दाहालद्वारा अर्को प्रस्ताव

काठमाडौं, २४ असोज । एमाओवादीले नयाँ संविधानका नमिलेका विषय निर्वाचित संसद्ले टुंग्याउने गरी संविधान जारी गर्ने गरी नयाँ प्रस्ताव अघि सारेको छ । यसअघि भएका सहमति र समझदारीका विषयलाई अन्तिम रूप दिई संविधानसभा पुन:स्थापना गर्ने, त्यसपछि संविधान जारी गर्ने र नमिलेका विषयलाई निर्वाचित संसद्ले टुंग्याउने गरी अघि बढ्न सकिने प्रस्ताव एमाओवादीले अघि सारेको हो ।
राजधानीमा मंगलबार आयोजित एक साक्षात्कारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी गरेपछि राज्य पुन:संरचनाका नमिलेका विषय निर्वाचित संसद्ले टुंगो लगाउन सक्ने धारणा व्यक्त गरेका हुन् । संविधानमा राज्य पुन:संरचनाको विषयमा पनि प्रदेशको संख्या र सहमति भएका विषयसमेत समावेश गर्न सकिने अध्यक्ष दाहालले बताए ।
यसअघि आफूले संविधानसभा पुन:स्थापनाप्रति सकारात्मक टिप्पणी गर्दा अन्य दलले एमाओवादी चुनावबाट भाग्न खोजेको आशंका गरेपछि चुनावलाई प्राथमिकता दिएको दाहालको स्पष्टोक्ति थियो । ‘आºनै पार्टीको सरकारले चुनाव घोषणा गरेको र अन्य दलले पनि चुनावमा प्रतिबद्ध नभएको आशंका गरेपछि चुनावमै जोड दिइएको थियो,’ उनले भने ‘तर, चुनावमा जाने समझदारी बनेको दुई साता नबित्दै चुनावभन्दा पुन:स्थापना नै सहज भएको निष्कर्षमा सबै दलका नेता पुगेका छन् ।’
यसअघि दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति गर्न असम्भव भएकाले पुन:स्थापना सम्भव नभएको निष्कर्ष निकालेर चुनावमा जाने समझदारी बनेको थियो । दाहालका अनुसार चुनाव गर्न संविधान संशोधन, ऐन संशोधन, संविधानसभा सदस्य संख्यालगायत विषयमा सहमति अत्यावश्यक भएको र त्यसमा तत्काल सहमति जुट्न नसक्ने भएकाले पुन:स्थापना नै सहज भएको निष्कर्षमा दलहरू पुगेका हुन् ।
सहमतिको भाका तिहार
एमाओवादी अध्यक्ष दाहालले असोज मसान्तसम्ममा सहमति गर्ने भनिए पनि असम्भव भएको जिकिर गर्दै तिहारसम्ममा सहमतिमा पुग्नुपर्ने बताए । पछिल्लो पटक राष्ट्रपति डा. रामवरण यादवसँगको सामूहिक भेटमा दाहाललगायत शीर्ष नेताहरूले असोजसम्मको भाका मागेकामा उनले यो असम्भव भएको बताएका हुन् ।
‘असोज मसान्तसम्ममा सहमति गर्ने भन्ने थियो,’ उनले भने, ‘अब तिहारसम्ममा त सहमतिमा पुग्नै पर्छ ।’ प्रमुख दलका शीर्ष नेताहरू नै काठमाडौंबाहिर रहने भएकाले असोजसम्ममा सहमतिमा पुग्न नसकिने उनको भनाइ थियो ।
दाहालले पछिल्लो समय कांग्रेसका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । मंगलबार पनि दाहाल र कांग्रेस सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको थियो । भेटवार्तामा नयाँ ढंगले छलफल गर्ने सहमति भएको उनले बताए । ‘फेरि छलफल गर्ने तर पुरानै ढंगले छलफल गरेर सहमति बनाउन नसकिने भएकाले नयाँ ढंगले छलफल गर्ने समझदारी बनेको छ,’ उनले भने ।
कोइराला पश्चिम, दाहाल बेल्जियम
दाहालले आºनो युरोप भ्रमण र कांग्रेस सभापति कोइरालाको पश्चिम नेपालका केही जिल्लाको भ्रमण सल्लाहमै भएको बताए । केही दिन नयाँ ढंगले सोच्ने र छलफलमा जुट्ने सहमति गरेरै भ्रमणमा निस्किएको दाबी उनले गरे । कोइराला मंगलबार पश्चिम नेपालका केही जिल्लाको भ्रमणमा निस्किएका छन् भने दाहाल बिहीबार बेल्जियम जाँदै छन् । जनप्रगतिशील मञ्चको सम्मेलनमा भाग लिन उनी बेल्जियम जान लागेका हुन् ।

प्रतिक्रिया