रक्समा धराने दर्शकको उत्साह

धरान, २४ असोज । केही दिनदेखि धरानमा गर्मी बढेको थियो । तर, सोमबारका दिन धरानेहरूले सबै गर्मी बिर्सिए अनि सांगीतिक तालमा झुमिरहे । एनसेल रक्सले आयोजना गरेको रक सांगीतिक कार्यक्रममा धरानेहरूले लामो समयपछि रमाउने मौका पाएका हुन् । धरानमा केही समयदेखि सांगीतिक कार्यक्रम भइरहेका थिएनन् ।

युवादेखि बूढापाका र विद्यार्थीहरूको बाक्लै उपस्थिति रहेको कार्यक्रममा सुगम पोख्रेल, निमा रुम्बा, कमल खत्री, स्रेया सोताङ, रेजिना रिमाल, डिल्ली फम्बो, एड्रिन प्रधान र द लिजेन्ड ब्यान्डले दर्शकलाई छमछमी नचाएका थिए । काठमाडौंबाट धनगढी, बुटवल र वीरगन्ज हुँदै सांगीतिक टोली धरान आइपुगेको हो । धराने दर्शकको साथ पाएपछि गायकगायिका पनि उत्साहित हुँदै गाइरहेका देखिन्थे । सोही सांगीतिक माहोलमा एभरेस्ट क्रुले आकर्षक विबोइङ नृत्य प्रस्तुत गरेको थियो ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदान रक संगीतप्रेमीले भरिएको थियो । एनसेलका धरानमा रहेको पाँच मुख्य वितरकमध्ये धरान–४ का सागर शेर्पाले मात्रै तीन लाख रुपियाँको रिचार्ज कार्ड बिक्री गरे । शेर्पाका अनुसार दुई दिनमै उनले दुई हजार तीन सय थान त प्रवेश टिकट मात्रै वितरण गरेका थिए । आयोजकले आफ्ना ग्राहकलाई विशुद्ध रूपमा मनोरञ्जन प्रदान गर्न एनसेल रक्सको आयोजन गरेको बताए ।

प्रतिक्रिया