नौ महिनामा ११ ‘आमा’ को मृत्यु

जाजरकोट, २४ असोज । १ असोजमा निमोनियाले पूर्वी जाजरकोटको सक्ला–२ की २१ वर्षीया विनिता विश्वकर्माको सुत्केरी भएको नौ दिन नपुग्दै ज्यान गयो । उनलाई उपचारका लागि स्वास्थ्य चौकी सेपुखोलामा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।

त्यस्तै सुत्केरी हुनुअगावै अत्यधिक रक्तश्राव भएर ११ भदौमा जाजरकोट झाप्रा–६, खलटाकुराकी ३७ वर्षीया मीना पुनमगरको घरमै ज्यान गयो । उसो त ७ वैशाखमा सुत्केरी भएकी पश्चिम जाजरकोट झाप्रा–१ की ४० वर्षीया दीपा कार्कीको रक्तश्राव नरोकिँदा ५ भदौमा उपचारका क्रममा रुकुमको मिसन अस्पताल चौरजहारीमा ज्यान गयो ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । गर्भवती तथा सुत्केरी महिलालाई उचित स्वास्थ्य सुविधा एवं परामर्श, स्याहारसुसार र जनचेतनाको पहुँच नपुग्दा जाजरकोटमा बर्सेनि दर्जनौँ आमाको अकालमा ज्यान जाने गरेको छ ।
जाजरकोटका ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच नपुग्दा एवं विकटताका कारण महिलाले सुरक्षितरूपमा सुत्केरी हुन नसकेर अकालमा ज्यान गुमाउन बाध्य छन् । त्यसैगरी सुत्केरी भएपश्चात् पाउनुपर्ने आवश्यक स्याहारसुसारको कमी पनि महिलाको अकालमा मृत्युको कारण बन्ने गरेको छ । बितेको साउन र भदौ महिनामा मात्र जाजरकोटमा तीन सुत्केरी महिलाको रक्तश्रावका कारण ज्यान गएको छ ।
जाजरकोट जिल्ला अस्पताल र रुकुमको चौरजहारी मिसन अस्पतालमा पुगेका सुुत्केरी महिलाको पनि अत्यन्त कमजोर स्वास्थ्य अवस्थाका कारण मृत्यु हुने गरेको छ । रगतको कमी भएर रगत दिँदा पनि केही महिलाको ज्यान बचाउन नसकिएको स्वास्थ्यकर्मीले बताए । मृत्यु हुने सुत्केरी महिला सबै दुर्गम क्षेत्रका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा प्रसूति सेवा प्रभावकारी नभएका कारण बर्षेनि दर्जनौँ महिलाले अकालमै ज्यान गुमाउनुपरेको महिला अधिकारकर्मीको भनाइ छ ।
मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले जाजरकोटका १५ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । तीमध्ये १२ स्थानमा सरकारले व्यवस्था गरे पनि अन्य तीन स्थानमा स्थानीय स्रोतबाट व्यवस्थापन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बर्थिङ सेन्टरको सेवा सोचेजस्तो प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।
कमजोर आर्थिक अवस्था र चेतनाको अभावमा महिलाले ज्यान गुमाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा. विवेककुमार लालले गाउँमा पर्याप्त प्रसूतिगृह नहुनु, भएका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको अभाव हुनु पनि समस्या भएको बताए । उनले थपे, ‘एकातिर पर्याप्त स्वास्थ्यकर्मी र भौतिक पूर्वाधारको अभाव छ, अर्काेतिर जनचेतनाको कमी छ । यसले गर्दा झन् समस्या थपिएको छ ।’ सुत्केरी व्यथा लागेका बेला स्वास्थ्य संस्थामा पुर्‍याउनुको साटो धामीझाँक्रीको शरण लिनुले पनि धेरै आमाको ज्यान जाने गरेको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा गत आर्थिक वर्ष ०६८/६९ मा जाजरकोटमा ११ आमाको ज्यान गएको उल्लेख छ तर यो संख्या निकै कम भएको स्वयं स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका ग्रामीणस्तरका धेरै महिलाको ज्यान जाने गरेको उनीहरूको तर्क छ । गएको माघदेखि अहिलेसम्म जाजरकोटमा दर्जनभन्दा बढी आमाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया