दाहालको प्रस्तावलाई औपचारिकता

काठमाडौं : एमाओवादीले मिलेका विषय समेटेर नयाँ संविधान जारी गर्नका लागि पहल गर्ने भएको छ ।
बुधबार बसेको पार्टी पदाधिकारी तथा संगठन विभागको बैठकले मिलेका विषय समेटेर संविधान घोषणा गर्ने र नमिलेका विषय टुंग्याउने जिम्मा निर्वाचित संसद्लाई दिने प्रस्ताव पारित गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले मंगलबार मात्र यसअघि सहमति भएका बुँदालाई अन्तिम रूप दिई संविधानसभा पुन:स्थापनामार्फत नयाँ संविधान जारी गर्ने र नमिलेका विषय निर्वाचित संसद्लाई जिम्मा दिन सकिने अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै पार्टीले त्यससम्बन्धी औपचारिक निर्णय गरेको हो ।
‘अहिलेको संकट समाधानका लागि वैज्ञानिक प्रस्ताव तयार पारेका छौँ,’ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यो प्रस्ताव पनि अस्वीकार गर्नु भनेको १२ बुँदे सहमतिको यात्रालाई रोक्नु हो । संघीयता, गणतन्त्र र नयाँ संविधानविरुद्ध षड्यन्त्र गर्नु हो ।’
दाहालले दुई सातायता संविधानसभा पुन:स्थापनाको पहल तीव्र बनाएका थिए । दाहालको पहललाई एमाओवादीले औपचारिकता दिएको हो । आफूहरूले जोखिम उठाएर शान्तिप्रक्रियाको महत्त्वपूर्ण पक्ष सेना समायोजनलाई टुंग्याएको उल्लेख गर्दै दाहालले अब संविधान पनि टुंगिनुपर्ने बताएका छन् । ‘जुन रूपमा भए पनि सेना समायोजनको काम टुंगिएको छ अब संविधानको काम किन नटुंग्याउने ?’ बुधबार एक कार्यक्रममा उनले भने, ‘मिलेका विषय समेटेर संविधान घोषणा गरी निर्वाचनमा जाँदा जनतामा आत्मविश्वास र पार्टीहरूमा नैतिक धरातल बलियो हुन्छ ।’
बैठकमा महाधिवेशनको कार्यविधिका विषयमा पनि छलफल भएको थियो । आगामी माघमा हुने महाधिवेशनको कार्यविधिलाई बिहीबारको बैठकले अन्तिम रूप दिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । (सौस)

प्रतिक्रिया