प्यालेस्टाइनमा मतदान

रमल्लाह : प्यालेस्टाइन क्षेत्रमा ६ वर्षयता पहिलोपटक स्थानीय निर्वाचन आरम्भ भएको छ । शनिबार पश्चिम किनार क्षेत्रका मतदान केन्द्र खुला भएका छन् । प्यालेस्टाइन क्षेत्रका नौ सय मतदान केन्द्रमा करिब पाँच लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान आरम्भ भएको छ । मतदान केन्द्र करिब १२ घन्टासम्म खुला रहने जानकारी केन्द्रीय निर्वाचन आयोगले दिएको छ ।
प्यालेस्टाइनी जनताले सन् २००६ मा पछिल्लोपटक निर्वाचनमा भाग लिएका थिए । सो निर्वाचनमा इस्लामिक हमास समूहले विजय हासिल गरेको थियो । अहिले सोही समूहले गाजा क्षेत्रमा शासन गरिरहेको छ । तर, हमासले शनिबारको निर्वाचनमा सहभागी हुन अस्वीकार गरेको छ । प्यालेस्टाइनमा सन् २००५ मा स्थानीय निर्वाचन भएको थियो ।
यसपटकको निर्वाचनमा चार हजार सात सयले उम्मेदवारी दिएका छन्, जसमध्ये २५ प्रतिशत महिला छन् । उनीहरूले तीन सय स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, स्थानीय परिषद्का लागि हजार स्थान रिक्त छन् । हेब्रोन नगरका सबै उम्मेदवार महिला छन् ।
यसपटकको निर्वाचनमा पश्चिम किनारका तीन सय ५३ क्षेत्रमध्ये ९१ क्षेत्रमा मात्र शनिबार मतदान भयो । अन्य एक सय ८१ स्थानमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन् । बाँकी क्षेत्रको निर्वाचन कार्यक्रम हालसम्म प्रकाशन भएको छैन । निर्वाचन आयोगले मतदातालाई मोबाइल फोन तथा क्यामेरा मतदानकेन्द्रमा लैजान दिएको छैन । (एएफपी)

प्रतिक्रिया