दसैँ अगाडि लाभांशको चटारो

 

काठमाडौं, ३  कात्तिक । नेप्सेमा सूचीकृत कम्पनीले दसैँ अगाडि नै लाभांश वितरण गर्ने कार्य सुरु गरेका छन् । सूचीकृत कम्पनीमध्ये ७० कम्पनीले लाभांश बाँढेका छन् भने १४ कम्पनीले लाभांश वितरण सुरु गरेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी नगद लाभांश घोषणा गरेको युनिलिभर नेपालले २५ असोजबाट लाभांश वितरण गरेको छ । युनिलिभरले प्रतिसेयर ६ सय ८० रुपियाँ नगद लाभांश घोषणा गरेको थियो । क्षेत्रीय विकास बैंकमध्ये सबैभन्दा बढी लाभांश घोषणा गरेको मुक्तिनाथ विकास बैंंकले पनि बिहीबारबाट वितरण सुरु गरेको छ । यसले साढे २२ प्रतिशत बोनस सेयर र साढे २७ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको थियो ।
बिमा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश घोषणा गरेको नेसनल लाइफ इन्स्योरेन्सले २५ भदौदेखि ३० प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ । एक अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको नबिल बैंकले पनि बिहीबारबाटै लाभांश वितरणको शुभारम्भ गरेको छ । बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरी बैंक अफ काठमाडौंले ५ प्रतिशत बोनस सेयर र २१ दशमलव ३२ प्रतिशत नगद लाभांश गत असोज २८ गतेबाट वितरण गर्न सुरु गरेको छ ।
नेपालको सेयर बजारमा लगानीकर्ताले नगद लाभांशभन्दा बोनस सेयरको चाहना राख्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले यो वर्ष ११ प्रतिशत पुँजी कोष राख्नुपर्ने नियम राखेका कारण पनि नगद लाभांशको साथमा बोनस सेयर बाड्ने क्रम बढेको हो ।
फाइनान्स कम्पनीमध्ये सिद्धार्थ फाइनान्सले घोषणा गरेको १८ प्रतिशत नगद लाभांश २२ असोजबाट वितरण गरिसकेको छ भने नेपाल एसबिआई बैंकले १ कात्तिकबाट घोषणा गरेको साढे १२ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ ।
दसैँ अगाडि वितरण गरेको नगद लाभांशले सेयरधनीलाई दसैँको सानोतिनो गर्जो टार्न सहयोग पुगेको एक सेयरधनीले बताए । लघुवित्त कम्पनीमध्ये सबैभन्दा पहिले फस्र्ट माइक्रोफाइनान्सले पनि १ कात्तिकबाटै घोषणा गरेको १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ । दसैँ सुरु हुनै लाग्दा सूचीकृत कम्पनीले सकेसम्म चाँडो साधारणसभा गरेर नगद लाभांश वितरण सुरु गरेका हुन् । यस वर्ष दसैँ अलिक ढिला सुरु भएकाले पनि अगाडि नै लाभांश बाँढ्न सम्भव भएको एक लगानीकर्ताले बताए । साधारणसभा आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । साधारणसभा अगाडि लेखापरीक्षणलगायत काम सक्नुपर्ने हुँदा साधारणसभा ढिला हुने र अन्तत: लाभांश वितरण पनि ढिला हुने गरेको सेयरधनीको अनुभव छ ।
मन्जुश्री फाइनान्सियल इन्स्टिच्युसनले घोषणा गरेको साढे १२ प्रतिशत बोनस सेयर र नवदुर्गा फाइनान्सको ११ प्रतिशत बोनस सेयर र पश्चिमाञ्चल फाइनान्सले घोषणा गरेको १० दशमलव ५६ प्रतिशत बोनस सेयर दुई महिना अगाडि नै वितरण गरिसकेका छन् । साधारणतया बैंक तथा वित्तीय संस्थाले ०७० असार मसान्त अगाडि नै राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउनु पर्ने हुनाले नाफा राम्रो भएका संस्थाले बोनस सेयर प्रदान गरेर चुक्ता पुँजी बढाइरहेका छन् ।
युनिक फाइनान्सको ८ दशमलव ९५ प्रतिशत नगद लाभांश, एनसिएम म्युचुएल फन्डको ८ प्रतिशत नगद लाभांश र नेपाल इन्स्योरेन्सको ७ दशमलव ३७ प्रतिशत बोनस सेयर गत असोजको अन्तिम साताबाट वितरण गरेको छ ।

प्रतिक्रिया