रोजगार व्यवसायीको पेसागत विकासमा जोड

काठमाडौं, २३ असोज । वैदेशिक रोजगारलाई पेसागत तथा व्यावसायिक रूपमा अघि बढाउन व्यवसायीले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा सम्बन्धित सरोकारवालाले जोड दिएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त रूपमा गरेको पेसागत तथा व्यवसाय विकास तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदीले व्यवसायी आफँै जिम्मेवार नभएसम्म वैदेशिक रोजगार क्षेत्रलाई व्यवसायीकरण गर्न नसकिने बताए । उनले अर्बांै रूपियाँ रेमिट्यान्स भित्र्याउने यो व्यवसाय अबका दिनमा थप व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा राखे । सरकारले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रयास गरिरहेको भन्दै उनले व्यवसायीको सहयोग अपरिहार्य रहेको जनाए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले कानुनी उपचारलाई सशक्त बनएको बताए । उनले व्यवसायीको सहयोग भएमा मात्र यसलाई व्यवस्थित गर्न सकिने तर्क राखे ।
वैदेशिक रोजगारीमा कामदार पठाउँदा सम्बन्धित व्यवसायी बढी जिम्मेवार हुनुपर्ने भन्दै हचुवाका भरमा काम नगर्न सुझावसमेत दिए । विभागले पछिल्लोपटक सुधार योजना बनाएर काम गरिरहेको भन्दै उनले व्यवसायीले यसमा सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोर्डका निर्देशक टीका भण्डारीले कामदार रोजगारीमा पठाउँदा व्यवसायीसमेत सचेत बन्नुपर्ने र विभिन्न मुलुकको ऐन/नियम र कानुनका विषयमा विज्ञ बन्नु पर्ने भएकाले तालिमको व्यवस्था गरिएको जनाए ।
यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले पेसागत तथा व्यवसाय विकासमा रोजगार व्यवसायीको भूमिका गहन हुने भन्दै तालिमको अपरिहार्यता औँल्याए । उनले कतिपय विषयमा रोजगार व्यवसायी अनभिज्ञ भएकाले अभिमुखीकरण तालिमको व्यवस्था गरिएको जनाए ।
उनले अन्तिम स्वीकृति दिने व्यवस्थामा सरकारले सुधार गर्नुपर्ने बताए । उनले अहिले सम्म तीन सय ७३ जना व्यवसायीलाई व्यवसाय विकास तालिम प्रदान गरिएको जानकारी दिए । नेपाली कामदार कार्यरत मुलुक इराक र लिबियामा नेपाली दूतावास स्थापना गर्न सरकारसँग माग गरे । इराकमा हाल करिब ७० हजार कामदार कार्यरत रहेको अनुमान छ ।

प्रतिक्रिया