प्रचण्ड थैवका हत्यारालाई जन्मकैद

बुटवल, २४ असोज । नेकपा (एमाले) का कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा पक्राउ परेका एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता सुजित विकलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । रूपन्देही जिल्ला अदालतले विकलाई हत्यारा ठहर गर्दै मंगलबार अपराह्न फैसला गरेको हो । विक तनहुँ खैरेनीटार–८ का बासिन्दा हुन् । उनी वाइसिएल गठन भएदेखि नै रूपन्देहीमा सक्रिय थिए ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रूपाखेतीको इजलासले फैसला गरेको हो । अदालतले विकसहित उनका सहयोगीका रूपमा रहेको भन्दै मुद्दा दायर गरिएका अन्य दुईलाई पनि सजाय तोकेको छ । विकलाई सहयोग गरेको भनिएका पडसरी–५, ठुटीपीपलका लोकबहादुर गुरुङ र लेखनाथ न्यौपानेलाई २० रुपियाँ जरिवाना तोकेको विकको पक्षमा बहस गरेका अधिवक्ता सूर्य अधिकारीले बताए । त्यस्तै सहयोग गरेको भन्दै मुद्दा चलाइएका दाङ गोल्टाकुटी–९ घर भई हाल देवदह–२, खैरेनी निवासी एमाओवादीका अर्का कार्यकर्ता उदय भनिने मानबहादुर पुनलाई भने सफाइ दिइएको छ । १३ चैत ०६५ मा राति साढे १० बजेतिर बुटवल–९, पुष्पनगरको पुलनजिकै थैवको हत्या भएको थियो ।
बहसमा थैवका पक्षबाट जिल्ला न्यायाधिवक्ता मोहनसागर बस्याल, अधिवक्ता शिवहरि अधिकारी र कुलानन्द ज्ञवालीलगायतले बहस गरेका थिए भने विकको पक्षबाट अधिवक्ता लीलाधर मरासिनी, सूर्य अधिकारी, लयप्रसाद भट्टराई, पशुपति भण्डारी तथा ज्ञानु केसी (साहनी) ले बहस गरेका थिए ।
हत्यामा तत्कालीन वाइसिएल कार्यकर्ता विक संलग्न रहेको भन्दै किटानी जाहेरी परेको थियो तर विक लामो समय फरार थिए । उनलाई साउन ०६७ मा काठमाडांैबाट प्रहरीले गिरफ्तार गरेर रूपन्देही ल्याएको थियो । थैवलाई मोटरसाइकलमा पिछा गर्दै गएका व्यक्तिले पाँच राउन्ड गोली हानेका थिए । थैवलाई तीन गोली लागेको पोस्टमार्टम रिपोर्टमा थियो ।
गोली लागेर गम्भीर घाइते थैवको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदाहुँदै राति साढे ११ बजे मृत्यु भएको थियो । घाइते अवस्थामा थैवले आफूलाई उद्धार गरी अस्पतालमा पुर्‍याउनेलाई ‘वाइसिएल अध्यक्ष सुजित विकले गोली हानेको’ बताएका थिए ।
घटनाको भोलिपल्ट बिहानैदेखि युथफोर्स र रूपन्देहीका एमाले कार्यकर्ताले जिल्लामा प्रदर्शन गरेका थिए । प्रदर्शन व्यापक भएपछि प्रशासनले १४ चैतमा सोही दिनदेखि कफ्र्यु लगाएको थियो । थैवको १५ चैतमा तिनाउ नदीमा अन्त्येष्ठी भएको थियो । १९ चैतमा एमालेले आन्दोलनको स्वरूप परिवर्तन गरी बन्द–हडताल फिर्ता लिएको थियो ।
बुटवल–१०, मिलनचोकको तीनकुनेमा रहेको डेराबाट विक १४ गते बिहानै हिँडेको स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई बताए पनि प्रहरीले दुई वर्षपछि काठमाडांैबाट उनलाई गिरफ्तार गरेको हो । २५ चैत ०६५ मा एमालेद्वारा बुटवलमै श्रद्धाञ्जलीसभा गर्दैगर्दा काठमाडौंमा मानवअधिकार आयोगको कार्यालयबाट सुजित विक फरार भएको भन्दै तत्कालीन नेता सिपी गजुरेलले बताएका थिए तर मानवअधिकार आयोगले भने कार्यालयमा विक उपस्थित नभएको स्पष्ट पारेको थियो ।
माओवादीले पहिले टोपबहादुर रायमाझी र पछि वर्षमान पुनको नेतृत्वमा छानबिन समिति गठन गरे पनि विकले हत्या नगरेको प्रमाण कतै जुटाउन सकेनन् । २६ चैतमा बसेको एमाओवादीको बैठकले विकलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको थियो ।
थैवहत्याका सम्बन्धमा भएको फैसलालाई एमालेका स्थानीय नेताले न्यायालयको उच्च फैसला भनेका छन् । उनीहरूले ढिलै भए पनि सत्यको पक्षमा फैसला भएको बताएका छन् । एमाले लुम्बिनी अञ्चल समन्वय कमिटीका सचिव खिमलाल भट्टराईले दण्डहीनताले गाँजिएका बेला भएको यो फैसलाले न्यायप्रति केही आशा बढेको उल्लेख गरे ।
जिल्ला अध्यक्ष लीला गिरीले सरकारबाटै अपराधीका मुद्दा फिर्ता लिने दुष्प्रयास भइरहेका बेला आएको फैसलाले सत्यको फेरि जित भएको उल्लेख गरे । उनले अपराध गर्ने जोसुकैलाई सजाय हुनैपर्ने गिरीको भनाइ छ । त्यतिबेला माओवादीले थैवहत्याको विरोधमा भएको आन्दोलनलाई चर्काएको भन्दै गिरीलाई धम्कीसमेत दिएको थियो ।
को हुन् प्रचण्ड थैव ?
बुटवल–९, दीपनगरका ३५ वर्षीय थैव एमाले कार्यकर्ता हुन् । हत्या हुने समयमा उनी तत्कालीन युथफोर्सका जिल्ला सदस्य थिए । स्ववियु चुनावका बेला उनी अनेरास्ववियुका पक्षमा प्रदर्शनमा अग्रपंक्तिमा थिए । उनी बुटवल बहुमुखी क्याम्पसमा बिए प्रथम वर्षमा भर्ना पनि भएका थिए । ७ चैत ०६५ मा दिउँसो बुटवल बहुमुखी क्याम्पस परिसरमा वाइसिएल र युथफोर्सबीच झडप हुँदा थैव अग्रमोर्चामा थिए । झडपमा तीन (दुवै तर्फका गरी) सामान्य घाइते भए पनि अरू थप क्षति भएन । वाइसिएलले एक विद्यार्थीको मोटरसाइकल जलाइदिएको थियो । थैवका बुबा अम्बिका थैव नेकपा
(माक्र्सवादी) का केन्द्रीय पोलिटब्यूरो सदस्य हुन् । उनी संविधानसभामा चुनावका रूपन्देहीे ४ नम्बर क्षेत्रका समानुपातिक उम्मेदवारसमेत थिए । थैवकी पत्नी लक्ष्मी घटना भएदेखि अझै सामान्य अवस्थामा फर्किएकी छैनन् । थैवका ११ वर्षीय छोरा राघवेन्द्र र ९ वर्षीया एक छोरी छन् । थैवका अरू दुई दाजुभाइ छन् । उनी सामान्य परिवारका सदस्य हुन् । स्रोतका अनुसार वाचनशिरोमणि पं. नारायणप्रसाद पोखरेलको हत्यामा पनि विकको हात थियो । अनुसन्धानका डिएसपी हिमबहादुर रेग्मीको हत्यामा पनि उनको हात रहेको आरोप लाग्दै आएको छ । बुटवलका पूर्वमेयर पुनाराम पोखरेललाई गोली हान्ने पनि विक नै रहेको स्रोतको दाबी छ । रूपन्देहीका केही माओवादी नेताद्वारा विकका बारेमा बोल्दा आफूहरू पनि सुरक्षित नहुने भन्दै सर्वदलीय बैठकमा विकबारे अनभिज्ञता प्रकट गरेका थिए ।

प्रतिक्रिया