दुईसय तोला सुन र २५ लाख लुट्ने पक्राउ

पर्वत, २६ असोज । पर्वतको चित्रे गाविस–७ मा दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद लुटपाटको घटनामा संलग्न अभियुक्तहरुलार्ई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले आज कुश्मामा पत्रकार सम्मेलन गरेर लुटपाटमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न दुई अभियुक्त भने अझै फरार छन् । लुटपाटको घटनामा रोल्पा घर भएका वाईसियल कार्यकर्ता सविन बुढामगरले योजना बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला–७ घर भई पोखरा बस्ने ४७ वर्षीय वीरबहादुर विक, गुल्मी दुविचउर–९ घर भई पोखरा बस्ने ४२ वर्षीय रामबहादुर खड्का, म्याग्दी ओखरबोट–१ घर भई पोखरा–१५ बस्ने ३० वर्षीय रशबहादुर घर्तीमगर, रोल्पा थवाङ–८ घर भई पोखरा–२ अर्चलबोट बस्ने २० वर्षीय सविन बुढा रहेका छन् ।
दाङ जिल्लाको हापुरे घर भई पोखरा बस्ने जीवन बुढामगर र म्याग्दी ओखरबोट–१ का रेशम घर्तीमगर भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले असोज १२ गते राति पर्वत चित्रे–७ की पवित्रा गुरुङको घरबाट सुन र नगद लुटपाट गरेका थिए ।
प्रहरीले खाल्टोमा लुकाएको अवस्थामा २१ तोला सुन फेला पारेको छ भने उनीहरुले पोखरामा रहेको देउराली सुनचाँदी पसलमा २२ तोला सुन नौ लाख रुपियाँमा बिक्री गरेको पनि फेलापरेको छ । सुन पसल सञ्चालक राजेन्द्र रसाइलीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । (चोरी भएको घर, फाईल तस्विर)

 

पुरानो समाचार

दुईसय तोला सुन र २५ लाख नगद चोरी

नगद र सुनको परिणामप्रति प्रहरी आसंकित

-गोविन्द सुवेदी

पोखरा १४ असोज । पर्वत जिल्लाको चित्रे–६, धारापानीकी पवित्राकुमारी गुरुङको घरबाट करिव दुई सय तोला सुन र २५ लाख रुपियाँ नगद चोरी भएको छ ।
गत बिहीबार विहान १ बजे नकाब लगाएर आएका हतियारधारी समूहले सो धनमाल लुटेर लगेको ६१ वर्षीय पवित्राले जानकारी दिईन ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पनि लुटपाट र चोरी भएको पुष्टि गरेको छ । प्रहरी निरीक्षक श्यामु अर्यालका अनुसार कति चोरी भएको हो भन्ने बारेमा एकिन नभए पनि लुटपाट भएको पुष्टि गरेका छन् ।
घटना स्थल पुगेको प्रहरी टोलीका अनुसार लुटपाट भएको घर नजिकै करिव ७ तोला सुनका गहना फालिएको अवस्थामा फेला पारेको थियो । प्रहरीले करिब ६० तोला सुन चोरी भएको हुन सक्ने अनुमान गरेको छ ।
लुटपाट गर्ने क्रममा हतियारधारी समूहले पवित्राका छोरा र छोरीलाई खुकुरी समेत प्रहार गरेरका थिए । खुकुरी प्रहार पछि घाईते उनीहरुलाई हातखुट्टा बाँध्नुका साथै मुखमा बुझोसमेत लगाइदिएको पीडितहरुको भनाई छ ।
एक्कासि हतियार सहित घरमा प्रवेश गरेको समूहले धनमाल र गरगहना कहाँ छ भनी लुटपाट गरेको पवित्राकी छोरी बृन्दाले जानकारी दिइन् ।
सुनका वाला, यार्लिन, ११ तोलाको सिक्री, रिङ, औठीलगाएत दुई सय तोला सुन र २५ लाख नगद लुटपाट भएको पीडितहरुको भनाई छ ।
लुटेराको खुकुरी प्रहारबाट घाईते पवित्राको पोखराको चरक अस्पतालमा उपचार भइरहेको छ । पवित्रालाई आज विहान २ बजे मात्रै अस्पताल भर्ना गरिएको हो ।
पीडित पवित्राका पति शिवशरण गुरुङ बेलायती सेनाका पेन्सनवाला हुन् ।

प्रतिक्रिया