नेपाली चलचित्रका १२ कमजोरी

द्वन्द्वनिर्देशक एनबी महर्जनले नेपाली चलचित्र क्षेत्रमा डेढ दशक बढी समय बिताइसके । द्वन्द्वनिर्देशनको व्यस्ततासँगै बेलाबखत उनी नेपाली चलचित्र उद्योगले चाहेजति प्रगति गर्न नसक्नुका कारणबारे पनि घोत्लिइरहँदा रहेछन् । उनी नेपाली चलचित्रक्षेत्रमा आफूले देखेका तिनै कमजोरी सौर्यसँग सुनाउँदै छन् :
राजनीतिक कारण : मुलुकको राजनीतिक अस्थिरताले नेपाली चलचित्रलाई सबैभन्दा बढी प्रभावित पारेको छ । बन्द–हडतालले आतंकित बनाएपछि दर्शक मनोरञ्जनको मानसिकतामा रहँदैनन् । चलचित्र हलसम्म जाने आँट गर्दैनन् । अर्कोतर्फ चलचित्र प्रदर्शन गर्‍यो, दुई–तीन दिनको लगातार हडताल र आन्दोलन सुरु हुन्छ । यसले गर्दा पनि नेपाली चलचित्र निष्फिक्री चल्ने वातावरण बनेको छैन ।

बोर्डमा स्थायित्व नहुनु : सरकारले स्थापना गरेको चलचित्र विकास बोर्डको नेतृत्व गर्ने व्यक्तिको स्थायित्व नहुनु पनि चलचित्र उद्योग खस्कँदै जानुको अर्को कारण हो । आवश्यक नीतिनियम बनाउने भनेर जति पनि अध्यक्ष आउँछन्, योजना अधुरै छाडेर जान्छन् । कारण– सरकार फेरिनेबित्तिकै अध्यक्ष पनि फेरिन्छ । पुरानो अध्यक्षको योजना त्यत्तिकै थन्किन्छ, नयाँ अध्यक्ष आफ्नै कसरतमा लाग्छ । फेरि, बोर्डमा प्रायजसो राजनीतिक नियुक्तिका भरमा चलचित्रबारे नबुझेका व्यक्ति आइदिन्छन्, जसकारण बोर्डले आफ्नो भूमिका राम्ररी निभाउन पाएन । यसका लागि बोर्डलाई स्वायत्तता दिई चलचित्रको हितमा योजना कार्यान्वयन गर्न सक्ने अध्यक्ष चाहिन्छ । चलचित्र निर्माण र प्रर्दशनको क्राइटेरिया छुट्याउनुपर्छ । अनियन्त्रित र अमर्यादित चलचित्र निर्माणमा अंकुश लगाउन सक्नुपर्‍यो ।

अव्यावसायिक र अपरिपक्व निर्माताको प्रवेश : पछिल्लो समय जति पनि निर्माता आएका छन्, अधिकांशलाई चलचित्रबारे ज्ञानै छैन । चलचित्र के हो, कसरी बन्छ, नाफाघाटा कसरी हुन्छ भन्नेबारे थाहै नपाई लहलहैमा करोडौँ कमाउने गफ सुनेर लगानी गर्ने निर्माता बढी छन् । उनीहरूका कारण न त चलचित्रक्षेत्रमा भएको लगानी सदुपयोग भएको छ न त व्यापार बढेको छ । कति निर्माता ग्ल्यामर फिल्डमा लगानी गरेर मोजमस्ती गरौँ भनेर पनि आउँछन् । चलचित्र जस्तो बनोस्, उनीहरूलाई कुनै मतलब हुँदैन । अनि कहाँबाट बनुन्, राम्रा चलचित्र । निर्माताले त बजारको माग अनि चलचित्रबारे राम्ररी बुझ्न सक्ने हैसियत राख्न सक्नुपर्छ । कम्तीमा कुन कलाकार, टेक्निसियन राम्रो छ, दर्शकले कसलाई मन पराउँछन् भन्ने ज्ञान निर्मातालाई हुनु जरुरी छ ।

चलचित्र वितरकको कमजोरी : चलचित्र क्षेत्र धराशयी हुँदै जानुमा चलचित्रका वितरक पनि कम जिम्मेवार छैनन् । वितरकहरू छानेर राम्रा चलचित्र मात्र चलाउनुको साटो जुनपायो त्यही चलाइदिन्छन् । छानेर राम्रा मात्र चलचित्रको वितरण गर्ने हो भने प्रदर्शन नहुने डरले नराम्रा चलचित्र बन्दै बन्दैनथे । यसले क्वालिटी बढाउँछ, नेपाली चलचित्रप्रति दर्शकको दृष्टिकोण सकारात्मक बन्छ । तर, हाम्रा वितरकहरू बढी कमिसन पाए भने सी ग्रेडका चलचित्र चलाउन पनि तयार देखिन्छन् । अर्कातर्फ वितरकहरू आपैँm जुधेरै एकैचोटि चार–पाँचवटा चलचित्र प्रदर्शनमा ल्याइरहेका छन्, यो पनि गलत हो । हप्तामा एउटा नेपाली चलचित्र हेर्ने दर्शक पाउन त मुस्किल हुँदै गएको अवस्थामा एकैचोटि पाँच चलचित्र कसले हेर्छ ? वितरकलाई त के भो र ? आखिर नचले पनि आफ्नो पैसा डुब्ने होइन । वितरकमा रहेको यो सोच चेन्ज हुनुपर्छ । राम्रो डेट पायो वा चलचित्र कम भयो भने प्रमोसनै नभएका चलचित्र प्रदर्शन गर्ने प्रवृत्तिले पनि लगानी असुरक्षित हुँदै गएको हो ।
हलवालाहरूको कमजोरी : हलवालाले नेपाली चलचित्र चलाएर मारामार कमाएका छन् भन्दिनँ म । तर, यो अवस्था आउनुमा हलवालाको पनि निकै कमजोरी छ । हलको वर्गीकरण भएन, जुनसुकै हलमा जस्तो पनि चलचित्र प्रदर्शनमा आए । टिकटको चार सय पर्नेदेखि ६० रुपियाँ पर्नेसम्मका हल छन् । चार सयमा पनि उही चलचित्र, ६० रुपियाँमा पनि उही । अर्काे कुरा हल सफासुग्घर छैनन्, बाहिरै ह्वास्स ट्वाइलेट गन्हाउने । कुनैमा मेच भाँच्चिएका, कुनैमा पार्किङको समस्या । दर्शकलाई तीन घन्टा बिताउनै धौधौ पर्ने हुन्छ हलको हालत । त्यसकारण सामान्य सुविधा पनि नभएका हल बन्द नै गर्नुपर्छ । फाइभ प्वाइन्ट, फाइभ साउन्ड सिस्टममा चलचित्र बन्छ तर हलमा त्यो सिस्टमै हुँदैन । एवान क्यामेराले छायांकन गरिन्छ तर हलमा त्यो प्रविधिलाई देखाउने प्रोजेक्सन हुँदैन । जति नै क्वालिटीमा चलचित्र बनाए पनि दर्शकले हेर्नै पाउँदैनन् ।

लेखन : पछिल्लो समयमा देखिएका एकादुई फरक कन्टेन्टबाहेक नेपाली चलचित्रले दर्शकलाई फरक स्वाद चखाउन सकेका छैनन्  । चलचित्र लेखकहरू अक्कलबिनाको नक्कल गर्नमै व्यस्त रहे, जसले गर्दा दर्शकले फरकपन पाउन सकेनन् । एकैखाले चलचित्र, कथावस्तु पनि उपयुक्त चयन गर्न नसकेको महसुस हुन्छ । विदेशी सिनेमाको ठाडै नक्कल गर्ने प्रवृत्ति । कुन चलचित्रबाट कपी गरिएको हो, दर्शकलाई सिधै थाहा हुन्छ । हेरिसकेकै जस्तो चलचित्र फेरि हेर्न दर्शक किन जाने † यसका लागि स्क्रिप्ट नै मौलिक हुनुपर्छ । अहिलेका चलचित्र त दर्शकले अब यो सिन पछि के हुन्छ, पहिल्यै अनुमान गर्न सक्ने खालका छन् । लेखकले आफूलाई सुधार्नुपर्छ । फेरि, यहाँ बढीजसो अध्ययनविनाका लेखक छन् । चलचित्र लेखनबारे आधारभूत अध्ययन गरेर आउनेहरू छैनन् ।

विदेशी चलचित्रको प्रभाव : विदेशी चलचित्रले पनि नेपाली चलचित्रलाई प्रभावित पारिरहेका छन् । रिलिज हुने डेट पनि एउटै छ । मल्टिप्लेक्स अर्थात् ठूला हलमा हिन्दी चलचित्र आउँछन्, नेपालीले प्राथमिकता पाउँदैनन् । नेपालीलाई थोरै सिटको हल छुट्याइन्छ । किनभने हिन्दी सिनेमा उनीहरूले ठुलै रकम तिरेर ल्याएका हुन्छन् । हलवाला नै हिन्दीका वितरक छन् । हिन्दी चलचित्र लागेका बेला राम्रा हल नपाउने भएपछि नेपाली चलचित्रको रिलिज पर सार्नुपर्ने हुन्छ । उपत्यका मात्र होइन, बाहिर पनि यही समस्या छ ।

छायांकन : छायांकनका लागि लोकेसन छान्न नसक्नु अर्को कमजोरी हो  । प्राय: चलचित्रको लोकेसन एउटै हुन्छ, स्टुडियो पनि एउटै । आर्थिक अवस्थाका कारण कतिपय राम्रा लोकेसनमा जान सकिएको छैन भने कतिपय अवस्थामा अरूले खिच्न हुने हामीले किन नहुने भन्दै एउटै ठाउँमा पुग्ने प्रवृत्ति छ । फेरि लोकेसन खोज्ने भन्दा जहाँ हुन्छ खिचेर चाँडै चलचित्र सक्ने ध्याउन्न हुन्छ । कथावस्तुले मागेको लोकेसन पाउँदैन । चलचित्र सम्पूर्ण रूपले सबल हुन पाउँदैन । फेरि चलचित्रकर्मीको व्यवहारले हो वा के हो, एकपटक छायांकनका लागि घरकम्पाउन्ड उपलब्ध गराउने मान्छेले दोस्रोपटक दिँदैन ।

कलाकार : कलाकारको सबैभन्दा ठूलो कमजोरी स्क्रिप्ट नहेर्नु हो । यहाँ थोरै कलाकारले मात्र कथावस्तु हेर्छन् । कलाकारलाई निर्देशक, निर्माता, प्राविधिक को–को छन् भन्दा पनि कहिले गर्ने, कति पैसा आउँछ भन्नेतिर ध्याउन्न हुन्छ । चलचित्र सक्न सबैभन्दा हतार पनि कलाकारलाई नै हुन्छ । एउटा सकेको छैन अर्को चलचित्रको काममा जान हतार । तनावरहित भएर राम्रो अभिनय गरौँ, चलचित्र राम्रो बनोस् भन्ने भावना होइन कि यति हतारहतार अर्को चलचित्रतिर लागिहाल्ने । यसले गर्दा काम र भूमिकाप्रति राम्ररी भिज्नै पाउँदैनन् कलाकार । फेरि अरूलाई नगन्ने समस्या उनीहरूमा छ । दुई–चार दिन अभिनय गरेपछि त्यो चलचित्रप्रति उनीहरूको कुनै दायित्व नै नभएजस्तो गर्छन् । प्रमोसनमा समय दिँदैनन् । त्यो गलत हो । कलाकारले खेलेर मात्र पुग्दैन, आफ्नो पनि परिचय बोक्ने चलचित्र राम्रो बनेको छ/छैन भनेर चनाखो हुनुपर्छ । नराम्रो भए रिसुटमा जान सक्ने वातावरण बनाउनुपर्छ । ताकि दर्शकले क्वालिटी पाउन सकुन् । फेरि अहिले नयाँको प्रवेशसँगै जस्ता पनि कलाकार आइरहेका छन् । अभिनय जान्नु छैन, ग्ल्यामरका नाममा विकृति भित्र्याउने दाउ तिनीहरूको हुन्छ । यो प्रवृत्ति निरुत्साहित हुनुपर्छ । पैसा र शरीरको सम्झौताभन्दा क्षमता बनाउनतिर लाग्नुपर्छ ।

मेकिङ : अहिले चलचित्र निर्माणमा आउने धेरैजसो आलाकाँचा छन् । नयाँ भित्रिनेहरू एकादुईलाई छाडेर अरू काम लाग्दैनन् । पढेर, सिकेर चलचित्रमै केही गर्छु भनेर आएकाहरू केही राम्रा पनि छन् । तिनीहरूबाट आश गर्न सकिने ठाउँ छ । तर, यहाँ क्षमता नभएकाहरू कोही निर्माता खोज्नतिर त कोही आफैँ पैसा हालेर चलचित्र बनाउने दाउ हेर्छन् । यसले गर्दा राम्रा चलचित्र बन्दैन । पैसा हालेर निर्देशक, हिरो बन्न चाहनेहरूले गर्दा क्वालिटी खस्किएको छ । ‘मुर्गा फसाएर’ निर्माता, निर्देशक अनि हिरो बन्ने प्रवृत्तिले चलचित्र कसरी उँभो लाग्छ ? मेहनतसाथ बनाएर राम्रो बन्थ्यो होला । तर, निर्देशकलाई सानले एक्सन–कट भन्न पाए पुग्यो, निर्मातालाई प्रचारप्रसार र सुन्दरी नजिकिए पुग्यो । फेरि गुणस्तरभन्दा पनि कसले थोरै लगानीमा छिटो चलचित्र बनाउने अनि रिलिज गरिहाल्ने भन्ने प्रतिस्पर्धा छ ।

प्रचारप्रसार : प्रचारप्रसार गर्ने शैली पनि सबै चलचित्रको एउटैखाले छ । पोस्टरदेखि लिएर टेलिभिजन प्रचार सबै दर्शक झुक्याउने खालका भए । पोस्टर अनि टेलिभिजन हेरेर हल पुग्ने दर्शक चलचित्र हेरेपछि खिन्न हुन्छन् । दोहोर्‍याएर नेपाली चलचित्र हेर्न जाँदैनन् । हलमा नेपाली चलचित्र रेगुलर हेर्ने दर्शकको आगमन घट्दो छ । फेरि जहाँ पायो त्यहीँ पोस्टर टाँस्ने र अर्काको पोस्टरलाई छोपिदिने गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्छ । भए नभएका कुराबाट चलचित्रलाई चर्चा दिलाउन जबरजस्ती स्क्यान्डल मच्चाउने प्रवृत्ति पनि छ, जसबाट दर्शक वाक्कदिक्क भएका छन् । चलचित्रको माउथ पब्लिसिटी हुने वातावरण मिलाउनुपर्छ । प्रचारप्रसारमा पनि आफ्नै शैली हुनुपर्छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया