भ्रष्टाचार देशका लागि दुर्भाग्य

उच्च सरकारी तहमा रहेका व्यक्तिहरू धमाधम भ्रष्टाचारी प्रमाणित हुनुले मुुलुकको भविष्य कता जाँदै छ भन्ने कुरा अब बताईरहनु पर्दैन । भ्रष्टहरूद्वारा शासित यो मुलुक अब इतिहासको कठघरामा दुईटा पहिचानले विश्व सामु सधैँ चिनिरहने छ । पहिलो यहाँ मौलाएको विलासी राजनीतिरूपी जागिरको आवरणमा भ्रष्टाचाररूपी अफिमको खेती निर्वाध गरिन्छ जसलाई जनप्रतिनिधि नामका पाखण्डीहरूले सुरक्षा कवच दिइरहेका हुन्छन् । दोस्रो, हाम्रो प्यारो मातृभूमीलाई कुरूप पार्ने राजनीतिरूपी नसा पिएका व्यक्तिहरू पद र पैसाको लागि जे जस्तो तिकडम गर्न पनि पछि पर्दैनन् जहाँ नैतिकता भन्ने शव्द नै रहदैन ।
ज्ञानेन्द्रको शासनकालमा जे जतिलाई भ्रष्टाचारको अभियोग लागाईएको थियो त्यसपछिका दिनहरूमा कसैलाई पनि भ्रष्टाचारको मुद्दा नचलाईनुबाट हामीले सहजै अनुमान गर्न सक्छौँ कि अरूलाई दोषी प्रमाणित गराएर त्यसैको सेरोफेरोमा मुलुकलाई केन्द्रित गर्न पाईयो भने आफू सहजै चोखिन सकिन्छ भन्ने विचारबाट मुलुकलाई बन्धक बनाईदै छ । मुख्य विषयबाट समयलाई विषयान्तर गर्न सकियो भने आफू सहजै उम्किन सकिन्छ भन्ने सोच अहिले नेपालको राजनीतिमा हावी भएको देखिन्छ । यदि त्यसो होइन भने किन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वशक्तिमान बनाइँदैन ? किन समयमै त्यसका आयुक्तहरू नियुक्ति गरिँदैनन् ? भ्रष्टाचारका मुद्दालाई किन चाँडो किनारा लगाइँदैन ? किन कर्मचारीतन्त्रभित्र हुने भष्टाचारलाई सधैँ छाँयामा पारिन्छ ? किन जनउत्तरदायी व्यवहार नगर्ने र जवाफदेहिता नभएका कर्मचारीलाई कारवाही गरिँदैन ? किन भन्सार र कर कार्यालयमा जान चाहनेहरूको नियतलाई अध्ययन गरिँदैन ? किन सधैँ गृह, स्थानीय विकास, आवास तथा भौतिक योजना तथा उर्जा जस्ता माल आउने मन्त्रालयमा मात्र जान चाहने फटाहाहरूलाई अनुसन्धान गरिँदैन ? नपढाई तलव खाने, वालवालिकाको भविष्यमाथि खेलवाढ गर्ने र नेताका गुलामी गर्ने शिक्षकहरूलाई किन स्पष्टिकरण सोधिँदैन ? उनीहरूलाई बरखास्त नगरिनुको पछाडि कसको हात छ ? किन हाकाहाकी घुस माग्ने ट्राफिक प्रहरीहरूलाई जागिरबाट हात धुन लगाइँदैन ? किन मुलुकको एकमात्र ध्वजाबाहकलाई कंगााल बनाउने मतियारलाई जनताको कठघरामा ल्याइँदैन ? मानव तस्करहरू किन अहिलेसम्म सजायको भागिदार बन्दैनन् ? किन अपराध गर्नेहरूले अमुक राजनीतिक दलको सदस्यताको टिकट लिँदै आमजनतामाथि खुलेआम दमन गर्न पछि पर्दैनन् ? किन बनेको दुई महिना पनि नपुग्दै बिग्रने सडक बनाउने “कुवेर” इञ्जिनियर भनाउँदाहरूलाइ कारवाही गरिँदैन ? किन यिनीहरूको जीउमा नुन चुक दलिँदैन ? यी र यस्ता धेरै प्रश्नहरू अहिले हाम्रा सामु अनुत्तरित छन् जसलाई सम्वोधन गर्ने हिम्मत आज कसैमा देखिँदैन ?
भ्रष्टाचारीलाई न्यायिक कठघरामा ल्याउने न्यायालय स्वयंलाई अहिले अनुसन्धान गर्नु पर्ने टड्कारो आवश्यकता देखिएको छ । न्यायालय पूर्वाग्रही र टेबुलमुनीबाट गरिने हर्कतबाट आग्रहित छ भन्न अब हिचकिचाउनु पर्दैन । होला व्यक्तिपिच्छे धारणा फरक होलान् । यसमा कसैको बिमती रहन सक्दैन तर किन धेरै जसो यस्ता मुद्दाहरूमा विशेष अदालतदेखि नै समान धारण बन्दैन ? यदि व्यक्ति भ्रष्ट हो भने किन सुरु अदालतदेखि नै ब्यक्तिलाई न्यायको आँखामा भ्रष्ट देखिँदैन ? के यस्तो द्वैध चरित्रको न्याय सम्पादनमा त्यहाँ चलखेल भएको छैन भनेर हामीले गर्वसाथ भन्न सक्छौँ ? यसरी न्यायालयलाई आफ्नो ठगी खाने भाँडो बनाउने न्यायाधीशलाई खै कारवाही गरिएको ? के जे मन लाग्यो सोहि र आफू अनुकूल निर्णय गर्ने विशेषाधिकार ‘माननीय’ न्यायाधीश साहेवहरूलाई हाम्रो न्याय प्रणालीले प्रदान गरेको छ ? यदि छैन भने यस्तो गैरजिम्मेवार व्यवहार गर्ने न्यायाधीशलाई छिटोभन्दा छिटो कारवाही गर्नुपर्छ । यदि उनीहरूलाई दण्डको भागिदार नबनाइने हो भने आम नागरिकले शान्ति, न्याय र अमैनचैनको सास फेर्न पाउने छैनन् । न्यायको आँखामा न्यायकर्मी चाहिँ न्यायिक मर्यादाभन्दा माथि रहन्छन भन्ने सिद्धान्त अहिलेसम्म प्रतिस्थापित भएको हामीले पढेका र देखेका छैनौँ । न्याय सबैका लागि समान हुनुपर्छ भन्ने मान्यतामा हामी रत्तिभर डगमगाउन सक्दैनौँ त्यसैले रविन्द्रनाथ शर्मा, जयप्रकाश, खुमबहादुुर, चिरञ्जीवि वाग्ले जस्ता भ्रष्टलाई मात्र यहाँ भ्रष्ट प्रमाणित गरेर हाम्रो मुलुक बन्नेवाला छैन । अब, मुलुकलाई कंगाल बनाउने असंख्य छद्मभेषी व्यक्तिलाई पहिचान गरी सबैलाई अदालतको कठघरामा उभ्याउन अब ढिलाई गर्नु हुँदैन । समयमै निसाफ नदिनु र भ्रष्टहरूलाई लामो समयसम्म खेल्ने अवसर दिनु आफँैमा अर्को भ्रष्टाचार हो जुन आम नेपालीको लागि क्षम्य हुनेछैन ।

प्रतिक्रिया