१० वर्षमा बाघ दोब्बर हुन सक्ने

काठमाडौं, १३ कात्तिक । अबको १० वर्ष अर्थात् सन् २०२२ सम्ममा नेपालमा बाघ कति पुग्लान् ? पछिल्ला दुई वर्षमा संरक्षणको क्षेत्रमा भएको प्रगतिले बाघको संख्या दोब्बर हुने आशा जगाएको छ ।
सन् २०१० मा विश्वका बाघ पाइने १३ मुलुकले संयुक्त रूपमा ग्लोबल टाइगर रिकभरी प्रोग्राम (जिटिआरपी) घोषणा गरेर सन् २०२२ सम्ममा आ–आफ्ना देशमा भएका बाघको संख्या दोब्बर बनाउने लक्ष्य तय गरेका थिए । त्यसयता नेपालमा बाघको संख्यासँगै वासस्थान सुधारमा समेत राम्रो काम भइरहेको छ । पछिल्लो गणनाअनुसार बर्दियामा सन् २००८ मा १८ वटा बाघ रहेकामा सन् २०१२ मा दोब्बर भएर ३७ वटा पुगेका छन् भने शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक वर्षमै बाघको संख्या दुईवटा थपिएर १० पुगेको छ ।
दुई ठाउँमा बाघ बढेको तथ्यांक आइरहेका बेला सन् २०१२ को अन्तिमबाट बाघ पाइने मुख्य क्षेत्रहरू पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षको एकैचोटि बाघ गणना सुरु हुँदै छ । बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनु, चोरी–सिकार कम हुँदै जानु र स्थानीय जनताबाट भरपुर सहयोग हुनुले सन् २०२२ सम्ममा बाघ दोब्बर बनाउन असम्भव नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
‘अहिले जसरी वन र वन्यजन्तु संरक्षणमा स्थानीय स्तरदेखि सहयोग भइरहेमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउन कठिन छैन,’ विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले सौर्यसँग भने, ‘तर राजनीतिक आडमा भइरहेको वन अतिक्रमण रोकिनु आवश्यक छ ।’ उनले धनी व्यक्ति सहरमा बसाइ सरेजस्तो गरिबहरू वन छेउछाउ सर्ने, रातारात बस्ती बसाल्ने र भोट दिन प्रतिबद्ध बनाएर सुकुम्बासी वा भूमिहीन हुन् भनेर कुनै राजनीतिक दलले संरक्षण गर्ने गरिरहेकाले वनकै अस्तित्व संकटमा परेको बताए ।
‘राजनीतिक अस्थिरता वन्यजन्तु संरक्षणको सबैभन्दा जटिल समस्या बनेको छ र यसले रातारात वन मासिइरहेको छ,’ ढकालले भने, ‘यदि राजनीतिक अस्थिरता नहुने र राजनीतिक दलले भोटको लोभमा सुकुम्बासी भन्दै वन बाँड्दै गर्न छाडे भने सन् २०२२ को लक्ष्य पूरा गर्न गाह्रो छैन ।’ बर्दिया राष्ट्रिय निकुञ्जका बाघ बाहिर ओहोरदोहोर गर्दा सिकारीले मार्ने वा भारत पस्ने भएकाले त्यो रोक्न वन तथा भू–संरक्षण मन्त्रालयले सन् २०१० मा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ ।
बर्दियामा बाघ बढेपछि आ–आफ्नो क्षेत्र कायम गर्ने क्रममा धेरथोर बाघ बाँके राष्ट्रिय निकुञ्जमा गएर बसेको हुनसक्ने आशा संरक्षणकर्मीले लिएका छन् । सन् २०२२ सम्म विश्वका बाघ दोब्बर बनाउने कार्यक्रम ग्लोबल टाइगर रिकभरी प्रोग्राम(जिटिआरपी) अन्तर्गत नेपालको नेसनल टाइगर रिकभरी प्रोग्राम(एनटिआरपी)को लागि विश्व बैंकबाट करिब एक अर्ब ५३ करोड आठ लाख रुपियाँ(१७.२ मिलियन डलर) हात पर्दै छ । यता नेपाल सरकारले ‘बाघ संरक्षण विशेष कार्यक्रम’ को नाममा बर्सेनि नियमित ६ करोड रुपियाँ छुट्याउँदै आइरहेको छ ।
बाघ दोब्बर बनाउन सहयोगको लागि विश्व बैंकबाट प्राप्त भएको करिब २६ करोड २७ लाख रुपियाँ (तीन मिलियन डलर) अनुदान अन्तर्गत सन् २०११ देखि २०१५ सम्मको लागि पाँचवर्षे आइडिए परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले चलाइरहेको छ ।
यता, वन्यजन्तु संरक्षणका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था मानिने विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले पनि नेपालमा सबैभन्दा बढी बाघ संरक्षणका लागि खर्च गर्ने गर्छ । उसले तराई भू–परिधि कार्यक्रम, सेक्रेट हिमालय ल्यान्डस्केप प्रोग्राम, कञ्चनजंगा संरक्षण क्षेत्र परियोजना, सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र सहयोग परियोजना र नर्दन माउन्टेन ल्यान्डस्केप कार्यक्रमअन्तर्गत जम्मा वार्षिक बजेटको ५० प्रतिशतभन्दा बढी बाघ संरक्षणका लागि खर्च गर्दै आएको छ ।
चालु आर्थिक वर्ष सन् २०११/१२ का लागि डब्लुडब्लुएफ नेपालको बजेट ४८ करोड १७ लाख रुपियाँ छ भने गत वर्ष सन् २०१०/११ को खर्च ३४ करोड ८९ लाख रुपियाँ थियो । त्यस्तै, बाघकै वासस्थान लक्षित गरेर चितवन–अन्नपूर्ण भू–परिधि र तराई भू–परिधिमा जलवायु परिवर्तनको असर कम र वासस्थान सुधारका लागि करिब दुई अर्ब ६७ करोड रुपियाँ(३० मिलियन डलर) को कार्यक्रम सञ्चालन भइरहेको छ ।
सन् २०१० मा जिटिआरपी कार्यक्रम घोषणा हुँदा नेपालमा भएका एक सय २१ बाघको संख्यालाई दोब्बर गरेर सन् २०२२ सम्ममा दुई सय ५० पुर्‍याउने नेपालको लक्ष्य छ । बाघ संरक्षणका लागि सबैतिरबाट चिन्ता, चासो र सहयोग भइरहे पनि वासस्थान घट्नु मुख्य चुनौती रहेको डब्लुडब्लुएफले जनाएको छ । ‘सबैभन्दा धेरै बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जको चारैतिर बस्ती छ, बाघ बाहिर निस्क्यो कि मर्छ’ डब्लुडब्लुएफको वन्यजन्तु व्यापार तथा चोरी–सिकार नियन्त्रण इकाइका संयोजक दिवाकर चापागार्इंले सौर्यसँग भने, ‘बर्दियामा मात्रै वासस्थान विस्तार भएर हुन्न, सबैतिर हुनु आवश्यक छ । नत्र बाघ दोब्बर बनाउन होइन, भएकालाई पनि जोगाउनै गाह्रो पर्छ ।’
उनले बाघ स्वभावैले एक्लै धेरै क्षेत्र ओगटेर बस्ने भएकाले धेरैभन्दा धेरै घना जंगल थपिनु आवश्यक रहेकोमा जोड दिए । यसबाहेक आहाराको कमी भएमा बाघ आहारा खोज्दै बस्तीसम्म आउँदा चोरी–सिकारीबाट मारिने गरेको छ ।
नेपालको सबैभन्दा पछिल्लो सन् २०१२ को तथ्यांकअनुसार बर्दियामा ३७ र शुक्लाफाँटामा १० वटा बाघ छन् । चितवनमा सन् २०१० पछि बाघ गणना भएको छैन । सन् २०१० को तथ्यांकअनुसार त्यहाँ एक सय २५ बाघ छन् । त्यस्तै, पर्सामा सन् २००८ यता बाघ गणना भएको छैन । पुरानो तथ्यांकअनुसार त्यहाँ चारवटा बाघ थिए ।
हाल नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, रसिया, थाइल्यान्ड र भियतनाममा मात्रै बाघ पाइन्छ । विश्व वन्यजन्तु कोषका अनुसार एक लाखको हाराहारीमा रहेको विश्वभरको बाघको संख्या पछिल्लो एक शताब्दीमा घटेर तीन हजार दुई सयको हाराहारीमा पुगेको छ । जसमा मुख्य कारण यसको वासस्थान नासिनु रहेको बताइन्छ ।

प्रतिक्रिया