‘आक्रमणको आधार बनाउँदै नेटो’

तेहरान : इरानी राष्ट्रपति महमुद अहमदिनेजादका वरिष्ठ सल्लाहाकार अलि अकबर बिलायतीले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सिरियामा सैनिक हस्तक्षेप गर्ने पृठभूमि निर्माण गर्न लागिपरेको आरोप लगाएका छन् ।
गत बिहीबारदेखि सिरिया र टर्कीबीच सीमाक्षेत्रमा गोली हानाहान भएको विषयमा टिप्पणी गर्दै उनले शनिबार यस्तो आरोप लगाएका हुन् । सरियाली भूमिबाट आफ्नो भूमिमा भीषण गोलाबारी भएको आरोप टर्कीले लगाएको छ । आक्रमणको प्रतिरोध स्वरूप टर्किस सेनाले पनि सिरियाविरुद्ध प्रत्याक्रमण गरेको बताइएको छ । गत चार दिनदेखि सिरिया र टर्कीबीच सीमा क्षेत्रमा गोली हानाहान भएको हो । यसबाट टर्कीको सान्लिउर्फा प्रान्तको अक्काकाले सहरमा ठूलो क्षति पुगेको बताइएको छ । इरानका पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका बिलायतीले सिरियाभित्र जबरजस्ती प्रवेश गरी आक्रमण गर्न नेटोले बहाना खोजिरहेको आरोप लगाए । इस्लामिक एकतादेखि तर्सिएर यसलाई ध्वस्त पार्न नेटोले यस्तो दुष्प्रयाससमेत गरिरहेको उनले दाबी गरे ।
‘पश्चिमी राष्ट्र अहिले छिद्र खोज्न लागिपरेका छन् । टर्की, सिरिया र समग्र क्षेत्रलाई यसमा अल्झाएर इस्लामिक पुनर्जागरणलाई ओझेलमा पार्ने षड्यन्त्र रचिँदै छ । यस्तोमा सिरिया, टर्की, इराक लगायत राष्ट्र चनाखो बन्न आवश्यक छ,’ उनले भने । सिरियालाई इरानको सहयोग जारी रहनेसमेत उनले प्रस्ट पारे । ‘हामीले गर्दै आएको सहयोग जारी रहनेछ । हामी सिरियाको भौगोलिक अखण्डता तथा सिरियाली सरकार र त्यहाँका जनताको हितका लागि सहयोग गर्न तयार छौँ । तर, त्यहाँ सुधारका कदम जारी रहनुपर्छ भन्ने हाम्रो पूर्वसर्त हो,’ उनले भने ।
गत साता रुसले समेत सिरियामा सैन्य हस्तक्षेप गर्ने विचार सपनामा पनि नचिताउन नेटोसहित अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएको थियो । सिरियामा ‘बफर जोन’ स्थापना गर्ने कुराको पनि रुसले विरोध गरेको थियो । रुसी उपविदेशमन्त्री गेन्नेडी गाटिलोभले मानवीय सहयोगका लागि सिरियामा ‘मानवीय करिडोर’ अथवा ‘बफर जोन’ स्थापना गर्ने प्रसंग चलिरहेकोतर्फ संकेत गर्दै यस्ता कुनै सम्भावनातर्फ नसोच्न सजग गराएका थिए । सिरियामा करिब २० महिनादेखि राष्ट्रपति बसर अल असदको शासनविरोधी आन्दोलन तथा हिंसात्मक विद्रोह जारी छ । यस क्रममा ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । साथै १० लाखभन्दा बढी सिरियाका नागरिक शरणार्थी बनेका छन् । उनीहरू टर्की, जोर्डनलगायत मुलुकमा शरणार्थीको हैसियतले प्रवेश गरेका छन् ।
अमेरिका, युरोपेली महासंघ, अरब लिगसहित अन्तर्राष्ट्रिय समुदायले असदलाई अविलम्ब सत्ता त्याग गर्न दबाब दिँदै आएका छन् । तर, रुस, इरान र चीनलगायतले भने सिरियाको साथ दिँदै आएका छन् । मध्यपूर्वमा इरान सिरियाका दरिलो साझेदार राष्ट्र हो । इरान सिया मुसलमान बहुल राष्ट्र हो र सिरियामा अल्पमतमा रहेका सियाले शासन गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया