बडादसैँको शुभकामना

नेपालीहरूको महान् चाड बडादसैँ २०६९ को आज सप्तमी तिथी, अर्थात् फूलपाती । यस अवसरमा दसैँ गच्छेअनुसार सबैको घर, आँगनमा प्रवेश गरिसकेको छ । देश–विदेशमा कार्यवश गएका परिवारका अधिकांश व्यक्ति दसैँ मनाउनकै लागि घर फर्किएका छन् । वर्ष दिनसम्म छुटिएका आफन्तबीच भेटघाट र आफूभन्दा ठूला (मान्यजन) बाट आशीर्वचन प्राप्त गर्नु नै यो चाडको महत्त्वपूर्ण पक्ष हो । दसैँ पर्वलाई अधिकांश नेपालीले हृदयदेखि नै हर्षोल्लास साथ मनाउने गरेको पाइन्छ । केही वर्षअघिदेखि दसैँ पर्व माथि राजनीतिक आक्रमण गर्न थालिएको थियो । तर, त्यसलाई नेपाली जनताले रुचाएनन् र सबै जात, जाति, जनजाति साथै समूहले आफ्नै चाड ठानेर मनाउँदै आएका छन् । दसैँ र तिहार पर्वलाई हिन्दू मात्रको चाड भएको कारण बहिष्कार गर्नुपर्छ भन्ने नारा लगाउँदै जनतालाई दिग्भ्रमित पार्न खोज्नेहरू पनि अहिले थाकिसकेका छन् । आफ्नो धर्म, संस्कृति, परम्परा र मूल्यमान्यता सबै त्याग्ने हो भने त्यो राष्ट्र स्वतन्त्र रहन सक्तैन । यो मर्म बुझेका आम नेपाली जुनसकै जाति–जनजाति भए पनि उनीहरूले दसैँलाई महान चाडका रूपमा धुमधामसँग मनाउने गरेको पाइन्छ । नेपालीले विश्वसामु अनेकतामा एकता भएको मुलुक भनेर नेपाललाई चिनाएका छन् । सबै जातजाति, जनजाति र समूहको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र चाड पर्वलाई सबै पक्ष र क्षेत्रले हृदयदेखि नै आत्मासात् गरेको अवस्था नेपालमा विद्यमान छ । यो अवस्थालाई खलबल्याएर आफ्नो कुत्सित राजनीतिक स्वार्थ पूरा गर्न खोज्नेहरूले दसैँ र तिहारजस्ता सबैको बनिसकेका पर्वहरूमाथि आक्रोश व्यक्त गर्नु भन्दा लोपोन्मुख चाड पर्वहरूलाई पनि उजिल्याउने काम गर्नु पर्छ । जुनसुकै चाड–पर्व सबैले मनाउने बनाउन सक्नुपर्छ । किन कि नेपालमा बस्ने सबैले मनाउने गरेका चाडपर्व नेपालकै श्रीवृद्धि गर्ने धरोहर हुन् ।
दसैँ पर्वले धार्मिक महत्त्व मात्र बोकेको छैन । यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पनि पुर्‍याएको छ । नेपालको आर्थिक क्षेत्र बडादसैँका अवसरमा बढी मात्रामा फस्टाउने गरेको पाइन्छ । सहर–बजारमा धेरै र ठुल्ठूला आर्थिक कारोबार हुन्छन् भने सुदूर ग्रामीण क्षेत्रमा पनि विभिन्न खाले आर्थिक कारोबार हुने गरेको पाइन्छ । धन कमाएर बिदेशमै बसेका नेपालीहरूलाई पनि यही दसैँको सम्झनाले नेपाल फर्कने बनाउँछ । विभिन्न व्यवसाय र पेसा अँगालेर स्वदेशकै, अन्य स्थानमा रहेकाहरू पनि दसैँका लागि आफ्नै गाउँ–घर फर्किएपछि स्वाभाविक रूपले त्यस क्षेत्रमा आर्थिक मन्दीमा कमी आएको अनुभव गर्न सकिन्छ । हाम्रो जस्तो रेमिट्यान्सले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको मुलुकमा यही बेला बढी मात्रामा रेमिट्यान्स भित्रिने गरेको पाइन्छ । यसले आर्थिक कारोबार बढाएको छ । व्यापार व्यवसाय बढी हुने दसैँको अवसरमा वस्तु उत्पादन गर्नेहरूले आफ्नो श्रम अनुसारको आम्दानी पनि गरेका हुन्छन् । यसले प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रूपमा राष्ट्रको अर्थतन्त्रलाई सहयोग पुर्‍याएको पाइन्छ । यसकारण आर्थिक हिसाबले दसैँ एउटा उत्तम पर्व मानिन्छ । त्यसैगरी यसको धार्मिक महत्त्व पनि विशिष्ट रूपको मानिन्छ । असत्यमाथि सत्यले विजय प्राप्त गरेको अर्थमा यसलाई धार्मिक महत्त्व दिएको छ । असत्यमाथि सत्यको विजय हुनु सबैका लागि अति उत्तम कुरा हो । सामाजिक हिसाबले पनि यस चाडलाई उत्कृष्ट चाडका रूपमा मानिन्छ । यसले समाजलाई एक आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । सांस्कृतिक महत्त्व पनि त्यतिकै उज्यालो छ भने राजनीतिक महत्त्व पनि विशिष्ट खालको छ । त्यही कारणले यो कुनै एक समूहको चाड नभई सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो । यसको महत्त्वलाई नेपालीले बिर्सन मिल्दैन ।
पछिल्लो समयमा आएर दसैँलाई राजनीतिक रंगमा रंग्याउन खोजिँदै छ । दसैँप्रति असहिष्णु बन्दै जनतालाई अपाच्य हुने खालका अभिव्यक्ति राजनीतिक नेताहरूबाट आउने गरेका छन् । यो राम्रो पक्ष होइन । कसैले कुनै पनि धर्म, संस्कृति, रीतिस्थिति, परम्परा र चाडपर्वमाथि लाञ्छना लगाउनु हुँदैन । यस समाजलाई एक आपसमा एकतावद्ध गराउने माध्यमका रूपमा चाडपर्वलाई लिनु राम्रो हो । अहिले स्वाभाविक रूपमा दसैँ महँगो र खर्चिलो बन्दै गएको छ । अत्यधिक मूल्यवृद्धि र अनियन्त्रित बजारले उपभोक्ताको ढाड सेकेको छ । विभिन्न दुर्गम जिल्लाका जनता भोकमरीकै अवस्थामा रहेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरूलाई दसैँ पक्कै पनि दशा भएर उपस्थित भएको छ । सरकारको हदैसम्मको गैरजिम्मेवारी र व्यवस्थापनको कमजोरीका कारण कालाबजारीहरूले यही दसैँको मौकामा फाइदा उठाएको पाइन्छ । तर, यो सबै हुनुमा दसैँको दोष होइन राज्यको दोष हो । तसर्थ, आफ्नो गच्छेअनुसार जस्तो सकिन्छ त्यसैमा चित्त बुझाएर खुसी साथ दसैँ मनाऔँ । यही दसैँमा राजनीतिक र संवैधानिक संकटबाट राष्ट्रले मुक्ति पाओस् । आपसमा सद्भाव साटासाट गरेर दसैँ मनाऔँ । हाम्रो तर्फबाट यही नै विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया