घर फर्किएकाहरू भन्सारमा ठगिए

भैरहवा, २३ असोज । विजयादशमी तथा दीपावलीको आगमनसँगै प्रवासमा बसेर रोजीरोटीको जोहो गर्दै घर फर्किनेहरू सीमामा ठगिने गरेका छन् । पश्चिम नेपालको भैरहवा तथा कृष्णनगर सीमा नाका हुँदै भारतबाट नेपाल फर्किनेहरूको लाम लागेको छ । प्युठान, दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी,

रोल्पा, सल्यान, गुल्मीलगायत जिल्लाका बासिन्दा यही नाका भएर घर फर्किरहेका छन् ।
घर फर्किने क्रममा सीमामा बसेका भन्सारका कर्मचारीले विभिन्न बहानामा दु:ख दिएर पैसा असुल्ने गरेपछि उनीहरू मारमा परेका हुन् । भारतमा उपहारस्वरूप पाएका सामग्री भन्सारमै बुझाएर रित्तो हात घर फर्किन बाध्य भएको उनीहरूले बताए ।
आइतबार रुपन्देहीको बेलहियास्थित भन्सारमा अर्घाखाँची ढाकाबाङका गणेश खनालले पनि यस्तै सास्ती भोगेका छन् । भैरहवा भन्सारमा पैसा मात्र ठगिने होइन, भारतबाट ल्याएको टेलिभिजन पनि खनालले भन्सारमा बुझाउनुपरेको छ । त्यो पनि फिर्ता नहुने गरी । भारतको मुम्बईमा एक कम्पनीको सामान्य जागिरे खनालले आमाबाबुका लागि टेलिभिजन ल्याएका थिए । तर, भन्सारमा चेकजाँचमा बसेका कर्मचारीले एक हजार भारतीय रुपियाँ लिएर उनलाई टिभी ल्याउन दिए । त्यसपछि राजस्व गस्तीको चेकजाँचबाट टिभी नियन्त्रणमा लिएर पुन: भन्सारमा पठाउने काम भएको हो । खनालको टिभी भन्सारले लिलाम गर्ने भएको छ । भन्सारमा चेकजाँचमा बसेका कर्मचारीको ठगी प्रक्रियाबारे बताउँदै पीडित खनालले भने, ‘मलाई टिभीको भन्सार एक हजार भारु लाग्छ भने अनि त्यो पैसा दिएँ तर राजस्वले भन्सार छलेको भनेर भन्सार चलान गर्‍यो ।’
कर्मचारीले आफूलाई ठगेको गुनासो लिएर उनी भन्सार अधिकृत ज्ञानेन्द्र ढकालकहाँ पुगे । तर, ढकालले वास्तै नगरेको उनको गुनासो छ । यति मात्र होइन, सोही दिन स्याङ्जाका रमेश थापा र अर्का एकजनाको पनि टेलिभिजन भन्सारका कर्मचारीले भन्सार शुल्कबापत भन्दै रकम लिएपछि नियन्त्रणमा लिएर लिलामका लागि पठाएका थिए । खुलेआम भन्सार कर्मचारीले ठगी गरिरहे पनि भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भने यस विषयमा आफूलाई गुनासो आएकाले छानबिन भइरहेको बताए । यता, राजस्व गस्ती डण्डाका प्रमुख लीलाराम पुनले भने, ‘हाम्रो काम प्रज्ञापनपत्र नभएका सबै सामान भन्सार पठाउने हो । हामीले त्यही गरिरहेका छौँ ।’
मेलापर्वका बेला घर फर्किनेहरू भन्सार नाकामै ठगिने क्रम बढेको छ । रुपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले भने, ‘सत्य–तथ्य बुझेर ठगी कार्यमा संलग्न कर्मचारीलाई कारबाही गरिनेछ ।’ दिनदहाडै भन्सार नाकामा कर्मचारीबाटै ठगी भइरहँदा पर्व मनाउन स्वदेश फर्किएका नेपाली निरस र मलिन अनुहार लिएर घर आउन बाध्य छन् ।

प्रतिक्रिया