राजनीतिको आडमा शिक्षक नेताको मनपरी

सुर्खेत, २६ असोज । विद्यालयमा नियमित उपस्थित भई पढाउनेभन्दा पनि दलगत राजनीतिलाई बढावा दिन जिल्लास्थित विभिन्न संघसंगठनका नेता शिक्षकले राजनीतिक शक्तिको दुरुपयोग गर्दै सदरमुकाममा रहेका विद्यालयमा वर्षांैदेखि काज मिलाएर बसिरहेको रहस्य खुलेको छ ।
विभिन्न राजनीतिक दलका भ्रातृसंगठनका रूपमा रहेका नेपाल शिक्षक संघ, शिक्षक संगठन तथा अखिल नेपाल शिक्षक संगठनका जिल्लास्थित अध्यक्षदेखि केन्द्रीयस्तरका नेता शिक्षकको स्थायी दरबन्दी एकातिर भए पनि राजनीतिक पावरमा वर्षौंदेखि सदरमुकाममा रहेका विद्यालयमा काज मिलाई दलगत राजनीतिमा संलग्न भएको रहस्य खुलेको हो ।
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष तीर्थजंग शाहीको दरबन्दी कोपिला मावि पर्सेनीमा भए पनि ०६७ सालदेखि काजमा
वीरेन्द्रनगर–१० स्थित निमावि खजुरामा कार्यरत छन् । शाही यसअघि सोही विद्यालयमा काजमा कार्यरत भए पनि कोपिला मावि पर्सेनीको विद्यालय व्यवस्थापन समितिले फिर्ता बोलाएको थियो । तर, विद्यालयमा नियमित पढाउनेभन्दा पनि राजनीतिमा बढी सक्रिय हुन थालेपछि विद्यालय व्यवस्थापन समितिले नै उनलाई काजमा खजुरा पठाएको स्रोतको दाबी छ ।
यस्तै नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्यायको स्थायी दरबन्दी खाँणदेवी उच्चमावि साटाखानी हो । तर, ०६७ सालदेखि उनी पनि काजमा निमावि खजुरामा कार्यरत छन् । घरपायक पर्ने र सदरमुकाममा दलगत राजनीति गर्न पनि सजिलो हुने भएपछि उनले २ वर्षदेखि काज मिलाएर बसेका हुन् । त्यस्तै
नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य रघुवीर विश्वकर्मा पनि राजनीतिक पावरमा काज मिलाई वर्षांैदेखि दरबन्दीभन्दा फरक आफ्नै घरपायक विद्यालयमा कार्यरत छन् । उनको स्थायी दरबन्दी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नेटामा भए पनि ०६७ सालदेखि सदरमुकामनजिकै रहेको प्रभात मावि कोलडाँडामा कार्यरत छन् ।
नेता शिक्षक विद्यालयमा पढाउनेभन्दा राजनीतिमा नै बढी सक्रिय हुने भएपछि विद्यालय व्यवस्थापन समितिले पनि काजफिर्ताका लागि पहल नै नगर्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म अत्यन्त न्यून शिक्षकको मात्र काजफिर्ताका लागि विद्यालय व्यवस्थापन समितिले पहल गरेका छन् । प्रावधानअनुसार विशेष परिस्थितिमा बढीमा ३ महिनासम्म दरबन्दीभन्दा फरक विद्यालयमा काजमा बस्न सकिन्छ । तर, शिक्षकका अधिकारको संरक्षण गर्ने भन्दै गठन भएका शिक्षक संघ तथा संगठनका जिम्मेवार व्यक्ति नै राजनीतिको आडमा प्रावधानविपरीत वर्षांैसम्म काजमा बसिरहेका छन् । यसरी स्थायी दरबन्दीका शिक्षक काजमा अन्यत्र विद्यालयमा कार्यरत हुँदा कतिपय विद्यालयले भने शिक्षक अभावको समस्या झेलिरहेका छन् । विद्यार्थीसंख्याको अनुपातमा शिक्षक अभाव हुँदा स्थानीय स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता रहेको अभिभावकको गुनासो छ ।
नेता शिक्षक मात्रै होइन, विभिन्न राजनीतिक दलका नेतानिकटका शिक्षक पनि लामो समयदेखि काजमा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार विभिन्न राजनीतिक दलनिकट करिब ४ दर्जन शिक्षक ५/६ वर्षदेखि काजमा सदरमुकाम र घरपायक विद्यालयमा कार्यरत छन् । काजमा रहेका अधिकांश शिक्षक जिल्लास्थित विभिन्न राजनीतिक दलका नेताका पत्नी, भाइ, बुहारी तथा अन्य आफन्त रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्रै १७ शिक्षक काजमा बसेका छन् । निमित्त शिक्षा अधिकारी दीपा हमाल शिक्षकको काजसरुवाको अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएर पनि यस्तो समस्या देखिएको बताउँछिन् ।

प्रतिक्रिया