डिआइजीको कार्यालय एकातिर, बसाइ अर्कातिर

सुर्खेत, २४ असोज । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पार्वती थापा कार्यालयमा बस्न पटक्कै रुचाउँदिनन् । सुर्खेतस्थित डिआइजी कार्यालय डिएसपीको भरमा छाडेर उनी महिनाँैदेखि नेपालगन्जस्थित भेरी अञ्चल प्रहरी कार्यालयको क्वार्टरमा बस्दै आएकी छन् ।

डिआइजीको क्वार्टरका लागि क्षेत्रीय प्रहरी कार्यालय परिसरभित्रै लाखाँै रुपियाँ खर्च गरेर निर्माण गरिएको अत्याधुनिक भवन खाली छ । तर, थापा भने अञ्चल प्रहरी कार्यालय नेपालगन्ज परिसरमा रहेको एक भवनलाई सम्पर्क कार्यालय बनाएर बसिरहेकी छन् ।
‘क्षेत्रमा सरुवा भएर आएको एक वर्ष बितिसक्यो, उहाँ कार्यालयमा बस्नै रुचाउनुहुन्न,’ क्षेत्रीय प्रहरी कार्यालय स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयले थापालाई ७ भदौ ०६८ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख बनाएर पठाएको हो ।
‘भ्रमण तथा निरीक्षणको नाममा थापा प्राय: नेपालगन्जमै जान्छिन्,’ स्रोत भन्छ, ‘सरुवा–बढुवादेखि अन्य दैनिक कामसमेत अञ्चल प्रहरी कार्यालयको क्वार्टरबाटै हँुदै आएको छ ।’ पछिल्लो एक महिनादेखि त उनले सुर्खेत नआएर अञ्चल प्रहरी कार्यालय बाँकेमै अड्डा जमाएकी छन् । अञ्चल प्रहरी कार्यालयबाट दैनिक कामकाज गर्दा काममा ढिलाइ हुनाका साथै असहज भएको यहाँका सेवाग्राहीको गुनासो छ ।
डिआइजी थापा भने आºनो कार्यक्षेत्र मध्यपश्चिमाञ्चल भएकाले मध्यपश्चिमका जुनसुकै जिल्लामा बसेर पनि काम गर्न सक्ने बताउँछिन् । ‘इमेल, इन्टरनेटको जमाना छ,’ उनले सौर्यसँग भनिन्, ‘त्यसैले नेपालगन्ज बसेर पनि आफूले गर्नुपर्ने सबै काम गरिरहेकी छु ।’
नेपालगन्ज बस्दै आएकी थापाले बाँके र बर्दियाका सीमावर्ती चौकी र इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको कार्यक्षेत्रमा हस्तक्षेप गरी आºना समर्थकहरूलाई सरुवा गर्ने र अनुचित लाभ लिँदै आएको स्रोतको दाबी छ । सरुवाको नाममा डिआइजी थापाले प्रहरी जवान तथा हवल्दारहरूबाट रकम असुल्दै आएको समेत रहस्य खुलेको छ । दुर्गम भत्ताका लागि सुगम स्थानबाट कर्णाली अञ्चलका विभिन्न जिल्लामा सरुवा हुन चाहने प्रहरीबाट जनही १० देखि १५ हजार रुपियाँसम्म घुस माग्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा जाजरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिए । उनले भने, ‘एक वर्षअघिदेखि सुर्खेतमा काज सरुवा मागेको थिएँ तर मैले घुस नदिएकै कारण मेरो काज सरुवा भएन ।’
यता, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक फुलगेन प्रधानले डिआइजी थापा सुर्खेतमा भन्दा नेपालगन्जमा बढी बस्दै आएको भए पनि नियन्त्रण गर्ने अधिकार आफूलाई नभएको बताए । उनले भने, ‘काम पर्दा मैले पनि फोनबाट सम्पर्क गर्ने गरेको छु, मैले सुर्खेतमै बस्नुस् भन्न मिल्दैन ।’
पत्रकार भनेपछि झस्किइन् थापा
सुर्खेतमा कार्यालय भए पनि अधिकांश समय बाँकेमा बस्दै आएकोबारे बुझ्न खोज्दा डिआइजी थापा झस्किइन् । उनले सौर्यकर्मी लक्ष्मण भण्डारीसँग टेलिफोनमा भनिन्, ‘एउटा डिआइजी महिलालाई तपार्इंहरूले खेद्न जान्नुभा’छ ।’ उनले अरू पनि थुप्रै कार्यालय रहेको भन्दै तिनको पनि निगरानी गर्न सुझाव दिइन् । खाली प्रहरीको मात्रै पछि नलाग्न उनको आग्रह थियो । ‘शिखरमा चढ्दै गरेको महिलाको पछि नलाग्नुस्,’ उनले भनिन् ।

प्रतिक्रिया