खस नेपाली नबुझेपछि …

सोलुखुम्बु : गाउँका सबै महिलाले नेपाली भाषा नबुझेपछि जिल्लाको छेस्काम गाविसमा स्थानीय भाषी प्रशिक्षक खोजेर तालिम सञ्चालन गरिएको छ । गरिबी निवारण कोषको सहयोगमा सञ्चालन गर्न लागिएको स्वास्थ्यसम्बन्धी तालिममा भाषा समस्या भएपछि कुलुङ भाषाकै प्रशिक्षक खोजिएको साझेदारी संस्था पहाडी विकास बुङले जनाएको छ ।
जिल्लाको सबैभन्दा दुर्गममा रहेको सो गाविसको पनि सबैभन्दा दुर्गम गाउँ छेस्काम–५ मा केही पुरुषले नेपाली भाषा बुझ्ने भए पनि अधिकांशले नेपाली भाषा बुझ्दैनन् । त्यहाँका केही बालबालिका विद्यालय जान थालेकाले उनीहरूले विद्यालयमा नेपाली भाषा सिक्न थालेको भए पनि घरमा भने बोल्न पाउँदैनन् । नयाँ मानिससँग बोल्नसमेत लजाउने त्यहाँका महिलालाई स्थानीय भाषाका प्रशिक्षक तिर्सना कुलुङले सरसफाइ, मातृशिशु स्वास्थ्य, परिवार नियोजन, प्राथमिक उपचारलगायतका विषयमा जानकारी दिइन् । स्थानीय भाषामै तालिम पाएपछि त्यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् । तालिममा सहभागी १७ महिला र पाँच पुरुष गरी २२ जनाले तालिमपछि स्थानीय स्रोतको उपयोग गरेर आफ्नो घरमा चर्पी निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । (सौस)

प्रतिक्रिया