जनप्रदर्शनसँगै एमाले आन्दोलनमा

काठमाडौं, २०  असोज । राष्ट्रिय सहमतिका लागि दबाब भन्दै एमालेले राजधानीलगायत प्रमुख सहरहरूमा शुक्रबार जनप्रदर्शन गरेको छ । उपाध्यक्ष अशोक राईसहित असन्तुष्ट नेताहरूले पार्टी त्यागेको भोलिपल्ट शुक्रबार एमालेले देशव्यायी रूपमा जनप्रदर्शन गरेर आफू कमजोर नभएको सन्देश दिएको हो ।
राष्ट्रिय सहमतिका लागि दबाब, एमाओवादीको सर्वसत्तावाद र सरकारको बहिर्गमनका लागि आन्दोलनको सुरुआतका रूपमा जनप्रदर्शन गरिएको पार्टी नेताहरूले बताएका छन् । एमालेले पार्टीमा आबद्ध १८ वटा जनसंगठनको मोर्चाको आयोजनामा शुक्रबार राजधानीलगायत प्रमुख सहरहरूमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा अध्यक्ष झलनाथ खनालसहितका नेताहरूले सहमतिका लागि सरकार बाधक भएको र सहमतिबाट सरकारको बहिर्गमन नभए आन्दोलनबाटै ºयाँकिदिने चेतावनी दिए ।
राजधानीको रत्नपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले संविधानसभाको गत चुनावको अंकगणितले एमालेलाई तेस्रो देखाए पनि पहिलो शक्ति भएको दाबी गरे । एमाले कमजोर भएको बताउनेलाई रत्नपार्कमा आएर आँखा तन्काएर हेर्न खनालले आग्रह गरे । उनले सहमति जुटाई नयाँ चुनावतर्फ मुलुकलाई निर्देश गर्न एमाले सडकमा आएको र एमाओवादीको सर्वसत्तावादलाई पराजित गरेर मात्र फर्कने स्पष्ट पारे ।
‘गत चुनावमा अंक गनिनाले एमालेलाई तेस्रो देखाएको मात्रै हो जनताको मनमा एमाले पहिलो पार्टी हो,’ उनले दाबीका साथ भने, ‘एमालेलाई कसैले कमजोर भएको ठानेको छ भने रत्नपार्कमा आएर आँखा तन्काएर हेर्न म आग्रह गर्छु ।’
सहमतिबाट सत्ता नछाडे एमालेले एमाओवादीको सर्वसत्तावादलाई सडकबाटै पराजित गरेर फर्कने चेतावनी उनले दिए । उनले दलहरूबीच सहमति कायम गरी नयाँ चुनावमा मुलुकलाई निर्देशित गर्न चाहेको पनि बताए । मुलुकलाई एमाओवादीको १० वर्षे हिंसाले गरिब बनाएको उल्लेख गर्दै उनले एमाओवादीकै ढुलमुलले संविधान बन्न नसकेकाले अब एमाले पहिलो शक्ति भएर सम्हाल्ने ठोकुवा गरे ।
वरिष्ठ नेता केपी शर्मा ओलीले चाँडै अर्काे सरकार गठन गरेर बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारलाई विस्थापन गर्नेे बताए । सत्तारूढ एमाओवादीले वर्गका कुरा गरेर जनता अलमल्याउन नसकेपछि जातीय विद्वेष र विखण्डनको कुरा ल्याएको आरोप पनि नेता ओलीले लगाए । ‘एमाओवादी नेताहरूका घर र टावर हेरेपछि जनता उनीहरूले गरेको वर्गका कुराबाट अलमलिन छाडे,’ ओलीले भने ।
उनले विदेशीको पालन–पोषणमा राष्ट्रिय अभिभाराविरुद्ध एमाओवादी लागिपरेको दाबी पनि गरे । ‘राष्ट्रिय अभिभारा एकातिर छ, अर्काेतिर विदेशी पालन–पोषणमा मुलुकमा जातीय विद्वेष फैलाउने काम गरिरहेको छ,’ उनले भने, ‘एकातिर राष्ट्रियताका नाममा जनता अल्मल्याउन ट्रेन्च खन्ने अर्काेतिर त्वमेव माता च पिता त्वमेव भनेर राष्ट्रिय हित समर्पण गर्ने कुरा अबको दुनियाँले पत्याउँदैन ।’
उपाध्यक्ष वामदेव गौतमले अहिलेको सरकारलाई आर्यघाट नपुर्‍याएसम्म र एमाओवादीले फैलाएको जातीय विद्वेषलाई पराजित गरेर सद्भाव नगरेसम्म एमाले चुप नलाग्ने बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रपति हुनकै लागि मुलुकमा जातीय विद्वेष फैलाएको र देशलाई विखण्डन गर्ने विचार अघि सारेको आरोप उपाध्यक्ष गौतमले लगाए ।
‘देशलाई जातीय विद्वेष र विखण्डन गर्न नदिन र सद्भावका लागि एमाले लड्न चाहन्छ,’ गौतमले भने, ‘सर्वसत्तावादी विखण्डनकारी विचारविरुद्ध र एमालेले नेतृत्व गरेको देशको समुन्नति र सद्भावको आन्दोलनमा साथ दिनुस् देशलाई जोगाउनुस् ।’
कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारी, सचिव शंकर पोखरेल, सम्पर्क विशेष समन्वय कमिटीका प्रमुख गंगालाल तुलाधर, उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठ, दलित मुक्ति समाजका अध्यक्ष जितु गौतम दर्जी, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महोम्मद आलम, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव शेरबहादर तामाङलगायतले सम्बोधन गरेका थिए ।
रत्नपार्कबाट सुरु र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली, सुनधारा, पाको न्युरोड, वसन्तपुर बांगेमुडा, नरदेवी असन हुँदै रत्नपार्कमै आएर टुंगिएको थियो । शुक्रबारको प्रदर्शनमा एमालेको यसअघिका प्रदर्शनमा भन्दा बढी सहभागिता थियो ।

‘बाँसबाट पट्यांस मात्र झरेको हो’

एमाले अध्यक्ष झलनाथ खनालले पार्टी उपाध्यक्ष अशोक राईसहित केन्द्रीय कमिटीका आधा दर्जन नेताको बहिर्गमनले एमालेको शक्तिमा कुनै असर नपर्ने दाबी गरे । राईसहितका असन्तुष्ट नेताको बहिर्गमन बाँसबाट पट्यांस (बोक्रा) मात्र झरेजस्तो भएको टिप्पणी अध्यक्ष खनालले गरे । एमाले सबै जाति र भूगोलका जनताको सामाजिक परिवर्तनको सिद्धान्त बोक्ने पार्टी भएकाले एमालेको शक्तिमा कुनै असर नपर्ने खनालको दाबी थियो ।
‘बाँसको टुसा बढ्दै गएपछि बाँसले पट्यांस ºयाँक्न थाल्छ, पट्यांस फ्याक्दा पड्केको आवाज सुनेर मानिस बाँस फुटेको अनुमान गर्छन्,’ उनले भने, ‘तर, बाँस फुटेको हुँदैन बाँस पट्यांस ºयाँक्दै अग्लिंदै जान्छ ।’
वरिष्ठ नेता केपी शर्मा ओलीले पार्टी त्याग गरेका उपाध्यक्ष अशोक राईको नाम लिँदै राई विदेशीको भकुन्डो भएर उफ्रिएको आरोप लगाए । ‘हिजो मात्रै केही साथी विदेशीका भकुन्डो भएर उफ्रिए, भकुन्डो आफैँ उफ्रिँदैन, अर्काले बजार्नुपर्छ’ ओलीले भने, ‘मैले सुनेँ अशोक राईको पहिचान भएन रे †, हिजो त्यो मञ्चमा बसेका अशोक राईलाई तीनपटक मन्त्रीका रूपमा, उच्च आसनको नेताका रूपमा कुन पार्टीले चिनायो ? उहाँ आफैँ होइन कसैले उफरिदिएको छ ।’
उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले एमालेको छद्म आवरणमा बसेर एमालेलाई सिध्याउन लागेकाहरूको बहिर्गमनले एमालेलाई फाइदा पुगेको दाबी गरे । संयोजक श्रेष्ठले पार्टी परित्याग घोषणासभाको मञ्चमा कहिल्यै एमाले नभएका व्यक्तिहरूको पनि उपस्थिति पाइएको उल्लेख गरे ।
‘हिजो दुई/चारवटा मट्याङ्ग्रा झरेका छन्, समुद्रबाट दुई/चार ग्लास पानी हराएर समुद्र रित्तिँदैन,’ श्रेष्ठले भने, ‘जिन्दगीमा कहिल्यै एमाले नभएका नक्कली नेवार बनेर डलर कमाउने मल्लके सुन्दरहरू पनि मञ्चमा थिए, एमालेलाई केही नोक्सान भएको छैन, एमालेको पिलो आफैँ फुटेर गयो ।’
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव शेरबहादुर तामाङले एमाले छाड्ने भनिएका ५ सय १७ जनाको नाम लिस्ट देखाउन चुनौती दिएका थिए । उनले एमालेमा संगठित आदिवासी जनजाति पार्टीमै रहेको दाबी गर्दै एमालेको छानोको एउटा ढुंगा चुहिएर जग भत्किन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया