साझा सहकारीले ९० करोड क्रण तिर्न बाँकी

काठमाडौं, १५ कात्तिक । केही ससमय सञ्चालन भई बन्द भएका तथा सञ्चालनमा रहेका साझा सहकारी संस्थाहरूको कृषि विकास बैंकमा सावा र ब्याज गरी ९० करोड रुपियाँ तिर्न बाँककी रहेको छ । जसमध्ये २३ करोडको सावा र अन्य ब्याज रहेको छ । बन्द भएका र सञ्चालन भइरहेका पाँच सय ३७ संस्थाले सो रकम अझसम्म पनि तिर्न सकेका छैनन् । साझा सहकारी समस्या समाधान गर्न गठित कार्यदलको प्रारम्भिक अध्ययनले सो तथ्य देखाएको हो ।
अझै अध्ययनको केही काम बाँकी रहेकाले ती काम सकिएलगत्तै सरकारलाई पेस गरिने सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा कार्यदल संयोजक सुर्दशनप्रसाद ढकालले बताए । ती संस्थाका सञ्चालकलाई संस्थाको वस्तुस्थितिको अवस्था जानकारी गराउन भनिएको पनि उनले बताए । साझा सहकारीको समस्या समाधान गर्न भन्दै गत ३० जेठमा मन्त्रिपरिषद् बैठकले सहकारी मन्त्रालयका सहसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष, अर्थमन्त्रालयका उपसचिव, कृषि विकास बंैकका प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि रहेका छन् ।
कार्यदलले सूचना जारी गरी साझा संस्था र सर्वसाधारणलाई जानकारी गराई तथ्यांक संकलन गरेको हो । ‘अझै मूल धन पत्ता लगाउन सकेका छैनौँ,’ संयोजक ढकालले भने, ‘बन्द भएका सहकारीले पनि बैंकको ऋण तिरेका छैनन् ।’ साझा सहकारी सरकारको स्वामित्वमा सञ्चालन रहेको र लापरबाही भएको मन्त्रालयको भनाइ छ ।
पञ्चायत कालमा करिब आठ सय सहकारी सञ्चालनमा रहेका थिए । ती संस्थामध्ये करिब पाँच सय ७२ सहकारी बन्द भइसकेको मन्त्रालयको भनाइ छ । केही समयअघि सर्वसाधरणले कृषि विकास बैंकबाट लिएको रकम मिनाह गरेको थियो । सोहीअनुरूप सहकारीले लिएको रकम पनि मिनाह वा ब्याज मिनाह गरिदिनु पर्ने ढकालको भनाइ छ ।
साझा सहकारी संस्थाको समस्या समाधानका लागि राष्ट्रिय सहकारी संघलगायतले माग गर्दै आएकाले समाधानका लागि कार्यदल गठन गरिएको थियो । एक अध्ययनअनुसार साझा ऐन, ०४१ अन्तर्गत स्थापना र सञ्चालनमा रहेका पुराना साझा संस्था सहकारी ऐन, ०४८ को कार्यान्वयनपछि हालसम्म पनि पुरानै ढाँचामा सञ्चालनमा छन् । कतिपय साझा संस्थाको सञ्चालकमा अहिले पनि सरकारी निकायको नेतृत्व र प्रतिनिधित्व रहेकाले सहकारीकरण गर्न समस्या परेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । किसानले साझा सहकारी संस्थाहरूबाट लिएको ऋण रकमको थोरै भए पनि ब्याजका कारण दायित्व रकम उच्च हुन पुगेको मन्त्रालयले जनाएको छ ।
ऐँचोपैँचोद्वारा ५८ लाख कारोबार
नेपालगन्ज : बर्दियाको बेलवा गाविस—६ स्थित एँेचोपैँचो कृषि सहकारी संस्था लिमिटेडले गत दुई वर्षको अवधिमा ५८ लाख रुपियाँको कारोबार गरेको छ ।
०६८ असोजमा स्थापना गरिएको सो सहकारीले गत आवसम्म ६८ जनालाई कृषिजन्य व्यवसायका लागि ऋण पनि लगानी गरेको जनाएको छ । करिब एक सय ५० जना सेयर सदस्य रहेको सो सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यलाई एक लाख रुपियाँसम्म ऋण उपलब्ध गराउँदै आएको अध्यक्ष खड्गबहादुर खड्काले बताए । बर्दियाका कृषकको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित सो सहकारी संस्थाले एकजना सदस्यका लागि पाँच सयको २० कित्तासम्म सेयर वितरण गर्ने प्रावधान राखेको छ । संस्थाका अध्यक्ष खड्काका अनुसार संस्थागत कारोबारलाई थप विस्तार गरी बढीभन्दा बढी कृषकलाई व्यवसायमुखी बनाउने उद्देश्यले निकट भविष्यमै ग्लोबल, मालिका र एभरेस्ट बैंकसँग सहकार्यको प्रक्रियासमेत थालिएको छ ।
‘सरकारले हाम्रो बैंकलाई सौताको व्यवहार गरेको छ, सहकारीलाई दिनुपर्ने दुई लाखको अनुदान हामीले अहिलेसम्म पनि पाएका छैनौँ’ अध्यक्ष खड्काले भने । कुल सदस्य संख्याको ५० प्रतिशत महिला सदस्य रहेको सो सहकारी संस्थाका कर्मचारीलाई भने नेपालगन्जस्थित सहकारी डिभिजन कार्यालयले दुईपटक व्यवस्थापनसम्बन्धी तालिम उपलब्ध गराएको छ । (सौस)

प्रतिक्रिया