पाँच अर्बको सहकारी कारोबार

काभ्रे, २२ असोज । काभ्रेमा रहेका एक हजार एक सय ७३ सहकारीमध्ये २५ प्रतिशत सहकारीले मात्रै वार्षिक पाँच अर्ब रुपियाँको कारोबार गर्ने गरेको छ ।

दर्ता भएका सबै सहकारीको कारोबार गर्ने हो भने २० अर्बभन्दा धेरै पुँजी परिचालन हुने डिभिजन सहकारी कार्यालय काभ्रेका सहकारी अधिकृत हरि पौड्यालले बताए । दर्ता गरेर कारोबार नगर्ने सहकारीलाई ऐन, नियम र जनशक्तिका कारण कारबाही गर्न नसकिएको पौड्यालको भनाइ छ । सिन्धुपाल्चोकलाई समेत काभ्रेकै डिभिजन सहकारी कार्यालयबाट सेवा प्रदान गर्दै आएकाले एक हजार ६ सय ८३ सहकारीको अनुमगन त के त्यसको आर्थिक गतिविधिका बारेमा पनि जानकारी हासिल गर्न समस्या भएको उनी बताउँछन् ।
दर्ता भएकामध्ये करिब एक हजार सहकारीले कारोबार नै गरेका छैनन् । पछिल्लो समय सहर केन्द्रित भएका सहकारीले वार्षिक ५० करोड रुपियाँको कारोबार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गर्न थालेका छन् । आर्थिक विकासको मेरुदण्ड भएको सहकारीलाई हेर्ने निकाय कमजोर हुँदा बिस्तारै अवाञ्छित गतिविधि हुनसक्नेतर्फ सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । २५ हजारभन्दा धेरै सहकारी हेर्न सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको भए पनि आवश्यक योजना बनाउन नसक्दा अलमल्ल भएको जिल्ला सहकारी संघका अध्यक्ष शुभ अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौतमले मन र स्तर मिल्ने मात्रै सहकारीमा आबद्ध हुने भएकाले गैरसदस्यसँग कारोबार नगर्न र उत्पादनमुखी बन्न सहकारीका सञ्चालकलाई निर्देशन दिए । ‘रकम धेरै जम्मा हुनथालेपछि डन प्रवृत्ति भित्रिन सक्छ, समयमै सबै सदस्य सचेत बन्नु जरुरी छ,’ उनले भने । स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले राम्रो गर्ने सहकारीलाई राज्यले पुरस्कृत गरी नराम्रो गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ‘पहिले सहकारी गरिब, आवाज नहुनेहरूको, ग्रामीण भेगमा खुल्ने गरेका भए पनि अहिले आवाज हुनेहरूका, पैसा हुनेहरूका र सहरमा मात्रै खुल्ने गरेका छन्,’ कार्कीले भने । तत्काल जनशक्ति बढाएर अनुगमन गरी राज्यको सम्पत्ति दुरुपयोग गर्ने सहकारीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।
यसैबीच सहकारीको सधारणसभा गर्ने क्रम बढेको छ । पनौतीको सामुदायिक साकोससँग एकीकरणको सम्झौता गरिसकेको बनेपाको मनकामना वित्तीय सहकारी संस्थाले बनेपामा १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नौ सय ६७ जना सेयर सदस्य भएको सो सहकारीले एक करोड २२ लाख ३७ हजार सेयर पुजी संकलन गरेको छ भने १४ करोड ६४ लाख ८३ हजार रुपियाँ निक्षेप संकलन गरेको छ । संस्थाले आर्थिक वर्षको अन्त्यसम्म कुल नाफा १० लाख तीन हजार नाफा रहेको जानकारी दिएको छ । सेयर सदस्यलाई थप सुविधा प्रदान गर्न एकीकरण गर्न लागेको अध्यक्ष राजकुमार हुमागाईंले जानकारी दिएका छन् ।
साधारणसभा गर्ने अन्य सहकारीमा बनेपामा रहेको उग्रतारा बहुउद्देस्यीय सहकारीको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सहकारीले गत आवको असार मसान्तसम्म ४१ करोड ५९ लाख ४५हजार रुपियाँ कारोबार गरेको छ । दुई हजार सात सय ९५ जना सेयर सदस्यबाट संकलन गरिएको सेयर पुँजी पाँच करोड २१ लाख ६५ हजार पुगेको अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले बताए । संस्थाले ३४ करोड २८ लाख ८३ हजार निक्षेप संकलन गरेको छ भने २८ करोड ६२ लाख ५२ हजार ऋण लगानी गरेको छ । सहकारीले ४६ लाख रुपियाँ नाफा गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।
बनेपाकै मोडल डेभलपमेन्ट बचत तथा ऋण सहकारीको पनि पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन शाक्यले सहकारीको माध्यमबाट समाजमा धेरै परिवर्तन गर्न सकिने बताए । सचिव रामुदन तिमल्सिनाले एक हजार एक सय ४७ सेयर सदस्यबाट एक करोड २० लाख १५ हजार पाँच सय सेयरपुँजी रहेको जानकारी दिए । संस्थाले आर्थिक वर्षको अन्त्यसम्म चार करोड ६५ लाख ६५ हजार निक्षेप संकलन गरेको छ भने ११ करोड ऋण लगानी गरेको छ । कोषाध्यक्ष ओमकृष्ण प्रधानले संस्थाले एक करोड ८० लाख आम्दानी गरेको जानकारी दिए ।
अन्य सहकारीमा बनेपाकै चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा चार हजार तीन सय १७ जना सेयर सदस्यबाट चार करोड ४२ लाख ७० हजार सेयर पुँजी संकलन गरेको जानकारी दिइएको थियो । आर्थिक वर्षको अन्त्यसम्म २२ करोड ८७ लाख ३१ हजार रुपियाँ कुल बचत निक्षेप संकलन गरेको छ भने ऋण लगानी र असुली गरी कार्यालय खर्च तथा करसमेत कट्टा गरी ४१ लाख ४१ हजार रुपियाँ नाफा गरेको छ ।
बनेपाको धनेश्वरी बचत तथा ऋण सहकारी संस्थाले १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्षको अन्त्यसम्म चार करोड ८० लाख २६ हजार बराबरको कारोबार गरेको अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेले जानकारी दिए । एक हजार ७० सेयर सदस्यबाट एक करोड १६ लाख ५६ हजार आठ सय सेयर रकम संकलन गरी तीन करोड ६ लाख १६ हजार निक्षेप संकलन गरेको छ । बनेपाको नेवा पुच बचत तथा ऋण सहकारीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाले आर्थिक वर्षको अन्त्यसम्म ५० लाख पाँच हजार सेयर पुँजी सकंलन गरी ८४ लाख बचत संकलन गरेको जानकारी दिइएको थियो । संस्थाले १३ लाख ७८ हजार आम्दानी गरेको कोषाध्यक्ष रिजन मानन्धरले बताए ।

प्रतिक्रिया