सहमतिको भाका सार्दै दाहाल युरोपतिर

काठमाडौं, २६  असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टी कामका साथै कूटनीतिक भेटका लागि युरोप भ्रमणमा गएका छन् । राष्ट्रपतिसमक्ष असोज मसान्तभित्र सहमति जुटाइसक्ने प्रतिबद्धता जनाए पनि अध्यक्ष दाहाल भाका सार्दै बिहीबार राति सवा ९ बजे इत्तेहाद एयरलाइन्सको जहाज चढी बेल्जियमतर्फ गएका हुन् ।
बेल्जियम जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग अध्यक्ष दाहालले संविधानसभा पुन:स्थापनाको पहल सकारात्मक दिशामा अघि बढेको जानकारी दिँदै आफू फर्किएपछि सहमति जुटाउने बताए । बिहीबार मात्रै एमाले अध्यक्ष झलनाथ खनालसँग भएको भेटवार्ता पनि सकारात्मक भएको दाबी उनले गरे ।
दाहाल युरोप गएसँगै असोजसम्ममा गर्ने भनिएको सहमतिको भाका पनि पर सरेको छ । दाहालले यसअघि नै असोजभित्र सहमति नजुट्ने उल्लेख गर्दै तिहारसम्म सहमति गर्नुपर्ने बताएका थिए । उनले कांग्रेसका शीर्ष नेताहरूसँगको भेटमा भ्रमणमा निस्कने सम्झौता गरेको बताएका थिए । कांग्रेसका शीर्ष नेताहरू पनि काठमाडौंबाहिर छन् ।
पार्टीको विदेश विभागका अनुसार पाँचदिने भ्रमणका क्रममा दाहाल २७ असोजदेखि दुई दिन ब्रसेल्समा हुने जनप्रगतिशील मञ्च युरोपको तेस्रो सम्मेलनमा सहभागी हुनेछन् । युरोपका २७ देशबाट सात सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा दाहालले राजनीतिक प्रशिक्षण दिनेछन् । त्यसपछि २९ असोजमा उनले युरोपेली संसद्मा नेपालको संक्रमणकालीन राजनीतिका विषयमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ ।
३० गते युरोपेली आयोगको कार्यक्रमलाई सम्बोधन गरेर उनी १ कात्तिकमा फर्कने कार्यक्रम रहेको विदेश विभाग सदस्य युवराज चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार दाहाल लेभेम विश्वविद्यालयको कार्यक्रममा पनि सहभागी हुनेछन् । दाहालको भ्रमण दलमा संगठन विभाग प्रमुख कृष्णबहादुर महरा, चौलागाईं र सहयोगी शिव खकुरेल सहभागी छन् । विदेश विभाग प्रमुख राम कार्की यसअघि नै युरोप गइसकेका छन् ।

महाधिवेशनको कार्यविधि रोकियो
एमाओवादीले महाधिवेशनको कार्यविधि दाहाल फर्किएपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमाओवादी पदाधिकारी र संगठन विभागको बिहीबार बिहान बसेको बैठकले केही कुरा मिलाउन बाँकी रहेकाले अध्यक्ष फर्किएपछि मात्रै कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको पार्टी सचिव पोष्टबहादुर बोगटीले जानकारी दिए ।
एमाओवादीले महाधिवेशन कार्यविधि सार्वजनिक गर्ने भने पनि अन्तिम रूप दिन सकेन । एमाओवादीले १४ माघदेखि महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । दाहालको अनुपस्थितिमा अन्य दलसँग वार्ता गर्न एमाओवादीले उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया