अपहरणकारी भनिएकी युवती नै ‘पीडित’

काभ्रे, २६ असोज । सशस्त्रको राजस्व गस्ती टोलीले बुधबार मुक्त गराएकी बालिकासँगै रहेकी एक युवती आफै पीडित भएको रहस्य खुलेको छ । दुवैजनालाई सामान्य लेनदेनमा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो ।
धुलिखेल नगरपालिका–७ घर भएका राजेन्द्र विककी ५ वर्षीया छोरी विनितालाई सिन्धुपाल्चोक फुल्पिङकट्टी–४ की १८ वर्षीया अञ्जु श्रेष्ठले अपहरण गरेर बन्धक बनाएको सूचनाका आधारमा राजस्व गस्ती टोली सशस्त्र प्रहरीले उद्धार गरेको थियो । ‘विनिता र अञ्जु दुवैलाई बन्धक बनाइएको हुन सक्छ, अनुन्धान हुँदै छ,’ जिल्ला प्रहरी प्रमुख एसपी गीता उप्रेतीले भनिन् । उनीहरू दुवैलाई धुलिखेल–७ का नारायण दाहालको घरबाट डेरामा बसिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई धुलिखेलमा बुझाएको थियो । महिला सेल प्रमुख असइ कल्पना सापकोटाले घटनामा संलग्न दोषीको खोजीकार्य भइरहेको र अनुसन्धान गरिरहेको बताइन् ।
स्थानीयले अञ्जुले नै विनितालाई अपहरण गरेको अनुमान गरेको भए पनि घटना त्यस्तो नभएको अनुसन्धानबाट खुलेको छ । घटना विवरणअनुसार अञ्जुको दाइ दुई बहिनीका साथ बुबा र आमा लिएर चितवनको नारायणघाटमा २५ चैत ०६८ मा सिन्धुपाल्चोकबाट निस्किएका थिए । दाइ भरतपुर नगरपालिकामा काम गर्न लागेपछि जेठसम्म उतै निर्माणको काममा संलग्न भएकाले अञ्जुको परिवार बनेपाको बुडोलमा डेरा लिएर बस्न थालेको हो । ५ छोरी र एक छोरा भएका अञ्जुका बुबा होमबहादुरले साना दुई छोरीलाई बनेपाकै बुडोलमा रहेको भक्तेश्वरी निमाविमा भर्ना गरिदिएका थिए । कक्षा ५ पढेर छाडेकी अञ्जु बाबुआमासँग घर निर्माण कार्यक्रममा जान थालिन् ।
४ असोजमा अञ्जुले श्रीखण्डपुर घर भएकी सविना विकसँग छुट्टै डेरा लिएर बस्ने सल्लाह गरिन्् । सविना र अञ्जु दुवै एउटै ठेकेदारसँग घर निर्माणको काम गर्दै आएका थिए । ‘दुवै घरमा नबस्ने, डेरा लिएर काम गरेर बसौँ भनिन् र त्यही दिन धुलिखेलको २८ किलोस्थित नारायण दाहालको घरमा मासिक ६ सय रुपियाँ तिर्ने गरी डेरा भाडामा लियौँ,’ अञ्जुले भनिन्् । दैनिक २ सय ७५ रुपियाँ ज्याला लिने गरेकी अञ्जुले बचेको रकम घरमा दिने गरेकी थिइन् । एउटी दिदीको विवाह भए पनि अर्की दिदी विदेश गएकी छन् । साइँली छोरी अञ्जुले परिवारको रेखदेखमा सहयोग गरेकी थिइन् । डेरामा बस्दा उनीहरूले केही उधारो रासन खाएका थिए । ‘सविनाले दोलालघाट घर भएका विजय परियार र कुमार परियारसँग ५ सय रुपियाँ सापटी लिएकी रहिछन्,’ अञ्जुले भनिन् ।
गाडी चलाउँदै आएका विजयलाई पहिल्यै चिनेको भए पनि अञ्जुले कुमारलाई चिनेकी थिइनन् । २१ असोजमा सविनाले आफू घर छाडेर कोठामा नबस्ने बताएपछि अञ्जु पनि बुबाआमा भएकै स्थानमा जाने निधो गरिन् । ‘सविनाले आफ्नो घरमा भाउजुको ब्लड क्यान्सरका कारण निधन भएकाले उनैबाट जन्मेका दुई छोरी साना छन्, तिमीले तिनीहरूको रेखदेख गरिदेऊ न त † भन्दै आफ्नै घर जान कर गरिन्,’ सविनाको भनाइ उद्धृत गर्दै अञ्जुले भनिन् । अञ्जुले भनिन्, ‘सविनाको घरमा गएपछि साँझ उनका दाजु राजेन्द्र विक आए । राजेन्द्र र मलाई सविनाले नै चिनजान गराइन् । उनीहरूको अर्काे एउटा भाइ पनि रहेछ । बेलुका खाना खाएर राजेन्द्र घरबाहिर गयो । मलाई सविनाले तिनै दुई छोरीका साथ एउटा कोठामा सुताइदिए । उनीहरू अर्कै कोठामा गएर सुते ।’
अञ्जुले थपिन्, ‘राति राजेन्द्र कतिखेर आएर म सुतेको खाटमा सुतेछ पत्तै भएन । एक्कासि मेरो सुरुवाल खोलेर कुर्था माथि फर्काएपछि म ब्युँझिएर चिच्याउन खोजँे । उसले मुख थुनिदियो । ‘कराइस् भने…’ भन्दै जबर्जस्ती ममाथि चढयो । केहीबेरपछि म बेहोस भएँछु । होसमा आउँदा म सर्वांग थिएँ । बिहानीपख चिसोले म ब्युँझिएँछु । के गरेको † भन्दै थिएँ, उसले फेरि ममाथि आक्रमण गरिरहयो । तीनपटक म उसको सिकार भएँ । छोरीहरू सानै भएकाले केही पत्तो पाएनन् । म रुन थालेपछि उसैले मेरी श्रीमतीको तिलहरी छ । हामी विवाह गरेर काठमाडौंमा बस्ने, सुन टन्नै किनिदिन्छु भन्दै फकाउन थाल्यो । काठमाडौं जान्न भन्दा पनि उसले एकोहोरो यो कुरा कसैलाई नभन्नू भन्दै फकाइरहयो । ऊ आफै पनि ढलान गर्न जाने रहेछ ।’
अञ्जुले पीडा पोखिन्, ‘मलाई साह्रै गाह्रो भयो । २२ असोजमा दिउँसो उनीहरू दाजुबहिनी र म डेरामा आयौँ । हाम्रो पछि लागेर सानी छोरी विनिता पनि पछिपछि आई । कोठामा आउँदा सापटी लिएको रकम, उधारो रासन र डेराभाडा तिर्नुपर्ने भयो । उनीहरूले भागौँ भने । मैले सबै पैसा तिर्नुपर्छ भनेँ । विवाहपछि उनीहरू राति ८ बजे मलाई त्यहीँ छाडेर मेरोसमेत कपडा लिएर भागे । मसँगै आएकी ३ वर्षकी विनिता जान मानिन । विजय र कुमारले पनि पैसा नतिरी जान पाउँदिनस् भनेर ढोकामा बाहिरबाट चुकुल लगाइदिए । त्यो रात हामी केही नखाई बस्यौँ । कताबाट दिने पैसा ? थुनेर राखेपछि कोसँग मागेर ल्याउने पैसा ? २३ असोजमा बिहानै हामीलाई कोठामा बाहिरबाट छेस्किनी लगाएर उनीहरू काममा गएछन् । बेलुका एकैपटक आएर ढोका खोलिदिए । दिनभरि कोठामा गरिब हुनुको पीडाले चिन्तित भइरहेँ । आत्महत्यासमेत गर्न खोजेकी थिएँ । साथमा सानो बच्चा भएर आँट आएन ।’
‘यता मैले अपहरण गरेको भनेर प्रहरीमा उनै राजेन्द्रले उजुरी बोकेर हिँडेछन् । २४ असोजमा कसले प्रहरीलाई सूचना दिएछ र म मुक्त भएँ । अहिले राजेन्द्र, सविना, विजय र कुमार सबै फरार छन् । मैले बच्चा अपहरण गरेको भए उनीहरू मेरो अगाडि आएर भन्न सक्नुुपर्‍यो नि † मेरो उद्देश्य के थियो ? अबोध बालिकालाई योजना बनाएर घरमा पत्नीजस्तै बनाएर यौनशोषण गर्ने अनि त्यो खुल्ने डरले बालिका अपहरण गरेको भनेर नाटक गर्ने ? सत्य आफै खुल्छ । राति जबर्जस्ती गरेपछि राजेन्द्रले मेरो मोबाइलसमेत खोसेर सिम आफैले लिएर गएको छ,’ अञ्जुले भनिन् ।

प्रतिक्रिया