मलालाको स्वास्थ्य सुधार हुन सक्ने

लन्डन : उपचारका लागि बेलायत पुर्‍याइएकी पाकिस्तानी बालिका मलाला युसाफजाइको स्वास्थ्यमा सुधार हुन सक्ने बेलायती चिकित्सकले जनाएका छन् । उनलाई बेलायतको बर्मिङ्घमस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अस्पतालका चिकित्सकले उनको स्वाथ्यमा सुधार आउन सक्ने सम्भावना अझै जीवन्त छ । सोमबार बेलायतको बर्मिङ्घम विमानस्थलमा पुर्‍याइएको उनलाई नजिकैको क्विन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डेभिड रोजरले भने, ‘उनको स्वास्थ्यमा प्रगति हुन सक्छ । अस्पतालका विशेषज्ञ चिकित्सकले बालिकाको स्वास्थ्यबारे जानकारी लिइसकेका छन् ।’ सो अस्पताल विशेषज्ञ सेवाका लागि प्रसिद्ध छ । अस्पतालमा अफगानिस्तानमा घाइते भएका बेलायती सेनाको उपचार हुने गरेको छ । मेडिकल डाइरेक्टर रोजरले भने, ‘उपचार सोमबारदेखि नै सुरु भइसकेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य विस्तारै सुधार हुने बताएका छन् ।’
तालिवानी चरमपन्थीले हानेको गोली लागी उपचारार्थ सघन उपचारकक्षमा राखिएकी बालिकालाई थप उपचारका लागि बेलायत लगिएको थियो । शिक्षा अधिकारका पक्षमा वकालत गरेका कारण तालिवानीले गत साता उनलाई गोली हानेका थिए । टाउकामा गोली लागेकी बालिकालाई पाकिस्तानी सहर पेसावरको एक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई रावलपिण्डीमा रहेको पाकिस्तानी सेनाको विशेष सुविधायुक्त अस्पतालमा लगिएको थियो । त्यहाँबाट उनलाई बेलायत लगिएको हो । उनको उपचारका लागि आवश्यक खर्च पाकिस्तान सरकारले व्यहोर्ने भएको छ । आक्रमण भएपछि पाकिस्तानको स्वात उपत्यकाबाट पाकिस्तानी सेनाको विशेष विमानमार्फत उनलाई पेसावार ल्याइएको थियो । पाकिस्तानी सेनाले प्राथमिकतामा राखेर उपचार गरेकी उनी पहिलो सर्वसाधारण हुन् ।
मलालालाई पाकिस्तानको स्वात उपत्यकामा गोली हानिएको थियो । स्वात उपत्यका तालिवानीहरूको प्रभाव क्षेत्र मानिन्छ । गत मंगलबार विद्यालयबाट घर फर्किने क्रममा विद्यालयको बसभित्रै उनलाई गोली हानिएको थियो । उनले नारी शिक्षाको वकालत गरेकाले गोली हानिएको तालिवानीले बताएका थिए ।
उनलाई पाकिस्तानी सेनाका विशेषज्ञ चिकित्सकको सिफारिसमा एयर एम्बुलेसमा राखी उनलाई बेलायत पुर्‍याइएको थियो । यसका लागि पाकिस्तान सरकारले संयुक्त अरब इमिरेट्स (युएइ) बाट अत्याधुनिक एवं सुविधासम्पन्न हवाई एम्बुलेन्स मगाएको थियो । उनीमाथिको आक्रमणको विश्वभरि निन्दा भएको छ । पाकिस्तान सरकारले पनि आक्रमणको भत्र्सना गरेको छ । बालिकामाथि आक्रमण गर्नेलाई पक्राउ गर्नेलाई एक लाख अमेरिकी डलर बराबरको पुरस्कार दिइने घोषणा पाकिस्तान सरकारले गरेको छ । (एएफपी)

प्रतिक्रिया