बाधक एमाओवादी : खनाल

काठमाडौं, २ कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालले दिनहुँ भाका फेर्ने र धारणा बदल्ने एमाओवादीको चरित्रका कारण मुलुक राजनीतिक संकटमा फसेको बताएका छन् । एमाओवादीको भाका फेर्ने व्यवहारकै कारण संविधान बनाउन नसकेको पनि उनको दाबी छ ।
युवासंघ नेपालले बुधबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खनालले एमाओवादीले पटक–पटक भाका फेरेकै कारण अहिले राजनीतिक संकट गहिरिँदै गएको बताए । ‘अहिले एमाओवादी संविधानसभा पुन:स्थापनाको राग अलाप्न थालेको छ,’ अध्यक्ष खनालले भने, ‘कहिले चुनाव भन्छन्, कहिले संविधानसभा पुन:स्थापना उसले पटक–पटक भाका फेरेर राजनीतिक संकट बढाइरहेको छ र सत्ता लम्ब्याउने योजना बनाइरहेको छ ।’
खनालले एमाओवादीले भएका सहमति पनि लत्याएर धारणा परिवर्तन गरिरहेका कारण संविधान नबनेको दाबी गरे । ‘आज एउटा सहमति गर्‍यो भोलिपल्ट एमाओवादीको धारणा बदलिन्छ,’ खनालले भने, ‘उसले निरन्तर धारणा बदलेका कारण संविधान बनाउन सकेनौँ ।’ राजनीतिक र संवैधानिक संकटको निकास दलहरूबीच सहमतिबाटै निकाल्नुपर्ने बताउँदै खनालले त्यसका लागि दबाब आवश्यक भएको बताए । युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादीलाई अधिनायकवादी सपना नदेख्न चेतावनी दिएका थिए । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निम्त्याइएको शुभकामना आदान–प्रदान तथा जलपान समारोहमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव विष्णु पौडेल, शंकर पोखरेल, पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया