परीक्षणलगत्तै कुलो भत्किएको हो । कुलो भत्किएपछि भूमिराज– १, २, ३, ४, ८ र ९ का करिब तीन सय घरपरिवारले बिजुली बाल्न पाएका छैनन् ।
गरिबी निवारण कोष र स्थानीय बासिन्दाको ७५ लाख रुपियाँको लागतमा निर्माण भएको सो आयोजनाको वायरिङ बाहेक सबै काम पूरा भए पनि कुलो भत्किँदा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
‘परीक्षण सफल भएपछि खुसियाली मनाएका थियौँ’ स्थानीय चक्र खडायतले भने, ‘तर आयोजनाको कुलो १५ मिटरजति भत्किएपछि अझै समय लाग्ने भएको छ ।’ पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो लघु जलविद्युत् आयोजनाको १ कात्तिकमा परीक्षण गरिएको थियो ।
गरिबी निवारण कोषले ६० लाख खर्च गर्दा पनि पाँच वर्षसम्म बिजुली बल्न नसकेको भन्दै समाचार प्रकाशन तथा प्रसारण भएपछि सबै काम फटाफट सम्पन्न गरेर आयोजनाको परीक्षण भएको थियो । परीक्षणका क्रममा स्थानीय बासिन्दाले खुसियाली मनाउँदै गाउँमा रमाइलो गरेका थिए । तर, लगत्तै नहर भत्किएपछि आधादर्जन गाउँमा विद्युत् सेवा सुचारु हुन सकेको छैन ।
गाउँसम्म विद्युत् लाइन विस्तार भई घरघरमा वायरिङ गर्ने काममात्र बाँकी रहेका बेला नहर भत्किएर समस्या भएको आयोजनाका अध्यक्ष जगी साउद बताउँछन् । आफूहरूसँग नहर मर्मतका लागि रकम अभाव भएका कारण बत्ती बाल्न समस्या भएको उनको भनाइ छ ।
प्रहरी कार्यालयमै विद्युत् चुहावट
सिरहा : विद्युत् चुहावट गर्नेलाई प्रहरीले पक्राउ गरेको धेरै समाचार सुन्नु भएको होला । तर, सिरहाका प्रहरीले आफैँ विद्युत् चुहावट गर्दै आएका छन् ।
सिरहा जिल्लास्थित इलाका प्रहरी कार्यालय बरियारपट्टि इलाका प्रहरी कार्यालय सुखीपुर र प्रहरी चौकी, कजरा जिझौल, नवराजपुर, झाझपट्टिलगायत एक दर्जन बढी प्रहरी कार्यालयले विद्युत् चुहावट गरिरहेका छन् । प्रहरी कार्यालयमा नै विद्युत् चुहावट हुने गरेकाले सो गाउँका सर्वसधारणले पनि मिटर नलिएरै विद्युत् बाल्दै आएका छन् । जिझौलका अजय यादवका अनुसार प्रहरीले विद्युत् चुहावट गर्दै आएकै कारण यहाँका ४० प्रतिशत जनताले पनि विद्युत् चुहावट गरिरहेका छन् । विद्युत् चुहावट गर्नेहरू बिजुली स्विचसमेत राख्दैनन् । स्विच नराख्दा बिजुली बत्ती दिनमा पनि अफ गर्दैनन् । विद्युत् चुहावट गर्दा पैसा तिर्ने टेन्सन हुँदैन, त्यसैले विद्युत् चुहावट गर्नेहरूले जतिबेला पनि बत्ती बालेरै छाड्ने गरेको किसनपुरका सञ्जय यादव बताउँछन् ।

प्रतिक्रिया