राजनीतिक खिचातानी, द्वन्द्व र विभिन्नखाले अवरोधका कारण नेपालमा अपेक्षित विकास हुन नसकेको विकासविद्हरू बताउँछन् । वास्तवमा जलस्रोत, पर्यटन, शिक्षा, कृषि, यातायात र अन्य क्षेत्रलाई अस्थिर सरकार र अन्योलपूर्ण राजनीतिले गर्दा हदैसम्म पछाडि पारेको छ । प्राकृतिक रूपले अत्यन्त सुन्दर, भौगोलिक हिसाबले हिमाल, पहाड, तराईको विछट्ट मिलाप, सांस्कृतिक हिसाबले विविधतायुक्त परिवेशलाई हामीले उपयोग गर्न सकेनौँ । जसका कारण नेपालमा अपेक्षित विकास हुन सकेन, प्रकृतिले उपहारमा दिएका उपयोगी वस्तुको प्रचुर मात्रामा उपयोग गर्न सक्ने हो भने नेपाल विश्वकै विकसित देश बन्न सक्छ । तर, विकासका पूर्वाधार तयार गर्नसमेत सकिएको छैन । अहिले नेपालको अर्थतन्त्रको ठूलो भाग रेमिट्यान्सले ओगटेको छ । यो दिगो र भरपर्दो आयस्रोत होइन । नेपालका लागि दिगो र भरपर्दो आयस्रोत बन्न सक्ने क्षेत्र भनेको कृषि, जलस्रोत र पर्यटन नै हो । यसकै विकासका लागि नेपाल सरकार र निजी क्षेत्रले काम थाल्नु पर्छ । थोरै लगानीमा धेरै मुनाफा कमाउन सक्ने क्षेत्र भनेको पर्यटन क्षेत्र नै हो । यसका लागि शान्तिपूर्ण वातावरण र प्रचार–प्रसारको खाँचो पर्छ । साथै, पर्यटकका लागि उपयुक्त व्यवस्था हुनु जरुरी छ । आन्तरिक र बाह्य पर्यटनका लागि सहज आवत–जावतको बन्दोबस्त पनि हुनुपर्छ । हाम्रा डाँडा–पाखाहरूमा दृश्यावलोकन गर्ने विभिन्नखाले स्थान, देवदेवीका मन्दिर साथै देवालय र गुम्वाहरू छन् । त्यहाँसम्म पुग्ने सहज उपाय छैन । सायद, यसैलाई ध्यानमा राखेर होला हालै पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गरेको खबर बाहिर आएको छ । यदि, सरकारको यो सोच कार्यान्वयन हुने हो भने पर्यटन विकासका लागि एउटा राम्रो काम हुने थियो । तर, अध्ययनमा मात्र यसलाई सीमित राखिनु हँदैन ।
नेपालमा अति विकट क्षेत्रहरू धेरै छन् । यातायातको पहुँचबाट टाढा रहेका त्यस्ता क्षेत्रमा केबुलकार लोकप्रिय माध्यम बन्न सक्ने कुरा मनकामना केबुलकार सञ्चालनबाट पुष्टि भएको छ । अहिले आएर सरकारले मुलुकभरका पाँच स्थानमा केबुलकार सञ्चालनका लागि उपयुक्त हुने अध्ययन प्रतिवेदन तयार गरेको छ । अब, सरकारले केबुलकार निर्माणका लागि सबै तरिकाले उपयुक्त वातावरण तयार गरिदिने हो भने निजी क्षेत्रले लगानी गर्ने देखिन्छ । तर, त्यसका लागि सहज अवस्था सिर्जना गर्ने काम सरकारले गर्नै पर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनबाट सुनसरी, धनकुटा, कालिकोट, डोटी र काभ्रेमा केबुलकार सञ्चालन गर्न सकिने स्पष्ट भएको छ । यदि, यसलाई कार्यरूपमा परिणत गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकलाई सहज रूपमा आकर्षित गर्न सकिन्छ । हुन त यो मन्त्रालयले यसअघि पनि काठमाडौंको चन्द्रागिरी, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाईँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुंगामा केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको थियो । त्यो प्रतिवेदन अहिलेसम्म थन्किएकै अवस्थामा छ । अध्ययन गर्दै प्रतिवेदन थन्क्याउँदै गर्ने हो भने त्यसको कुनै अर्थ रहँदैन । सरकारले प्रतिवेदन थन्क्याउने कार्य रोकेर तुरुन्त निजी क्षेत्रलाई निर्माणका लागि आह्वान गर्न सक्नु पर्छ । यसले मात्र विश्वसनीय वातावरण तयार गर्न मद्दत गर्नेछ । अन्यथा, प्रतिवेदन र अध्ययनको अर्थ रहँदैन ।
विकासका क्षेत्रमा थोरै भए पनि टेवा पुर्याउने र थुप्रै व्यक्तिलाई स्वदेशमै रोजगारी दिन सक्ने खालका क्षेत्रहरू पहिचान गरेर सरकारले लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । यसले मात्र केबुलकारलगायत अन्य क्षेत्रमा पनि लगानी गर्न निजी क्षेत्रलाई आकर्षित गर्न सक्छ । नेपालमा लगानीका क्षेत्र धेरै छन् । त्यसमध्ये केबुलकार एउटा उपयुक्त क्षेत्र हो । यसमा थोरै लगानीबाट धेरै रोजगारी सिर्जना गर्न सकिन्छ । तर, सरकारमा रहेकाले फराकिलो सोच बनाउन सक्नुपर्छ । र, सोही अनुरूपको सहज हुने नीति नियम तर्जुमा गरिदिनुपर्छ । जसले लगानीकर्तालाई आकर्षित गर्न सकोस् । अहिले पाँच स्थानका लागि गरिएको सम्भाव्यता अध्ययनअनुसार तुरुन्त काम अगाडि बढाउने हो भने तीन वर्षपछि नै पूर्वदेखि पश्चिमसम्मका जनताले केबुलकारमा यात्रा गर्न पाउनेछन् । तसर्थ, सम्बन्धित निकायले यसलाई कार्यरूप दिन तुरुन्त काम थाल्नुपर्छ ।
प्रतिक्रिया