चीनका मो यानलाई नोबेल साहित्य पुरस्कार

एजेन्सी : चिनियाँ आख्यानकार मो यानले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । दर्जनौँ कथाकृति र उपन्यास लेखेका बहुआयामिक सर्जक ५७ वर्षीय मो यानको पहिलो कथाकृतिचाहिँ सन् १९८१ मा प्रकाशित भएको थियो । नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले उनका रचनामा ‘भ्रमपूर्ण यथार्थ लोककथा, इतिहास र समकालीन समयसित अन्तरघुलित भएर प्रकट भएको हुन्छ’ भन्दै प्रशंसा गरेको छ ।
मो यान नोबेल साहित्य पुरस्कार पाउने पहिलो चिनियाँ हुन् । त्यसो त चीनमा जन्मेका गाओ जिङियानले सन् २००० मा यो पुरस्कार पाएका थिए तर उनी फ्रेन्च नागरिक हुन् । गत वर्ष एकजना स्विडिस कवि टमस ट्रान्सट्रोमरले पाएको यो प्रतिष्ठित पुरस्कार पाउने मो यान १०९औँ साहित्यकार हुन् ।
नोबेल फाउन्डेसनद्वारा प्रदान गरिने ८० लाख क्रोनर (७ लाख ४१ हजार पाउन्ड) राशिको यो पुरस्कार केवल जीवित लेखकलाई मात्र दिइन्छ ।
चीनको उत्तरपूर्वी भागमा अवस्थित सादोङ प्रान्तको गाओमीको किसान परिवारमा जन्मेका मो यान १२ वर्षको उमेरमा सांस्कृतिक क्रान्तिको समयमा विद्यालय छाडेर कृषिमा लागेका थिए । पछि उनले कारखानामा काम गरे । उनी सन् १९७६ मा पिपुल्स लिबरेसन आर्मी (जनमुक्ति सेना)मा भर्ना भए र साहित्य अध्ययन गर्न र लेख्न थाले ।
न्वारनको नाम गुआन मोये भए पनि उनले लेख्न थालेपछि ‘पेन नेम’ मो यान राखे, चिनियाँ भाषमा जसको अर्थ हुन्छ– न बोल । उनले जनमुक्ति सेनामा सिपाहीका रूपमा कार्यरत छँदै लेख्न थालेका थिए र त्यही क्रममा सन् १९८७ मा प्रकाशित ‘रेड सोर्घम : अ नोभेल अफ चाइना’ ले उनलाई अन्तर्राष्ट्रिय प्रसिद्धि दिलायो । उनकै जन्मथलो पूर्वी चीनको गाउँले इलाकामा भएको क्रूर हिंसाको कथा बयान गर्ने त्यो पुस्तकमा बनेको फिल्मले अर्को वर्ष बर्लिन फिल्म फेस्टिभलमा गोल्डेन बियर पुरस्कार प्राप्त गरेको थियो । उनका अन्य बहुचर्चित पुस्तकमा रिपब्लिक अफ वाइन, लाइफ एन्ड डेथ आर वियरिङ मी आउट र बिग ब्रेस्ट्स एन्ड वाइड हिप्स आदि छन् । पछिल्लो किताब १९९५ मा प्रकाशित हुँदा चीनमा ठूलो विवाद उठेको थियो किनभने यसमा चिनियाँ कम्युनिस्ट पार्टीको लाइनभन्दा विपरीत यौनप्रकरण र वर्गसंघर्षलाई चित्रित गरिएको छ । एक दशकपछि यो किताब अंग्रेजीमा उल्था भई प्रकाशित भएपछि उनी ‘मान एसियन लिटरेरी प्राइज’का लागि मनोनयनमा परेका थिए ।

प्रतिक्रिया