पुनःस्थापनामा जाँदैनौः विपक्षी दल

काठमाडौं, १ कात्तिक । विपक्षी दल कांग्रेस र एमालेले संविधानसभा पुनःस्थापनामा नजाने सहमति पुनः दोहराएका छन् ।
काठमाडौंमा आज बेलुका बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार रहे सम्म कुनै पनि सहमति हुन नसक्ने जनाएका छन् । लामो समय पछि बसेको दुई दलका शीर्ष नेताहरुले निकासका लागि नयाँ जनादेशमा जानुपर्ने जनाएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा पुनःस्थापनामा नजाने सहमति भएको जानकारी दिए । ‘संविधानसभा पुनःस्थापना नजाने सहमति भएको छ,’ उनले भने, ‘यथास्थितिमा मुलुकले कुनै निकास पनि पाउँदैन छ ।’
नेता नेपालले वर्तमान सरकारले सहमितका लागि मार्गप्रसस्त नगरे दसैं, तिहार पछि आन्दोलनबाट सत्ताच्युत गर्ने चेतावनी दिए ।
राष्ट्रपतिले दलहरुलाई सहमति गर्न दिएको समयसीमा सकिनै लाग्दा कांग्रेस र एमालेले सो विषयमा पनि परामर्श गरेका हुन् ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कांग्रेस र एमालेले वर्तमान सरकारले पदत्याग गर्नुपर्ने माग गर्दै आएका छन् भने एमाओवादी र मधेसी मोर्चाले अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया