छुवाछुत अन्त्यका लागि एकता आवश्यक

काठमाडौं, २९ असोज । कांगे्रसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले राज्यबाट पछाडि पारिएका दलित समुदायलाई राज्यको मूलधारमा समावेश गराउन दलित नेतृत्वबीच एकता आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘दलित समुदाय आर्थिकरुपमा सक्षम नहुँदा अधिकार सुनिश्चित हुँन सक्दैन ।’ उनले दलित नेताहरु बीच हुने एकताले मात्रै दलितसँग हुने विभेद छुवाछुतलाई अन्त्य गर्न सकिने बताए ।
एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्माले कानून र संविधानले दलितसम्बन्धी मुद्दालाई सम्बोधन गरेपनि त्यसले काम गर्न नसकेको बताए । उनले दलित मुक्तिका लागि आन्दोलन आवश्यक रहेको बताए ।
एकीकृत माओवादीका पोलिटव्युरो सदस्य विश्वभक्त दुलालले दलित समुदायको चौतर्फी विकास र उत्थानका लागि कागजी व्यवस्था पर्याप्त रहेको बताए । उनले दलितका लागि कानून प्रयाप्त रहे पनि त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजान नसकिएको उल्लेख गरे ।
कानून कार्यान्वयन हुँन नसक्दा दलितका समस्या जहाँको तहीँ रहेको उनको भनाई छ ।
एमाले नेता निर्मलकुमार विश्वकर्मा, जानमोर्चाका नेता सन्तबहादुर नेपालीलगायतले दलितमैत्री संविधान बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया