कांग्रेसको आन्दोलन छठ पछिः कोइराला

काठमाडौं, २० असोज । कांग्रेस सभापति सुशील कोइरालाले जेठ–१४ पछि जनतासँग गुमेको विश्वास ल्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आज कांग्रेस क्षेत्र नम्वर–८ ले आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई निकास दिन राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले आफूहरुले सत्तालाई मात्रै केन्द्रमा नराखेको दाबी गरे ।
‘राष्ट्रिय सहमतिको सरकार बनेन भने मुलुक द्वन्द्वमा जान्छ,’ उनले भने, ‘त्यसको दोष सबै दलहरुले लिनु पर्छ ।’ उनले मुलुकलाई निकास दिन दलहरु एक ढिक्का भएर जानुको विकल्प नरहेको समेत बताए ।
कांग्रेसले सत्ताका लागि भन्दा पनि जेठ–१४ गते पछि गुमेको विश्वास बनाउन राष्ट्रिय सहमतीय सरकारमा जोड दिने गरेको कोइरालाको भनाई थियो ।
‘जेठ–१४ गते पछि एमाओवादीले एकलौटी रुपमा घोषणा गरेको निर्वाचनलगायतका निर्णयले दलहरुका बीच विश्वास गुमेको छ,’ उनले भने, ‘विश्वास बनाउन पनि सहमति आवश्यक छ ।’ उनले एमाओवादीलाई दलहरुका बीच विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरे ।
एमाओवादीका गलत क्रियाकपालका कारण विश्वास गुम्दै आएको बताएका उनले विगतका सहमति इमान्दारिताका साथ पालना गर्नु पर्ने उल्लेख गरे ।
सरकार विरुद्धको आन्दोलनबाट कांग्रेस पछि नहटेको स्पष्ट पारेका सभापति कोइरालाले भने, ‘चाड–पर्वलाई असर गर्ने गरेर आन्दोलन गर्दैनौ ।’ उनले दशै, तिहार र छठ पर्व सकिए पछि सरकार विरुद्धको आन्दोलन चर्काउने बताए ।
जनतासँग निहुँ नखोज्न एमाओवादीलाई सुझाव दिएका कोइरालाले जनतासँग निहुँ खोज्दा स्वयं एमाओवादी समाप्त हुने चेतावनी दिए ।
महामन्त्री प्रकाशमान सिंहले कांग्रेस पहिचान सहितको संघीयता विरोध नरहेको जनाए । उनले कांग्रेसलाई लाग्दै आएको संघीयता विरोधीको आरोप गलत रहेको बताए ।
उनले भने, ‘कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको कुरा कसैले भुल्नु हुँदैन ।
बर्तमान सरकारलाई विस्थापित गरेर सहमतीय सरकार बनाई मुलुकलाई निकास दिनु पर्ने उनको भनाई थियो । उनले राजनीतिक सहमतिका आधारमा संविधानलाई के गर्ने भन्ने विषयमा पनि छिटो निकास दिनु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया