व्यवस्थापनको जिम्मेवारी दाहाललाई

काठमाडौं, १२ कात्तिक । प्रमुख तीन नेतालाई जिम्मेवारी बाँडफाँट गर्दै एकीकृत माओवादीले महाधिवेशन तयारी समितिको बैठक मंसिर पहिलो साता बोलाउने निर्णय गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले मंसिर–६ गते तयारी समितिको बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तयारी समितिको बैठक लगत्तै जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय पनि एमाओवादीले गरेको छ । बैठकअघि नै महाधिवेशनको दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि भएको श्रेष्ठले बताए ।
पार्टीलाई रुपान्तरण गर्ने सन्दर्भमा अध्यक्ष दाहालले सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी बहन गर्ने निर्णय बैठकले गरेको छ । उपाध्यक्ष बाबुराम भट्टराईले विकास योजना र अर्थ विभाग तथा अर्का उपाध्यक्ष श्रेष्ठले अनुशासन फाँटको जिम्मेवारी सम्हाल्ने निर्णय भएको छ ।
विघटित संविधानसभामा ठूलो दल रहेको हैसियतले एमाओवादीकै नेतृत्वमा नयाँ निर्वाचनका लागि वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष श्रेष्ठले बताए । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया