सपनाबाट भाग्दै कविताको बाटोमा

‘म हुँ शंखेकिरा
ढिलोगरी चिप्लिरहेको
मेरो दामली फट्याङ्ग्राहरू
जीवनको एथ्लेटिक्स उफ्रिएर कहाँ कहाँ पुगिसके
मेरा दामली छेपाराहरू
जीवनको राजनीतिमा कति रङ फेरीसके
मेरा दामली छुचुन्द्राहरू
यही नर्कटघारीमा हुर्किएर के के भइसके
आफू त सधैँ भारीवाला
नर्कटको पातमा ढिलो–ढिलो………..
अड्कली–अड्कली नापिरहेछु…….’
(शंखेकिरा, बाडुली र सुदूर सम्झना)
आफ्नै होस् वा अरूको, कवितामा एक किसिमको जीवन लेखेका छन् कवि स्व.स्वप्निल स्मृतिले । जीवन शंखेकिरा लागेपछि कसले पो सपनाहरू देख्छ र ! सपना बिझाउन थाल्छन्, सपना सल्बलाउन थाल्छन् आाखाभरी सिलिङ…मिलिङ ! जब आफू उभिएको/पल्टिएको सतहको अर्थबोध हुन्छ–त्यो नरम हुनुको/सुनौलो हुनुको अर्थबोध हुन्छ; जब मानवविष्टा (देश/सहर/समाज/समय) माथि डङ्ग्रङ्ग पल्टिएर निदाएको थाहा हुन्छ; जब मानवविष्टामा निदाएर सपना देखिरहेको थाहा हुन्छ; त्यतिबेला सपना सल्बलाएको थाहा हुन्छ ठीक गुहु किराजस्तै । सिलिङ…मिलिङ !
आफ्नै सपनाको सल्बलाइले वाकवाकी लाग्छ । (बाथरुम गएर वान्ता गर्न खोज्छु/ वान्ता हुँदैन । पेट ढुस्स परेको छ आज बिहानैदेखि । मनमा खै के जमेर हो मनै अमिलो भएको छ ! मानसिक वान्ता कसरी होला ?)
हो ! म सपनालाई वान्ता गरिदिन चाहन्छु ।
सपनाको भारी बोकेर घस्रन कति सारो । स्वप्नील स्मृतिको (नर्कट पातमा घस्रदँै गरेको) त्यो शंखेकिरालाई सोध्नु छ, ‘तिमीले ढाडमा जे बोकेर घस्रिरहेका छौ, त्यो तिम्रो सपना हो ? तिमी त्यो भारी ढाडमा बोकेर घस्रिरहेका छौ, म आफ्नो टाउकामा बोकेर घस्रिरहेको छु, मेरा सपना ।’
न शंखेकिराले बिसाएको छ आजसम्म आफ्नो भारी, न बिसाउन सकेँ मैले सपनाको बोझ । सायद यही बोझले थिचिएर कवि/गीतकार हरिभक्त कटुवाल लेख्छन्,
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि अर्को सलाम
सजिलैसित जिउने एउटा निहुँ † पाइएको छ
रक्सी बनाइदिने स्रष्टालाई अर्को सलाम ।
(रक्सीका नाममा दुइ टुक्रा, यो जिन्दगी खै के जिन्दगी)
कवि ! आज तिमी हामीमाझ छैनौ । केही हरिभक्त कटुवालहरूलाई सोध्न चाहन्छु यो पंक्तिको तौल कति ? कति छ कवि श्रवण मुकारुङ ? कति छ कवि स्वप्निल स्मृति ? कति छ….(लामो सूची) आदि आदि ।
त्यसैले एउटा कुरामा म तिमीसँग चेस गर्न चाहन्छु कवि हरिभक्तज्यू, ‘सपना खोसेर लैजाने प्रभातलाई सलाम ।’ खोसिदेओस् कसैले यी सपनाहरू । कुनै सिपालु हत्यारा आएर हत्या गरिदेओस् सपनाको । त्यस्तो ‘प्रोफेसनल’ हत्यारा कोही  छ सहरमा ? म सपनाको हत्या गर्न चाहन्छु ।
हो म सपनाबिनै बाँच्न चाहन्छु । सपना बाँचिरहे भने तिनीहरूले मेरो हत्या गरिदिनेछन् । बरु बेरसिलै ठीक; बरु खोस्टै ठीक, म बाँच्न चाहन्छु । म बाँच्न चाहन्छु; सपनाविहीन किनकी म सपनाले थिचिएर हिँड्नै नसक्ने भएको छु । अहा ! हरिभक्त कटुवालको जिन्दगीको परिभाषा, ‘गति जिन्दगी, बग्नुपर्छ यहाँ खोला जस्तै, संघर्ष जिन्दगी, बढ्नुपर्छ खोला जस्तै’ सँग म सहमत छैन । भन्नु छ उनलाई, ‘तिम्रो जिन्दगी तिमी आफँैले परिभाषित गरेजस्तो छैन । सायद तिमी आफैँ असहमत छौ कि, आफ्नै परिभाषासँग, म कहाँ सहमत हुनसक्छु ?’ बरु उनको जिन्दगी उनैले भनेजस्तो ‘यो हरिभक्त कटुवाल हो जो मृत्युको डरले सधैँ भागिहिँड्छ’ पो भयो त । अन्तत: भागेर कहाँ पुग्यौ ? मलाई भाग्नु छैन, बस् बाँच्नु छ जिन्दगी सपनाहरू त्यागेर, श्रवण मुकारुङ भँैm धेरै दौडनु पनि छैन ।
‘वास्तवमा
मलाई एकदम हतार छ
सोध्नु छैन मैले उसलाई
तिमी को हौ ?’
(सहरमा यौटा मानिस, बिसे नगर्चीको बयान)
के तिमीलाई अझै हतार छ ? तिमी हतारिएर कहाँ पुग्यौ यो सहरमा ?
अब, हतारमा यात्रा गर्नै नहुने कुरा त कवि श्यामलले पनि गरिसके । जीवनमा हतार के गर्नु ? पुग्नु कहाँ छ ? किन  गर्नु हतार ? किन बोक्नु सपनाको भारी ?
म यही सपनाको भारी बोकेर हतारहतार हिँड्दाहिँड्दै हिँड्नै नसक्ने गरी थाकिसकेँ । बिसाउन चाहन्छु म यो सपनाको भारीलाई अनि बाँच्न चाहन्छु सपनाविहीन भएर ।
कवि मनु मन्जिललाई, सोध्नु छ, मेरा यो प्रश्नको लागि कुन गीत गाउँछौ ? कुन चरा देखाउँछौ ? कुन कथा सुनाउँछौ, कुन कविता सुनाउँछौ ? ‘म किन बाँचिरहेछु’को जवाफमा ।
उनका कत्ति कविता छन्, लाग्छन्, ती कविताहरू ‘म किन बाँचिरहेछु’को जवाफमा लेखिएका हुन् ।
तर, म यी रहरहरू पनि बिसर्जन गर्न चाहन्छु ।
के ठेगान छ र जिन्दगीको ! रामायणमात्र होइन, ‘बिसे नगर्चीको बयान’ पनि कतार, हङकङ, मलेसिया तिर पो लेखिने हुन कि ! वा म त्यतैबाट फेसबुकमा कविता सार्वजनिक गर्दै पो हुने छु कि ?
उफ ! सपना । यस्तै घिनलाग्दो हुन्छ सपना आजकल ।
‘निदाउनु खतरा छ मलाई
कि सपनामा सेक्सटोय जत्रो रोबोट आउँछ…’
कवि स्वप्नीलले भनेझैँ निदाउनु खतरा छ आजभोलि मलाई पनि । त्यसैले आधारातमा पनि म कवितासँगै गरिरहेछु संवाद । म सपनाबाटै भागिरहेको छु ।
‘अहिले त भाग्नेबाटो छ र पो भागिरहेको छु
यौटा हिंस्रक राक्षसको अघिअघि…’
(भाग्दाभाग्दै, ल्याम्पोष्टबाट खसेको जून)
आफ्नै सपनाबाट भाग्दाभाग्दै म अहिले कविताको चाङमा छु । मेरो भाग्ने बाटो भन्नु कविताहरू भएका छन् । जीवनका सपनाबाट त्रसित अनुहार/समाज र समयको विसंगतिबाट त्रस्त भएर म कविताको बाटो भागिरहेछु । तर, कवि मुनले भनेझैँ मैले जीवन र जगत्को सौन्दर्यचाहिँ भेट्टाइसकेको छैन । अहिले यी कविताको चाङमा म जीवन र जगत्का तीनै सौन्दर्य खोजिरहेको छु ।
स्वप्नील स्मृतिलाई, श्रवण मुकारुङलाई, मनु मन्जिललाई, श्यामललाई, अरू थुप्रै कविलाई भन्नु छ–
तिमीहरू कविता लेखिराख्नु
म त्यहाँ जीवन पढिराख्छु
सपनाहरूबाट भागेर म
कविताहरूमाझ लुकिराख्छु
अब, म कविताकै पहाड चढ्छु ।

प्रतिक्रिया