ड्रोनविरोधी प्रदर्शनमा खान

इस्लामबाद : पाकिस्तानका आदिवासी क्षेत्रमा अमेरिकी ड्रोन आक्रमणको विरोधमा पश्चिमी शान्तिप्रचारक कार्यकर्ता तथा उनीहरूका स्थानीय सहयोगीको प्रदर्शनयात्रालाई पाकिस्तानका क्रिकेट खेलाडी तथा राजनीतिज्ञ इमरान खानले नेतृत्व दिने भएका छन् । नेता खान, उनको दल तेहरिक–ए–इन्साफ पार्टीका कार्यकर्ता र बेलायती तथा अमेरिकी शान्तिप्रचारकले इस्लामाबादबाट दक्षिणी बजिरिस्तानसम्मको तीन सय २० किलोमिटर लामो यात्रामा सहभागि हुने शनिबार तय भएको छ ।
तर, पाकिस्तान सरकारले भने चरमपन्थी समूह तालिबानले यात्रालाई लक्षित गरी आक्रमणको योजना बनाएको जनाएको छ । त्यस्तै, स्थानीयअधिकारीले पाकिस्तानी आदिवासी क्षेत्रमा विदेशीलाई प्रवेश गर्न नदिइने बताएका छन् । उक्त क्षेत्रमा तालिबान तथा अल–कायदाको बलियो पकड रहेको बताइन्छ । पाकिस्तानको अर्धस्वायत्त क्षेत्रमा अमेरिकी चालकविहीन विमान (ड्रोन)ले नियमित रूपमा क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् । अमेरिकी अधिकारीहरूले आतंकविरुद्धको युुद्धमा ड्रोनलाई सबैभन्दा राम्रो हतियार मान्दै आएका छन् ।
शान्तिप्रचार अभियानका कार्यकर्ताले ड्रोन आक्रमण प्रचलित अन्तर्राष्ट्रिय कानुनको विरुद्ध भएको बताएका छन् । ड्रोन आक्रमणलाई पाकिस्तानले पनि उसको सार्वभौमसत्ताको उल्लंघन मान्दै आएकोछ । ड्रोन आक्रमणको पाकिस्तानले विरोध गर्दै आएको भए पनि अमेरिकाले आक्रमण बन्द गर्न अस्विकार गर्दै आएको छ । आलोचकहरूले यस्ता आक्रमणबाट थप कट्टरपन्थीले जन्म लिने दाबी गर्दै आएका छन् । खानजस्ता नेताले ड्रोन आक्रमण रोक्न अग्रसर नभएर पाकिस्तान सरकार आफ्नै नागरिकको हत्यामा सहयोगी बनेको आरोप लगाउँदै आएका छन् ।
खान आतंकविरुद्ध अमेरिकी नेतृत्वमा भएको युद्धको विरोधी हुन् । उनी आगामी वर्षको निर्वाचनका लागि उनले प्रचारप्रसार अभियान आरम्भ गरिसकेका छन् । उनले चालकविहीन बिमानले निर्दोष व्यक्तिमाथि पुर्‍याएको क्षतिबारे विश्वलाई अवगत गराउनु आफूहरूको उद्देश्य रहेको बताएका छन् । ‘अमेरिकी कोड पिन्क’का ३० कार्यकर्ता र बेलायती कानुनी संस्था ‘रिप्राइभ’का प्रमुख क्लाइभ स्टाफोर्ड स्मिथका साथ आदिवासी क्षेत्रमा पुग्ने योजना नेता खानले बनाएका छन् । (एएफपी)

प्रतिक्रिया