कांग्रेसको चियापान कार्तिक–१३ गते

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसले दशैंका अवसरमा कार्तिक–१३ गते सोमबार चियापान समारोह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर कार्तिक–१३ गते दिउसो एक बजे देखि चार बजे सम्म पार्टी कार्यालय सानेपामा चियापानको कार्यक्रम राखेको जनाएको छ ।
विक्रम सम्वत २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन जलपान समारोह गर्दै आएका थिए ।
उनको अनुसरण गर्दै कांग्रेसले प्रत्यक बर्ष दशैं र तिहारको शुभकामना आदान–प्रदान गर्न चियापान समारोह गर्दै आएको छ ।
कार्तिक–२४ गते काठमाडौंमा आमसभा
यसैबीच, कांग्रेसले कार्तिक–२४ गते काठमाडौंमा जुलुस प्रदर्शन सहित आमसभा गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेस नेता एवम् लौहपुरुष गणेशमान सिंहको जन्म जयन्तीका अवसर पारेर आमसभा गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । सभामा सहभागी हुन पनि कांग्रेसले सबैमा आह्वान गरेको छ ।

महासमिति बैठक पनि स्थगित
उता, धनुषाको जनकपुरमा असोज अन्तिम साता आह्वान गरिएको महासमिति बैठकलाई पनि कांग्रेसले स्थगित गरेको छ । असोज–२४, २५, २६ र २७ गते महासमिति बैठक गर्ने कार्यक्रम थियो ।
महासमिति बैठक विशेष कारणवस मंसिर महिनाभित्र उपयुक्त मिति र स्थानमा गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया