‘गुरु–चेला’को दोहोरी

काठमाडौं, २५ असोज । एकीकृत माओवादी र नेकपा–माओवादीका नेताहरूले पार्टी विभाजनसँगै आरोप–प्रत्यारोपलाई तीव्रता दिएका छन् । बुधबार त झन् विगतमा गुरुचेलाको सम्बन्धमा रहेका
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नै आरोप–प्रत्यारोप चल्यो । बुधबार फरक–फरक मञ्चबाट वैद्य र दाहालले आ–आºनो कार्यदिशाको बचाउ मात्र गरेनन्, अर्काको खैरो नै खने ।
दाहालले गणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले आयोजना गरेको चियापान कार्यक्रममा वैद्य नेतृत्वको माओवादीलाई व्यंग्य गरे भने जनस्वयंसेवक ब्युरोको सम्मेलन उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष वैद्यले दाहाल नेतृत्वको माओवादीविरुद्ध भाषण गरे । लामो समयदेखि गुरुचेलाको सम्बन्धमा रहँदै आएका वैद्य र दाहालले पार्टी विभाजन भए पनि आरोप–प्रत्यारोपमा नउत्रिने समझदारी गरेका थिए ।
‘केही समयअघि छुट्टिएर गएका साथीहरूले जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँडेजस्तो गर्न थाल्नुभएको छ,’ दाहालले भने, ‘विचार नमिलेपछि छुट्टिनैपर्छ तर अहिले छुट्टिने बेला होइन भन्दाभन्दै छुट्टिनुभो । सबै कुरा पाउन नसकिए पनि सबै गुमाउनु अवैज्ञानिक हो । प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि क्रान्ति गर्ने हाम्रो कार्यदिशा नै वैज्ञानिक छ ।’
दाहालले संविधानका विवादित विषयलाई निर्वाचित संसद्ले टुंग्याउने गरी मिलेका विषय समेटेर संविधान घोषणा गर्नु नै उत्तम र वैज्ञानिक विकल्प भएको धारणा दोहोर्‍याए । केही समयदेखि संविधानसभा पुन:स्थापनाका पक्षमा पहल गर्दै आएका उनले कांग्रेससँगको छलफलमा मिलेका विषय समेटेर संविधान घोषणा गर्न सकिने प्रस्ताव गरेका थिए ।
वैद्यले दाहाल नेतृत्वको माओवादीलाई नयाँ दलालको संज्ञा दिए । ‘प्रचण्ड–बाबुरामहरूमा सत्ताको उन्माद छ,’ वैद्यले भने, ‘सत्ता उन्मादकै कारण जनयुद्धको इतिहासलाई बिर्साएर बेपत्ता परिवारमाथि दमन गरियो ।’
उनले राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेच सम्मेलन सबैभन्दा उत्तम विकल्प भएको धारणासमेत व्यक्त गरे । एमाओवादी सत्तालिप्सामा अल्झिएको र कांग्रेस–एमाले सत्ताको आसमा रहेकाले अहिलेको विकल्प गोलमेच सम्मेलन मात्रै भएको उनको भनाइ थियो ।
माओवादीले राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीविकाका मुद्दामा आन्दोलनका लागि भन्दै युवा दस्ता निर्माण थालेको छ । जनस्वयंसेवक ब्युरोको पहिलो सम्मेलनले युवा दस्ता निर्माण गर्नेछ । सम्मेलनमा देशभरबाट सात सय प्रतिनिधि सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया