बढ्यो गाईको भारत निकासी

वीरगन्ज, १६ कात्तिक । नेपालको राष्ट्रिय जनावर गाईको भारतमा तस्करी बढिरहेको छ । बाराको ग्रामीण नाकाबाट भारतमा गाई तस्करी बढेको हो ।

मकवानपुर, धादिङ र बाराकै पहाडी क्षेत्रबाट ल्याइएका गाई सीमावर्ती गाउँमा जम्मा पारेर भारतमा निकासी भइरहेको हो । गाईको अवैध कारोबार गर्ने व्यापारीले प्रहरीको मिलोमतोमा गाईको तस्करी गर्दै आइरहेका छन् । बाराको छतवा, मटिअर्वा, तेलकुवा र सिम्रौनगढ बंकुल नाकाबाट दिनहुँ गाईको तस्करी भइरहेको छ । तस्करीमा बारा पुरैनियाका कपिल मिया ठकुराइ र कलाम मियाको दुई समूह सक्रिय रहेको पाइएको छ । कलामलाई सशस्त्र प्रहरी जवान इमाम हुसेनले सघाउँदै आएका छन् । सशस्त्र प्रहरीका डिआइजी सुशील श्रेष्ठका घुमुवा इमाम, कलामका सहोदर भाइ पनि हुन् ।
गाई तस्करीमा कपिल र कलामको समूहमा भारतीय तस्कर पनि साझेदार छन् । कलैयाको बरेवामा मंगलबार र शुक्रबार गाईको हाट नै लाग्ने गरेको छ । बरेवाको हाटबजारमा मकवानपुर, धादिङ र बाराका अन्य ठाउँबाट व्यापारीले गाई बिक्रीका लागि ल्याउने गर्छन् । हाटबजारका गाई तस्करले अवैध रूपमा भारत पठाउँदै आएका छन् ।
बाराका ग्रामीण नाकाबाट तस्करी गरिएका गाई मासुका लागि सीमावर्ती भारतीय गाउँ आदापुर, बेतिया, मोतीहारी, मुजप्फरपुरसम्म पुर्‍याउने गरिएको छ । मुस्लिम समुदायको पर्व बकर इदका बेला आदापुरका मासु व्यापारीका लागि कलामले सशस्त्र प्रहरी जवान इमामको सहयोगमा एक सय गाई आदापुर पुर्‍याएका थिए ।
तस्करले बारामा जिल्ला प्रहरी कार्यालयदेखि सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका प्रमुखलाई महिनावारी रकम बुझाउँदै आएका छन् । ‘प्रहरीका एसपीलाई मात्र मासिक ४२ हजार रुपियाँ दिनुपर्छ,’ तस्करीमा संलग्न एक व्यापारीले भने । यसैगरी, सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका इन्चार्जलाई तीन हजारदेखि १० हजार रुपियाँसम्म मासिक रूपमा तस्करीमा संलग्नले बुझाउँदै आएका छन् । अस्थायी प्रहरी पोस्ट छतवा, प्रहरी चौकी मटिअर्वा, प्रहरी चौकी तेलकुवालाई मासिक १० हजार रुपियाँ र अस्थायी प्रहरी पोस्ट जोदपुरका इन्चार्जले मासिक तीन हजार रुपियाँ गाई तस्करबाट घुस लिने गरेका छन् । सशस्त्र प्रहरीले भने घुस लिन नमानेको तस्करीमा संलग्नले बताएका छन् ।
केही समयदेखि गाईको कारोबारमा संलग्न कपिल र कलामको समूहबीच तनाव बढेको छ । एकले अर्काको कारोबारमा खलल पुर्‍याएपछि उनीहरूबीच तनाव बढेको हो । कलामको समूहले कपिलका गाई सशस्त्र प्रहरीलाई सुराकी दिएर पक्रन लगाएपछि दुवै समूहबीच तनाव बढेको हो । गाई तस्करीकै विषयलाई लिएर मटिअर्वामा गत बिहीबार राति दुवै समूहबीच झडप पनि भएको थियो ।
झडपमा तस्करीमा संलग्न सशस्त्र प्रहरी जवान इमाम पनि सहभागी थिए । झडपमा दुवै समूहले भारतीय तस्करलाई पनि बोलाएका थिए । स्थानीयका अनुसार झडपमा दुवै तर्फबाट करिब २५ भारतीय नागरिक सहभागी थिए । झडपका क्रममा स्थिति नियन्त्रणबाहिर गएपछि मटिअर्वास्थित नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको बेस क्याम्पबाट गएका सुरक्षाकर्मीले लाठी चार्ज गर्दै स्थिति नियन्त्रणमा लिएका थिए । झडपका क्रममा भारतीय तस्करले प्रहरी चौकी जोदपुरका हवल्दार चन्दन साहको मोटरसाइकल पनि लुटेर लगेका थिए ।
हवल्दार साहको मोटसाइकल भारतीयले शनिबार फिर्ता गरेका थिए । बिहीबार राति भएको झडपमा प्रहरीले कपिल र कलामसहित नौलाई नियन्त्रणमा लिएको थियो । तर, तस्करको दबाबपछि प्रहरीले उनीहरूलाई शुक्रबार दिउँसै मुक्त गरिदिएको थियो । एसपी दानसिंह बोहोराले भने गाउँलेले झडपका विषयमा आपसी समझदारीबाटै समाधान खोज्ने बताएकाले मुक्त गरिएको बताए ।
यसअघि ७ असोजको राति पनि सशस्त्र प्रहरीले मटिअर्वाबाटै १२ वटा गाईसहित ननकी र सुत्का नाम गरेका दुई तस्करलाई नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले रकमको मोलतोल गरेर दुवैलाई त्यही रात छाडेको थियो । एसपी बोहोराले भने अहिले बाराको नाकाबाट गाई तस्करी शून्य रहेको बताए । बुधबार सौर्यसँग उनले भने, ‘बाराको एसपी गाई तस्करी गरेर बस्दैन ।’ यता सशस्त्र प्रहरीका एसपी कालिदास ध्वजीले पनि गाई तस्करी सकेसम्म नियन्त्रण गरिएको बताए ।

प्रतिक्रिया