एमाओवादीको महाधिवेशन कार्यविधि तयार

काठमाडौं, २४ असोज । आगामी माघ दोस्रो साता हुन लागेको महाधिवेशनका लागि एकीकृत माओवादीले कार्यविधि तयार पारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी र संगठन विभागको बैठकले माघमा हुन लागेको महाधिवेशनका लागि कार्यविधि तयार पारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
अन्तिम रुप दिईएको सो कार्यविधिलाई विहीबार पुनः बस्ने बैठकले सार्वजनिक गर्नुका साथै जिल्ला पठाउने निर्णय भएको सापकोटाले बताए ।
एमाओवादीको विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशन आगामी माघ–१४ गते देखि हुँदैछ ।
एमाओवादीले मुलुकमा राजनीतिक संकट गहिरिँदै गएको भन्दै दलहरूकाबीच वार्ता र छलफललाई तीव्रता दिनु पर्ने जनाएको छ । राजनीतिक निकासका लागि वार्ता र संवादलाई अगाडि बढाउने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।
कांग्रेस र एमाले राजनीतिक निकासका लागि भन्दा पनि सरकारलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेकाले सहमतिमा बाधा उत्पन्न भएको एमाओवादीको आरोप छ ।
एमाओवादीले दलहरूका बीच प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले पद नत्याग्ने निस्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया