एमाओवादीमा नयाँ कार्यविभाजन

काठमाडौं, १३ कात्तिक । एमाओवादीले पार्टीलाई व्यवस्थित र उत्पादनशील बनाउने भन्दै नयाँ कार्यविभाजन गरेको छ । अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा आइतबार बसेको एमाओवादी पदाधिकारी बैठकले नयाँ कार्यविभाजन गरेको हो ।
नयाँ कार्यविभाजनअनुसार अध्यक्ष दाहालले सामूहिक व्यवस्थापन तथा उत्पादन विभाग सम्हाल्नेछन् । उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा विकास योजना तथा अर्थ विभाग र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा अनुशासन विभाग गठन गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पदाधिकारी बैठकले महाधिवेशनको कार्यविधि भने टुंग्याउन सकेन । अध्यक्ष दाहाल, उपाध्यक्ष भट्टराई र श्रेष्ठबीच कुरा मिल्न नसकेपछि कार्यविधिलाई अन्तिम रूप दिन एमाओवादीले मंसिर ६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । महाधिवेशनअघि जिल्ला समिति, राज्य समिति, जनवर्गीय संगठनलगायत सबै तहमा नेतृत्व हेरफेर नगर्ने गरी कार्यविधि बनाउने एमाओवादीको तयारी छ ।
स्रोतका अनुसार राज्य समिति सम्मेलन नगर्ने र जिल्ला समितिको सम्मेलनले महाधिवेशन प्रतिनिधि मात्रै चयन गर्नेछ । महाधिवेशन आयोजक समितिमा रहेका सबै महाधिवेशनका पदेन प्रतिनिधि हुनेछन् । जिल्ला सम्मेलनले चयन गरेका प्रतिनिधि, महाधिवेशन आयोजक समितिका सदस्य र केही मनोनीत प्रतिनिधि सहभागी हुनेगरी महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने तयारी एमाओवादीले गरेको छ ।
कृष्णबहादुर महरा प्रमुख रहेको संगठन विभागले सबै समिति सानो बनाउने र सबै समितिको सम्मेलनबाट नेतृत्व परिवर्तन गर्नेगरी कार्यविधि प्रस्ताव गरेकोमा उपाध्यक्ष भट्टराई र श्रेष्ठले असहमति जनाएपछि नेतृत्व चयन र राज्य समिति सम्मेलन स्थगन हुने भएको हो । महाधिवेशन कार्यविधिको अन्तिम स्वरूप भने महाधिवेशन आयोजक समितिले तय गर्नेछ ।
आइतबारको पदाधिकारी बैठकले शनिबार कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई दिएको लिखित प्रस्तावका आधारमा सहमतिका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । दाहालले कांग्रेस र एमालेलाई संविधानसभा पुन:स्थापना भए कांग्रेस नेतृत्वमा चुनावी सरकार गठन गर्ने अन्यथा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरूप दिएर संविधानसभाको नयाँ निर्वाचनमा जाने प्रस्ताव लिखित रूपमा अघि सारेका थिए ।

प्रतिक्रिया