जनप्रदर्शनको सन्देश

मुलुकमा हठपूर्ण तरिकाले सर्वसत्तावादी हुकुमी शासन चलिरहेको अवस्थामा वर्तमान कामचलाउ सरकार हटाउन नेकपा (एमाले) ले विशाल जनप्रदर्शन गरेको छ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारले कुर्सी नछाड्ने र अन्तत: कालसम्म शासन गर्ने व्यवहार देखाएपछि प्रतिपक्ष मात्र होइन नेपाली जनतासमेत एमाओवादीविरुद्ध लाग्दैछन् भन्ने एमालेले गरेको शुक्रबारको जनप्रदर्शनले प्रमाणसहित सन्देश दिएको छ । विशाल जनप्रदर्शन गर्न सफल एमालेका कार्यकर्ता वर्तमान राजनीतिक अवस्थाप्रति निकै आक्रोशित छन् भन्ने पनि देखिएको छ । काठमाडौंको रत्नपार्कमा भेला भएको विशाल जनसागरलाई देखेर हौसिएका एमाले नेताले अब आफूलाई राष्ट्रिय मुद्दाहरूको नेतृत्व गर्न र मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन सुझबुझपूर्ण तरिकाले अगाडि बढाउनुपर्ने छ । सशक्त, सुदृढ, विशाल र लगनशील दह्रो कार्यकर्ता पंक्ति भएको एमालेले अब आफूलाई कसैको पछुवा होइन अगुवा पार्टी बनाउन जरुरी छ । एमाले कार्यकर्तालाई ऊर्जा र निर्देशनको खाँचो छ, उनीहरू आफ्नो पार्टीप्रति प्रतिबद्ध छन् र पार्टीले सही निर्णय गरोस् भन्ने चाहान्छन् । यो कुरा जनप्रदर्शनमा उजागर भएको थियो । आन्दोलन मात्र गरेर केही हुँदैन । त्यो आन्दोलन सुझवुझपूर्ण र जनअपेक्षित हुन पनि जरुरी छ । पार्टीको मुख्य हतियार भनेको नीति हो । उक्त नीति प्रयोग गर्न कार्यकर्ता चाहिन्छ । एमालेमा दुवै हँुदाहँुदै पनि कहिलेकाहीँ नेतृत्व विचलित हुने गरेको छ । यसलाई सच्याउँदै अब एमालेले मुलुकको नेतृत्व लिन सक्नुपर्छ ।
आफ्ना केही जनजाति नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेकै भोलिपल्ट भएको जनप्रदर्शनले एमालेलाई निकै ठूलो उत्साह जगाएको हुनुपर्छ । तर, पार्टी परित्याग गर्ने केही नेता–कार्यकर्ता एमालेले त्याग्नै नहुने खालका छन् । यसतर्फ एमाले नेताहरूले गम्भीरतापूर्वक सोचेर पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गनुपर्छ । वास्तवमा स–साना चोइटाहरूकै कारण नेपालमा कम्युनिस्ट आन्दोलनले बारम्बार धक्का खानु परेको छ । अहिले केही जनजाति नेता कारणवश बाहिरिएका छन् । वर्गीय हित नभई जातिय हित हँुदैन भन्ने बुझेकाहरू नै बाहिरिनु राम्रो होइन । एमाले नेताहरूले यसतर्फ ध्यान दिन जरुरी छ ।
वर्तमान सरकारले पहिला नै कुर्सी छाडिसक्नु पर्ने थियो । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूले छाड्ने हो भने मुलुक समाप्त हुने भाषण गर्दै छन् । राजा मर्दैमा गद्दी खाली हुँदैन भन्ने सामान्य सिद्धान्त समेत भट्टराईले बिर्सिएका छन् । उनी यो सरकारले जति राम्रा काम अरू कुनै सरकारले पनि गर्न नसकेको घोषणा गर्दै छन् । वास्तवमा एमाओवादीले संविधान, शान्ति र सुशासन चाहेको छैन । संविधान स्थापित भएपछि एमाओवादी रहँदा पनि रहँदैन । त्यसैले प्रधानमन्त्री भट्टराई आफूसँग चाबी नभएको अभिव्यक्ति दिन्छन् । अर्कातर्फ यो सरकार रहेसम्म जनताले राहत पाउने देखिँदैन । महँगी, भ्रष्टाचार, अराजकता, वेरोजगारी र मानवअधिकार उल्लंघनका घटना बढ्दो छ । राष्ट्रिय स्वतन्त्रतामाथि खेलवाड हँुदैछ । तर, सरकार सहमति र सहकार्य गर्न मानिरहेको छैन । यसर्थ, एमालेको विरोध प्रदर्शन ठीकै बेलामा भएको छ । यसलाई व्यवस्थित र नतिजामुखी बनाउन जरुरी छ । अहिले चारैतिरबाट वर्तमान सरकार नांगिने क्रम शुरु भएको छ । तथापि उ लजाएको छैन । अहिलेको अवस्थामा मुलुक र जनताका लागि चाँडै यो सरकार हटाएर राष्ट्रिय सरकार गठन गर्न जरुरी छ । राजनीति र संवैधानिक संकटले मुलुकलाई जरजर बनाउँदै छ । अध्यादेशमार्फत शासन चलाउन खोजिदैछ । यी सब लोकतन्त्र र प्रजातान्त्रिक पद्धतिविरोधी काम हुन् । तसर्थ, सबै दलहरू गम्भीर भएर वर्तमान अन्योल हटाउनु पर्छ । वार्ता र आन्दोलनलाई एकसाथ अगाडि बढाउने भन्दा पनि वार्ताप्रति नै बढी जोड दिन जरुरी छ । यसर्थ एमालेका नेताहरूले सुझवुझपूर्ण तरिकाले अगाडि बढ्नुपर्छ । जनसागर आफ्नो पक्षमा सधँै रहँदैन । अहिले एमाओवादीको ज्यादतिका कारण प्रतिपक्षलाई फाइदा पुगेको अवस्था छ । छिट्टै नतिजामुखी कार्य भएन भने जनता भड्किन सक्छन् । यो कुरा सबै राजनीतिक दलका शीर्ष नेताले बुझ्न जरुरी छ । जनप्रदर्शनको सन्देश मनन नगर्ने हो भने मुलुक सम्हाल्न गाह्रो पर्छ । राष्ट्रिय सरकार, संविधान, शान्ति, गणतन्त्रको स्थायित्व र सुशासन कायम गर्नका लागि पनि वर्तमान सरकार हटाउनै पर्ने बाध्यता छ । यो यथार्थलाई सबैले बुझ्नु पर्छ । र जनप्रदर्शनको सन्देश पनि यही हो ।

प्रतिक्रिया