महानवमी पर्व मनाइयेा

काठमाडौ, कार्तिक ७ । विजयादशमीको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ । यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।
महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।
काठमाडाँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोल्ने गरिएको छ । रासस

प्रतिक्रिया